भक्तपुर : मंगलबार बिहान ९ः३० बजे भक्तपुरको चाँगुनारायण नगरपालिका–४ मा रहेको चाँगु नारायण आधाभूत विद्यालय पुग्दा बाख्राका पाठा र गाईका बाछा चरिरहेको थियो। विद्यालयको प्राङ्गणमा पानीको बोत्तल, प्लाष्टिकका ग्लास, बियरका खाली शिशीलगायतका फोहोर थियो।
पाँच कोठे पक्की भवन भएको विद्यालयको नजिकै नगरपालिकाको वडा नं. ४ को वडा कार्यालय पनि छ। तर, विद्यालय भने अस्तव्यस्त छ। विद्यालय लाग्ने समयमा समेत विद्यालय सुनसान भएको र विद्यालय परिसार अस्तव्यस्त भएकाबारे विद्यालयका शिक्षक जयराम आचार्यसँग कुराकानी गर्दा उनले सुरुमा आनाकानी गरे। विद्यार्थी कति छन् भन्ने प्रश्नमा ‘विद्यार्थीहरु छन्’ भने। यद्यपि, उनले यथार्थ धेरैबेर लुकाउन सकेनन्। ‘सबै बालबच्चाहरु बोर्डिङमा भर्ना भएका कारण विद्यार्थी छैनन्।’ उनले भने, ‘सबैको बालबाच्चाहरु बोर्डिङमा भर्ना गर्छन्। प्राइभेट विद्यालयमा गाडी सुविधा छ हाम्रोमा छैन।
’ शिक्षक आचार्यसँग प्रधानाध्यापकको सम्पर्क नम्बर माग्दा बिर्सेको बताए। उनले एक जना शिक्षिकासँग कुराकानी गर्नु भनी नम्बर दिए। शिक्षिकालाई सम्पर्क गर्दा हेलो हेलो भन्दै आवाज आएन भनी फोन काटिन्। पछि पटक–पटक सम्पर्क गर्दा सम्पर्कमा आइनन्। पुनः शिक्षक आचार्यलाई विद्यालयको विषयमा थप सोध्न फोन सम्पर्क गर्दा फोन उठाएनन्।
स्थानीयहरुका अनुसार विद्यालयका प्रधानाध्यापक नभएका कारण विद्यालयमा विद्यार्थी नै छैन। विद्यालयमा दुई वर्षदेखि प्रधानाध्यापक नभएको स्थानीय राम केसीले बताए। ‘पहिला विद्यार्थी हुँदा पनि राम्रो पढाइ थिएन,’ उनले भने, ‘विद्यालयको वातावरण पनि राम्रो थिएन।’
विद्यालयमा एक इसिडी शिक्षकसहित पाँच जना शिक्षक छन्। प्रधानाध्यापक प्रभाकर खनाल, सहायक प्रधानध्यापक दीपक थापा, शिक्षक जयराम आचार्य, शिक्षिका गीता दाहाल र इसिडी शिक्षिका जुना न्यौपाने रहेका छन्।
