Naya Media
बिहिबार, माघ १, २०८२
| | January 15, 2026
बिहिबार, माघ १, २०८२

बोक्सी आरोप प्रकरण : बोक्सी आरोपमा निर्घात कुटाइ खाएकी काली, काखे बालबालिका च्यापेर ज्यान जोगाउन भागेर सदरमुकाम

User Photo
बुधबार, साउन २३, २०७५

गोरखा। सुरक्षा दिन गएको प्रहरीसमेत कुटाइ खाएर फर्किएपछि बोक्सी आरोप खेपिरहेका कासीगाउँका काली गुरुङको परिवार भागेर सदरमुकाम आइपुगेको छ। बोक्सी आरोपमा निर्घात कुटाइ खाएकी काली गुरुङ, उनकी छोरी मीनकुमारी गुरुङ र सूचना गुरुङ काखे बालबालिका च्यापेर सोमबार अबेर गोरखा सदरमुकाम आइपुगेका हुन्।

बर्खाका बेला भेलबाढी तर्न नसकी–नसकी दुई दिनको पैदल बाटो हिँडेर सदरमुकाम आइपुगेको मीनकुमारीले बताइन्। उनीहरूमाथि शनिबार गाउँलेले निर्घात कुटपिट गरेका थिए। ‘गाउँले सबै धुरिएर शनिबार दिनभरि कुटे। हामीलाई जोगाउन गएको प्रहरीले पनि कुटाइ खाए। छुट्याउन खोज्दा वडा सदस्यले पनि कुटाइ खाए’, घाइते गुरुङले भनिन्, ‘घरमा बसे घरमै आगो लाइदिने भने। गाउँलेले काट्नुपर्छ,, मार्नुपर्छ, झुन्ड्याउनुपर्छ, मारेर गाड्नुपर्छ, घरमा आगो लाइदिनुपर्छ भने। बस्न नसक्ने भएपछि आइतबार बिहान झिसमिसेमै निस्केर भागेका हौं।’

कीरा फट्याङ्ग्रा पनि मार्न नसक्ने आफूहरूलाई बोक्सी लागेर मान्छे मारेको आरोप लगाएको उनीहरूको गुनासो छ। ‘हामी बोक्सी होइनौं भनेर पुरानो चलनअनुसार कालो कुखुराको रगतको टीका लगाएर छोराछोरी काखमा लिएर धर्म भाक्यौं, तैपनि काट्नेमार्ने, जलाइदिने भनेपछि भागेर आयौं’, उनले भनिन्।

कुटाइबाट आमा र बहिनीको तुलनामा मीनकुमारी बढी घाइते छिन्। ‘चार जना महिला आएर कपाल समातेर रिँगाएर ढुंगा ओछ्याएको आँगनमा पछारे’, उनले भनिन्, ‘त्यसपछि कतिले कुटे भनिसाध्य छैन।’

किन गाउँलेलाई खाएको भनेर कुटेको उनी बताउँछिन्। ‘कसैको टाउको दुख्यो भने पनि हामीलाई नै दोष, कसैको खुट्टा दुख्यो भने पनि हामीलाई नै दोष, रुघा, पखाला लागे पनि हामीलाई दोष आउँछ’, उनले भनिन्, ‘हामी त गाउँको रोग जस्तो भयौं। गाउँका केटाकेटीलाई पनि हाम्रा छोराछोरीसँग खेल्न दिँदैनन्।’ आफूहरू भागेर गोरखा बजार आए पनि घर जलाइदिने भनेर डरत्रास देखाएको उनले बताइन्।

हिउँदको तुलनामा बर्खामा बढी आरोप आउने गरेको छोरी सूचनाको गुनासो छ। ‘हिउँदमा खासै आरोप खेप्नुपर्दैन’, महिला स्वास्थ्य स्वयंसेविकासमेत रहेकी उनी भन्छिन्, ‘जब बर्खा लाग्छ, गाउँमा धेरै रोग फैलिन्छ, मान्छे धेरै बिरामी हुन्छन्, अनि हामीले बोक्सीको दोष खानुपर्छ।’

आरोपितहरूलाई शनिबार गाउँले धुरिएर कुटेका छन्। विवाद मिलाउन गएका प्रहरीसमेत गाउँलेको निसानामा परेका थिए।

बैठकमा नआए १० हजार रुपैयाँ जरिवाना तिर्नुपर्छ भन्ने चेतावनी दिएर गाउँमा कचहरी गरिएको र त्यहीँ कुटपिट गरिएको उनको भनाइ छ। ‘बैठकमा आएनौ भने १० हजार रुपैयाँ तिर्नुपर्छ भनेर बोलाए’, सूचनाले भनिन्, ‘अनि हामी जानेबित्तिकै बोक्सी, डंकिनीहरू भनेर मुखमा थुक्न आए। अनि मार्दिनुपर्छ भनेर गाउँलेले नै ताली बजाए। पहिले मीनमाया घले र ठूली गुरुङले हात हाले अनि सबै गुटुटुटु आएर कुटपिट गरे।’ मामा, भेना, स्कुलका अध्यक्ष र एउटा दाइले छुट्टाएर धन्नले बचाएको उनले बताइन्।

आफन्तको फोन उठाउनसमेत नदिइएको उनको गुनासो छ। बोक्सी लागेर मारेको र मृतकको शरीरभित्र सर्प, भ्यागुता र छेपारो रहेको भन्दै भीम गुरुङको लास चिरेपछि धार्चे–६ कासीगाउँमा तनाव भएको हो। तनाव साम्य पार्न पुगेको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको २९ जनाको टोली समस्या समाधान गर्न नसकी आइतबार फर्किएको छ। ‘आरुघाटमा बसेर निगरानी गर्ने भनेर फर्काइएको हो’, प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले भने, ‘वडाध्यक्षलाई गाउँको अवस्था साम्य पार्न आग्रह गरेका छौं। कानुनी कुरा हामी गर्नेछौं।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.