Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

कांग्रेसको राजनीति-आर्थिक प्रतिवेदन तयार

User Photo
बुधबार, मंसिर १९, २०७५

काठमाडाैं। महासमिति भेलामा पेश गर्न कांग्रेसले राजनीतिक–आर्थिक प्रस्ताव तयार पारेको छ। उपसभापति विमलेन्द्र निधि संयोजक रहेको राजनीतिक प्रस्ताव लेखन समिति र सहमहामन्त्री डा.प्रकाशशरण महत संयोजक रहेको समितिले आर्थिक प्रस्ताव तयार पारेको हो। यी दुबै प्रस्ताव जारी केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी भइरहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

राजनीतिक प्रस्ताव लेखन समितिका सदस्य नरहरि आचार्यले राजनीतिक प्रस्ताव समिति संयोजक निधिलाई मंगलबार हस्तान्तरण गरे। समिति संयोजक निधिले आचार्यसहित सात नेतालाई राजनीतिक प्रस्ताव तयार पार्न खटाएका थिए। प्रतिवेदन बुझ्दै निधिले एक–दुई दिन भित्रै यसलाई अन्तिम रुप दिएर केन्द्रीय समितिमा पेश गरिने निधिले बताए। ‘एक चरण अझै छलफल गर्छौ’, निधिले भने, ‘त्यसपछि यसलाई अन्तिम रुप दिनेछौं।’

राजनीतिक प्रस्ताव लेखन समितिका सदस्य एवं कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठान निर्देशक पुरुषोत्तम दाहालका अनुसार राजनीतिक प्रतिवेदनमा कांगे्रसको दर्शन, वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, सरकारप्रतिको दृष्टिकोण, अन्य राजनीतिक दलप्रतिको कांग्रेसको दृष्टिकोणलगायतका कुरा समेटिएका छन्। प्रतिवेदन २२ गते सम्ममा केन्द्रीय समितिबाट पेस गर्ने कांग्रेसको तयारी छ।

महासमिति भेलामा उपसभापति निधिले राजनीतिक प्रस्ताव, महामन्त्री शशांक कोइरालाले संगठन प्रतिवेदन, सहमहामन्त्री डा.महतले आर्थिक नीतिसम्बन्धी प्रस्ताव र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको कोष सम्बन्धी प्रतिवेदन पेश गर्ने कार्ययोजना छ। उपसभापति निधि र सहमहामन्त्री महतले राजनीति र आर्थिक प्रस्तावका लागि काठमाडाैसहित सातै प्रदेशमा छलफल गरेका थिए। केन्द्रीय नेतृत्वको उपस्थितिमा पार्टीका स्थनीय तहसँग बसेर छलफल गरिएको थियो।

मंसिर २८ देखि पुस ३ सम्म काठमाडौंमा कांग्रेस महासमिति भेला हुँदैछ। भेलामा पेस गर्न बनाइएको नयाँ विधानबारे पनि केन्द्रीय समितिमा छलफल भइरहेको छ। मंसिर १३ देखि सुरु भएको बैठकमा मंगलबारसम्ममा ४८ जना केन्द्रीय सदस्यले बोली सकेका छन्।

सहमहामन्त्री महतले आफ्नो नेतृत्वकोे आर्थिक प्रतिवेदन लेखन समितिले प्रतिवेदन लेखिसकेको बताए। ‘आर्थिक प्रतिवेदन तयार भइसकेको छ। अन्तिम चरणको गृहकार्यमा छौं’, सहमहामन्त्री महतले भने, ‘प्रतिवेदन केन्द्रीय समितिमा एक दुई दिन भित्रै बुझाउने तयारीमा छाैं।’

कांग्रेसको आर्थिक प्रतिवेदनले विकासको लक्ष्यका लागि उत्पादन बढाउनु पर्नेमा जोड दिएको छ। ‘उत्पादन बढाएर आम नागरिकलाई समृद्धिको पहुँचमा पु‍र्‍याउने हो। लक्ष्यमा पुग्ने साधन समय–सापेक्ष फरक पर्न सक्छ’, महतले भने। नागरिक, निजी क्षेत्र र सहकारीलाई सक्रिय बनाएर उत्पादन वृद्धि गर्न सकिने प्रतिवेदनमा लेखिएको छ। आर्थिक नीतिमा सामाजिक, स्वास्थ्य, शिक्षा, कृषि तथा मानव संशाधन, रोजगारीलगायतका क्षेत्रमा नीति तयार गरेको उनले बताए।

केपी ओली नेतृत्वको सरकारले लिएको ‘खुसी नेपाली समृद्ध नेपाल’ नाराबारे पार्टीको आर्थिक प्रतिवेदनले चिरफार गरिएको सहमहामन्त्री महतले बताए। ‘ओली सरकारले अवलम्बन गरेको समृद्ध नेपाल खुसी नेपाली नारा अनुसार देश सम्मद्धितर्फ जाँदै छ त ? अहिलेसम्म केही संकेत देखिएन’, आर्थिक प्रतिवेदनबारे सहमहामन्त्री महतले भने, ‘यसबारे हामी चिरफार गर्छौं।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.