Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

वीरगन्ज सफाइको जिम्मा निजी क्षेत्रलाई

User Photo
बिहिबार, अशोज १८, २०७५

प्रदेश २ को एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको सरसफाइको जिम्मा, निजी क्षेत्रलार्ई दिने तयारी गरिएको छ। महानगरपालिका कार्यालय आफैंले फोहोरमैला संकलन र व्यवस्थापन गर्न समस्या देखिएको भन्दै महानगर सरसफाइको जिम्मा निजी क्षेत्रलार्ई दिने तयारी गरिएको हो।

महानगरको फोहोरमैला संकलन र व्यवस्थापन गर्न निजी क्षेत्रलार्ई जिम्मा दिने तयारी भइरहेको छ, मेयर विजय सरावगीले भने, ‘सार्वजनिक निजी साझेदारी (पब्लिक प्राइभेट पार्टनरसीप पीपीपी) मोडेलमा फोहोरमैला व्यवस्थापन गर्न निजी क्षेत्रसँग आशयपत्र माग गरिसकिएको छ, आगामी कात्तिक अन्तिम सातासम्म फोहोरमैला व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिइनेछ।

महानगरपालिका आफैंले महानगरभित्र उत्पादित फाहोरमैला संकलन र व्यवस्थापन, चाहे जति गर्न नसकेको स्वीकार्दै मेयर सरावगीले भने, ‘कात्तिक मसान्तभित्र अब महानगर सरसफाइको जिम्मा निजी क्षेत्रलाई दिनेछौं।’ आफू मेयरमा निर्वाचित भइ आउनुभन्दा पहिले महानगरको सरसफाइमा दुई सय ३२ जना कर्मचारी कार्यरत रहेको र त्यसपछि करारमा एक सय ४९ कर्मचारी थप्दा पनि सरसफाइ प्रभावकारी बन्न नसकेपछि सरसफाइको जिम्मा निजी क्षेत्रलाई दिने तयारी गरिएको उनले बताए।

फोहोर संकलन र व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएका विराटनगर र भरतपुर महानगरमा सरसफाइ प्रभावकारी भएकाले वीरगन्जमा पनि निजी क्षेत्रलाई जिम्मा दिने निर्णयमा आफूहरू पुगेको मेयर सरावगीले बताए। वीरगन्ज महानगरपालिकामा ३२ वटा वडा छन्। महानगरपालिका कार्यालयका अनुसार ती सबै वडाबाट दैनिक एक सय ६५ मेट्रिक टन फोहोरमैला संकलन हुँदै आएको छ।

महानगरवासीले आफ्नो घरमा उत्पादित फोहोरजन्य पदार्थ, सिधै नाला र ढलमा लगेर फालिदिने गरेका कारण नाला र ढल जाम भएर फोहोर व्यवस्थापनमा समस्या भइरहेको गुनासो उनले गरे। तर पछिल्लो ६ महिनायता महानगर सरसफाइमा उल्लेख्य सुधार आएको जिकिर उनको छ। सरसफाइमा केही सुधार आएकाले नै पछिल्लो ६ महिनायता वीरगन्ज महानगरवासी लामखुट्टेको आतंकबाट मुक्त भएको मेयर सरावगीले बताए। तर महानगरमा सरसफाइको अवस्था प्रभावकारी बनाउने उद्देश्यले नै निजी क्षेत्रलाई जिम्मा दिने तयारी गरिएको जानकारी उनले गराए।

एक वर्षको कामबाट आफै सन्तुष्ट छैन – मेयर सरावगी

मेयर सरावगीले मेयरमा निर्वाचित भएको एक वर्षको अवधिमा आफूले गरेको कामबाट पुर्ण रूपमा सन्तुष्ट हुन नसकेको स्वीकारे। वीरगन्ज महानगरपालिकाका निर्वाचित भएको एक वर्षको अवसरमा मेयर सरावगीले भने, ‘यो एक वर्षको अवधिमा भएका कामबाट म आफैं पूर्णरूपमा सन्तुष्ट छैन, जति मैले चाहेको थिए त्यति काम गर्न सकेको छैन।’ विगत एक वर्षको अधिकांश समय ऐन, कानुन र नीति निर्माण तथा कर्मचारी व्यवस्थापनमै खर्च भएकाले नगरवासीलाई अनुभूति हुने खालका काम गर्न नपाएको उनले बताए।

उनले थपे, ‘जे जति साधन स्रोत र जनशक्ति उपलब्ध भयो, त्यसको उपयोग गरेर आफूले सके जति काम गरेको छु। पाँच वर्षको अवधिमा आफूले चुनाव ताका गरेका सबै प्रतिबद्धता पूरा गरिछाड्छु।’ अहिलेसम्म महानगरपालिकाले चार सय ३२ योजना बनाएको र तीमध्ये दुईतिहाई योजना कार्यान्वयन भइसकेको उनले जानकारी गराए।

दोस्रो नगरसभाबाट आन्तरिक राजस्व ७४ करोड पुर्‍याउने लक्ष्यका साथ नीति तथा कार्यक्रम पारित गरिए पनि बजेट कार्यान्वयन नहुँदै विरोध भएपछि करको दर र दायरामा संशोधन गर्नुपरेको र त्यसले गर्दा आन्तरिक राजस्व घट्न गएको उनले बताए। आन्तरिक राजस्व घट्दा चालु आर्थिक वर्षमा महानगरपालिकाले तर्जुमा गरेका योजनाको कार्यान्वयन गर्न कठिन भएको गुनासो उनले गरे। विद्यालय भर्ना अभियानमार्फत महानगरभित्र रहेका दुई हजार बालबालिकालाई विद्यालय भर्ना गरिएको र महानगरभित्रका मधेश आन्दोलनका सबै शहिद परिवारलाई रोजगारी दिइएको मेयर सरावगीले बताए।

वीरगन्जको घण्टाघर उत्तरतर्फ रहेको खाली जग्गामा एक सय २५ करोडको लागतमा पार्क बनाउने योजना अगाडि बढाइएको जानकारी गराउँदै उनले सहरी विकास कार्यक्रमअन्तर्गत वीरगन्ज महानगरभित्र ५२ किलोमिटर सडक र ढल निर्माणको काम सुरु गरिसकिएको बताए। पत्रकार सम्मेलनमा उपमेयर शान्ति कार्की र प्रमुख प्रशासकीय अधिकृत डाक्टर भीष्मकुमार भुसालका साथै कार्यपालिका सदस्यको पनि सहभागिता थियो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.