झापाको काँकडभिट्टास्थित मेची नदीमाथि पक्की पुल निर्माणको काम शुरु भएको छ । एसियाली विकास बैंकको लगानीमा झापाको काँकडभिट्टा र भारतको पानीट्याङ्की नाका जोड्ने गरी पुल निर्माण हुन लागेको हो ।
भारततर्फको काम अगाडि बढे पनि नेपालतर्फ भने मुआब्जा कारण विवाद भएपछि काम अगाडि बढ्न सकेको छैन । नेपालतर्फ पुलको पिल्लर गाड्ने र सडक फराकिलो बनाउनका लागि वस्ती सार्ने विषयको विवाद नमिल्दा काम प्रभावित बनिरहेको हो ।
पुल निर्माणस्थलका ४४ घरपरिवारको पुनस्र्थापना र मुआब्जाको काम नटुङ्गिदा यस्तो समस्या आएको हो । मुआब्जासहित उचित स्थानमा पुनस्र्थापना नभएसम्म काम हुन नदिने स्थानीयको अडान छ । १५ सय मिटर लम्बाई रहेको पुलसँगै ८ सय २५ मिटरको ६ लेनको अप्रोच रोड पनि बनाउने योजना त्यसमा समेटिएको छ ।
पुल निर्माण कार्य अवरुद्ध भएपछि मेचीनगर नगरपालिकाले प्रधानमन्त्रीलाई भेटेर मुआब्जा रकम उपलब्ध गराउन आग्रह गरेको थियो । तर मन्त्रालयको ढिलाइका कारण काम अघि बढ्न नसकेको मेचीनगर नगरपालिकाले जनाएको छ ।
