Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

१२ वर्षदेखि साङ्लोमा

User Photo
बुधबार, मंसिर १९, २०७५

राजविराज। सप्तरीको अग्निसाइर कृष्णसवरण–१, घोघींदाहाका ४७ वर्षीय उमाकान्त चौधरी १२ वर्षदेखि साङ्लोमा बाँधिएका छन्। वस्तुभाउका दाम्लो चराउन लैजाने बेला खोलिन्छ तर उमाकान्त बाँधिएका–बाँधियै छन्।

उनी मानसिक रोगबाट पीडित छन्। दुःख दिन थालेपछि २०६३ सालदेखि उनलाई बाँधेर राखिएको परिवारले जनाएको छ। उनलाई राख्न घर अगाडि नालीमाथि कटेरो बनाइएको छ। साङ्लो उनी सुत्ने खाटमा बाँधिएको छ । दुई फिट पनि लामो नभएको साङ्लोले गर्दा उनी चाहेर यताउता हिँड्न त के उभिन पनि सक्तैनन्।

जाडो होस् वा गर्मी, उनको शरीरमा कट्टुबाहेक अन्य कपडा हुँदैन। ओढ्न–ओछ्याउन एउटा सिरक छ। जाडोमा काँपेर रात बिताउँछन्, दिनमा सुत्छन्। बसेकै ठाउँमा दिसापिसाब पनि गर्छन्। साङ्लोको डाम गढेर घाउ नै भएको छ। उनी बेला–बेला हतकडी खोलिदिन श्रीमतीलाई आग्रह गर्छन्। खोलिदिऊँझैं लागे पनि अप्रिय घटना हुने डर रहेको सुशीलाले सुनाइन्। सुशीलाले बिहान–बेलुका भात लगिदिन्छन्।

उनले २०५४ सालमा उमाकान्तसँग विवाह गरेकी हुन्। त्यस बेलै उमाकान्तमा मानसिक समस्या देखिइसकेको थियो। आमाबुवाले यसबारे थाहा पाएर माइतमै बस, अर्को विवाह गरिदिउँला पनि भने। तर, उनले उमाकान्तसँगै जोबन बिताउने आँट गरिन्। ‘बुवा बनेर कमाएर ल्याउँछु’, उनले भनिन्, ‘आमा बनेर पकाएर खुवाउँछु।’ उनले मजदुरी गरेर तीन छोरी हुर्काइन्। छोरीहरू घरनजिकैको विद्यालयमा पढ्छन्।

टुरन र पल्टीदेवीका जेठा छोरा हुन् उमाकान्त। बुवा–आमा कान्छा छोरा रमाकान्तलाई लिएर छुट्टै घरमा बसेका छन्। उनी ठीक हुँदासम्म सगोलमै थिए। खेत रुँग्न रातभर बस्ने गरेका उनी बिस्तारै बिरामी पर्दै गएको पल्टीदेवीले सुनाइन्।

परिवारका सदस्यले उपचार गराए, धामीझाँक्री पनि देखाए। तर, अस्पतालबाटै भाग्ने, औषधि नै नखाने भएपछि रोग बल्झिँदै गएको छिमकी सुनाउँछन्। ‘उनी घरखेतका सबै काम गर्थे। गाउँकै बलिया र सुन्दर युवक थिए’, छिमेकी ८० वर्षीया कनीवती चौधरीले भनिन्, ‘निको नभएपछि उमाको पूरै जवानी बन्धनमै बित्यो।’

लामो समय भएकाले उपचारमा निकै खर्च लाग्ने वडाध्यक्ष सुशीलकुमार चौधरीको अनुमान छ। ‘उपचार गराउन आर्थिक समस्या मात्र होइन, कहाँ लैजाने, कसले लैजाने भन्ने पनि समस्या छ’, उनले भने। आफूले उपचार खर्च बेहोर्न नसक्ने सुशीलाको भनाइ छ। उनले चार कट्ठामा अधिया खेती गर्दै आएकी छन्। बाँकी समय मजदुरी गरिरहेकी उनलाई खर्च धान्न हम्मे छ। ‘बुवा भए पनि नभएझैं भएको छ’, जेठी छोरी अस्मिताले भनिन्, ‘हाम्रो बुवाको उपचारका लागि कुनै उपाय भए सहयोग जुटाइदिनुहोस्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.