काठमाडौं महानगरपालिकाको टेकुस्थित मिसिल शाखामा कार्यरत कार्यालय सहयोगी (पियन)विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सेवाग्राहीको फाइल खोज्न आनाकानी गरी घुस माग्ने पियन उद्दवप्रसाद गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
सेवाग्राहीको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले पियन गिरीलाई ५ हजार रुपैयाँ घुसरकम सहित कार्यालयबाटै नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानबाट उनले घुस लिएको देखिएपछि विशेष अदालतमा ५ हजार रुपैयाँ बिगो र कैद सजाय दाबी गर्दै मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव मदन कोइरालाले जानकारी दिए ।
