Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

मुलुककै दोस्रो ठूलो भन्सार घाटामा

User Photo
मङ्लबार, साउन १५, २०७५

मुलुककै दोस्रो ठूलो भन्सार नाका रुपन्देहीको बेलहियाबाट आर्थिक वर्ष २०७४/७५ मा मात्रै २ खर्ब २० अर्ब ५३ करोड व्यापार घाटा भएको छ ।यो घाटा निर्यातको तुलनामा ९८.४३ प्रतिशतले बढी हो । निर्यातको तुलनामा आयात अत्यधिक हुँदा भारत तथा तेस्रो मुलुकसँग हुने आयात–निर्यातको खाडल आकाशिँदै गएको छ ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलका अनुसार गत आर्थिक वर्षमा २ खर्ब २४ अर्ब ३ करोडको सामान आयात हुँदा निर्यात भने ३ अर्ब ५० करोडको मात्रै भएको छ । तथ्यांकअनुसार आयातबाट भन्सारले ७० अर्ब ८ करोड २४ लाख राजश्व संकलन गर्दा निर्यातबाट भने जम्मा ४६ लाख ९५ हजार मात्रै राजश्व संकलन गरेको छ ।

आयात गर्दा राज्यकोषमा राजश्व वृद्धि भए पनि व्यापार घाटा भने असन्तुलित बन्दै गएको छ । अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा पनि एक खर्ब ९८ अर्ब ८० करोड रूपैयाँ बराबरको ब्यापार घाटा भएको थियो । भैरहवा भन्सार नाका हुँदै २ खर्ब ३ अर्ब ४० करोड रूपैयाँको सामान आयात हुँदा जम्मा ४ अर्ब ६० करोड रूपैयाँ बराबरको मात्र सामान निर्यात भएको थियो । भन्सारको तथ्यांकअनुसार पछिल्ला वर्षहरुमा निर्यातको क्रम घट्दै गएको छ भने आयात ह्वात्तै बढेको छ ।

खासगरी बिलासिताका सामानहरू, मोटरसाइकल, कार, जीप भ्यान लगायतका सामानहरुको आयात बढ्दो छ । यस्तै औद्योगिक कच्चा पदार्थ, सिमेन्ट क्लिङ्कर, एमएस ब्लेड, खाद्यान्न, फलफूल, तरकारीलगायतका सामग्रीको आयात पनि बढ्दै गएको छ । नेपालबाट भारततर्फ निर्यात हुने वस्तुहरू न्यून हुनु र निर्यातजन्य वस्तु हुँदा पनि पैठारी गर्न नसक्नु जस्ता कारणले ब्यापार घाटा बढ्दै गएको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने बताउँछन् ।

भन्सार कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ५ अर्ब २ करोड ७९ लाख बराबरको जिप, कार र भ्यान आयात भएको छ । यस्तै ७ अर्ब ८६ करोड ३६ लाखको मोटरसाइकल, २३ अर्ब ३६ करोड ४० लाखको एमएस ब्लेड, १३ अर्ब ६७ करोड ९४ लाखको डिजेल तथा २ अर्ब ८४ करोड ४५ लाख बराबरको पेट्रोल आयात भएको छ ।

यस्तै ५ अर्ब ६८ करोड ८४ लाखको सिमेन्ट क्लिङ्कर, ३ अर्ब ८५ करोड ४४ लाखको टायल, ३ अर्ब ५६ करोड ९२ लाख ट्रक÷मिनी ट्रक, एक अर्ब ६२ करोड ८८ लाखको सिंगल क्यान पिकअप गाडी र एक अर्ब १८ करोड ४० लाख बराबरको डबल क्यान पिकअप गाडी आयात भएको छ ।

यस्तै दाल, धान–चामल, तरकारी, स्पिरिट (रक्सीको कच्चा पदार्थ), इलेक्ट्रोनिक सामान, बिस्कुट, भुजिया, मसला, सुपारी, दैनिक उपभोग्य सामग्री, मेहन्दी, अबिर, केसरीलगायतका सामानको आयात पनि अत्यधिक बढेको छ । भन्सारको तथ्यांकअनुसार बेलहिया नाकाबाट ४ सय बढी प्रकारका सामानहरु आयात भएको छ भने निर्यात भने १०/१५ प्रकारका वस्तु मात्रै भएको छ ।

नेपालबाट बेलहिया नाका हुँदै गत आर्थिक वर्षमा ८१ करोड ५६ लाखको सेन्थेटिक यार्ना, ६६ करोड ३८ लाखको बोरा, ५५ करोड ४६ लाखको रद्दी कागज, ३६ करोड १८ लाखको रेसाको कपडा, १८ करोड ५९ लाखको अदुवा तथा सुठो निर्यात भएको छ ।

यस्तै १४ करोड ७० लाखको जडीबुटी, १० करोड ९० लाखको पिना, ९ करोड ९८ लाखको काँच, डण्डी र ट्युव, ९ करोड ८३ लाखको चोकर, ७ करोड ७६ लाखको खोटो/रेजिन निर्यात भएको सूचना अधिकृत पौडेलले बताए । यसबाहेक ३८ करोड ७९ लाख बराबरको अन्य वस्तु निर्यात भएको छ ।

बढ्दो ब्यापार घाटा कम गर्न भैरहवामा स्थापना भएको विशेष आर्थिक क्षेत्र (सेज) शीघ्र सञ्चालनमा ल्याउनुपर्ने, बुटवलको प्रादेशिक स्तरको मोतिपुर औद्योगिक क्षेत्र स्थापनालाई छिटो कार्यान्वयनमा ल्याउनुपर्ने, स्वदेशी उत्पादनको प्रयोगलाई कानुन बनाएरै अनिवार्य गर्नुपर्ने र निर्यात प्रवद्र्धनलाई संघीय र प्रदेश सरकारले प्राथमिकतामा राख्नुपर्ने उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारी बताउँछन् ।

‘चिनी लगायत एकाध सामान सस्तो पाइने लोभमा नेपालीहरु सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने परिपाटीलाई रोक्न कानुन र नीति नै बनाउनुपर्छ,’ अध्यक्ष भण्डारी भन्छन्, ‘करिब ६० थरि सामान भारतमा भन्दा नेपालमै सस्तो पाइन्छ तर नेपाली उपभोक्ता यसबारे अझै जानकार छैनन्, यसबारे सरकारले विशेष जनचेतना अभियान चलाउनुपर्छ ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.