बैतडीका १० स्थानीय तहमध्ये अझै दुई स्थानीय तहमा बैंक स्थापना भएको छैन्। सुरक्षाको कारण देखाउँदै सिगास र शिवनाथ गाउँपालिकामा बैंकको शाखा स्थापना नगरिएको हो।
शिवनाथ गाउँपालिकाको केन्द्र रहेको सुल्लेखानमा प्रहरी चौकी नहुँदा बैंक राख्न नसकिएको गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताइन्। यस गाउँपालिकामा नेपाल एसबिआई बैंकको शाखा स्थापना गर्ने भनिएको थियो। बैंकले सुरक्षा व्यवस्था भएको दिनदेखि नै सेवा दिने बताउँदै आएको उपाध्यक्ष चन्दले बताइन्। गाउँपालिकाको शर्माली बजारमा प्रहरी चौकी रहेको पनि त्यहाँबाट सुल्लेखान पुग्न चार घण्टा लाग्दछ।
जिल्लाको दुर्गम सिगास गाउँपालिकामा पनि बैंकको शाखा स्थापना हुन सकेको छैन। विद्युत, सडक, इन्टरनेट नहुँदा बैंक स्थापना हुन नसकेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए। गत महिना नै कृषि विकास बैंकको शाखा स्थापनाका लागि तयारी भए पनि विभिन्न समस्याका कारण स्थापना हुन नसकेको उनको भनाइ छ। बैंक स्थापना नहुँदा यस क्षेत्रका नागरिक सदरमुकाम धाउन बाध्य भएका छन्।
