Kanoon Post
शनिबार, बैशाख ८, २०८१/ April 20, 2024,
शनिबार, बैशाख ८, २०८१

बेलायतमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएपछी नेपाली आक्रान्त

संक्रमितको संख्या २०९, दुइ जनाकाे मृत्यु

काठमाण्डाै ।

विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ । बेलायतमा यस भाइरसबाट दुई जनाको मृत्यु भइसकेको छ भने शनिबारसम्म संक्रमितको संख्या २०९ पुगेको छ ।

बीबीसीका अनुसार, इंग्ल्याण्डमा १८४ जना, स्कटल्याण्डमा १६, उत्तरी आयरल्याण्डमा ७ र वेल्समा २ जना संक्रमित भएका हुन् । बेलायतमा हालसम्म २१ हजार ४ सय ६० जनाले कोरोना भाइरसको परीक्षण गराएका छन् । बेलायत सरकारले सम्भावित महामारी न्यूनीकरणका लागि तयारी तीव्र पारिएको जनाएको छ ।

सरकारले केही दिनअघि एउटा प्रमुख जनस्वास्थ्य अभियान शुरु गरेको छ जसमा सर्वसाधारणलाई कम्तीमा २० सेकेन्ड निरन्तर मिचेर हात धुन अपील गरिएको छ । पब्लिक हेल्थ इंग्ल्याण्डले साबुन र पानी नभए कम्तीमा ६० प्रतिशत अल्कोहल रहेको हयाण्ड सेनिटाइजर प्रयोग गर्न सुझाएको छ । सार्वजनिक यातायात चढेपछि हात धुन विशेष महत्वपूर्ण हुने भएकाले यसमा चनाखो रहन पब्लिक हेल्थले अपील गरेको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना भाइरसको सम्भाव्य जोखिमका लागि बेलायतले तयारी गरिरहेको बताएका छन् ।

प्रधानमन्त्रीले यही महामारीलाई लक्षित गर्दै आपतकालीन कानून सार्वजनिक गरेका छन् जसअनुसार कामदारहरुलाई बिरामी भएको चौथो दिनपछि मात्र तलव दिनुपर्ने कानूनी प्रावधान रहेकामा अब पहिलो दिनदेखि नै तलब दिनु पर्नेछ । कानून अनुसार, विरामी भएका कामदारलाई तिनका रोजगारदाताहरुले हप्तामा ४० पाउन्ड थप दिनु पर्नेछ ।

महामारीको डरले बेलायतीहरु सन्त्रासमा छन् । विशेषगरी बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा कार्यरत थुप्रै नेपालीहरु अझ बढी त्रसित छन् ।

एनएचएसले गत सेप्टेम्बर २०१९ मा प्रकाशित गरेको तथ्यांकअनुसार मार्चसम्म इंग्ल्यान्डमा एनएचएस कार्यरत नेपालीको संख्या १ हजार ७ सय ६० छ । यसमा ब्रिटिस पासपोर्ट लिई काम गर्नेको संख्या भने उल्लेख गरिएको छैन । एनएचएसमा काम गर्ने नेपाली मूलका बेलायतीको संख्या अझ बढी रहेको अनुमान छ ।

कोरोना भाइरस नियन्त्रणको लागि एनयचएसले दैनिकजसो चिकित्सकहरुबीच छलफल तथा आवश्यक निर्देशन दिनुका साथै कोरोनाको असर देखियो भने के कस्ता उपाय अपनाउने भन्ने बारेमा उच्च सतर्कता अपनाउने गरेको बेलायतको स्टक म्यान्डेभिल हस्पिटल आएल्सबारीमा कार्यरत डा. सारा रावलले बताइन् ।

सेन्ट्रल मिडलसेक्स हस्पिटलमा कार्यरत नवीन पोखरेल पत्रकार पनि हुन् । उनी अस्पतालमा काम गर्ने कामदारहरु भाइरसबाट अझ चिन्तित रहेको बताउँछन् । ‘यहाँका नेपाली कुनै पनि बेला महामारी सर्ने चिन्ताले आक्रान्त छन्’, पोखरेलले भने, ‘यसैका कारण बेलायतमा तय गरिएका धेरै नेपाली कार्यक्रम रद्द गरिएका छन् ।’

लन्डनस्थित नेपाली दूतावासले मार्च अन्तिममा गर्न लागेको विकास सम्मेलन कोरोना भाइरसका कारण रद्द गर्नुपरेको जनाएको छ । होलीलगायत विभिन्न संघसंस्थाका सभा पनि रद्द गरिएका छन् ।

ब्रिटेनमा मास्क, हयाण्ड स्यानीटाइजर देखि ट्वाइलेट पेपर समेत अभाव शुरु भएको छ । आपतकालीन अवस्था आइपर्ने त्रासले मानिसहरुले ओभर स्टक गरिदिँदा ती सामान अभाव देखिएको हो । गत डिसेम्बरमा चीनको हुबेइ प्रान्तबाट फैलिएको कोरोना भाइरसबाट विश्वभर करिब एकलाख जना संक्रमित भएका छन् भने ३ हजार ४ सय बढीको ज्यान गइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading