Kanoon Post
शुक्रबार, बैशाख १४, २०८१/ April 26, 2024,
शुक्रबार, बैशाख १४, २०८१

०७५ साल जस्तैः सधैका लागि विदा भएका केही चर्चित व्यक्तित्वहरू

काठमाण्डाै ।

वर्ष २०७५ मा केही प्रतिष्ठित व्यक्तिहरूको मृत्यु भयो । जसमा बहालवाला मन्त्रीदेखि पूर्वमन्त्री, वरिष्ठ सर्जन, पञ्चायतका सूत्रधारसमेत रहेका छन् ।

फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा बहालवाला मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान गयो । त्यसैगरी वृद्धभत्ताका सूत्राधार मानिने नेकपाका नेता तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका भरतमोहन अधिकारीको फागुन १८ गते निधन भयो । २०५१ सालको कम्युनिस्ट सरकारका अर्थमन्त्री रहेका अधिकारी आफ्नो गाउँ आफै बनाउँ लगायत लोकप्रिय कार्यक्रमका योजनाकार थिए ।

यसअघि पुस ३ गते पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन भयो । लामो समयदेखि कलेजोसम्बन्धी रोगका कारण कमजोर बनेका गिरीको ९३ वर्षको उमेरमा निधन भएको हो ।

०१७ सालमा पञ्चायती व्यवस्था स्थापना गर्नुपूर्व नेपाली काँग्रेसका नेता रहेका गिरी त्यसपछि हार्डलाइनर पञ्चका रूपमा चिनिन्थे । ०५९ सालमा पूर्वराजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि गिरी मन्त्रिपरिषद्को उपाध्यक्ष बनेका थिए । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको पनि असार ४ गते निधन भयो । पूर्वस्वास्थ्य मन्त्री समेत रहेका देवकोटाले नेपालमा जटिल खालका अप्रेसन गरेका थिए ।

नेकपामा प्रदेश सांसद उत्तरकुमार वलीको फागुन १० गते निधन भयो । माघ २४ गते कार दुर्घटनामा घाइते भएका सांसद वलीको फागुन १० गते निधन भएको थियो । भक्तपुर १ (क) बाट निर्वाचित प्रदेश नम्बर ३ का नेकपा सांसद हरिशरण लामिछानेको ५१ वर्षको उमेरमा निधन भयो । मस्तिष्कघातका कारण काठमाडौँको केएमसी अस्पतालमा उपचार क्रममा उनको निधन भएको हो । यस्तै गण्डकी प्रदेश सांसद बागलुङ २ (ख)का प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको गत मङ्सिर २७ मा निधन भयो । राष्ट्रिय जनमोर्चाका तर्फबाट उनी प्रत्यक्ष निर्वाचित सांसद थिए ।

करिब छ वर्षअघिदेखि अर्धचेत अवस्थामा रहेका काँग्रेस नेता चक्रप्रसाद बास्तोलाको असोजमा बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भयो । मानव अधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधरको कात्तिक १८ गते मस्तिष्काघातका कारण ७८ वर्षको उमेरमा निधन भयो । पहिलो संविधानसभा सदस्य एवं उद्योगपति दिवाकर गोल्छा र गुल्मीका पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीको पनि चैतमा निधन भयो । यस्तै फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशवराज झाको २०७५को भदौ ४ गते काठमाडौँको बवरमहलस्थित आफ्नै निवासमा हत्या भयो । सुतिरहेको ठाउँमा मृत फेला परेपछि अनुसन्धान गरेको प्रहरीले उनको हत्या भएको निष्कर्ष निकालेको हो ।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले झाकै घरमा सुरक्षा गार्डको काम गर्दै आएका सानुकान्छा तामाङ, मालिको काम गर्ने आइतसिंह तामाङ र जय बहादुर गुरुङलाई नियन्त्रणमा लियो । तर, अनुसन्धानको क्रममा तिनैजनाको संलग्नता पुष्टि हुन नसकेपछि उनीहरु छुटे । महानगरीय अपराध महाशाखाले २४ दिन हिरासतमा राखेर सानुकान्छा, आइतसिंह र जय बहादुरबारे अनुसन्धान गरेको थियो ।

वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको फागुन १२ गते विराटनगरमा निधन भयो । पोखरेलले १ सय ३० भन्दा बढी पुस्तक लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading