Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

मालदिभ्स-नेपाल भिडन्त: सँधै रोमाञ्‍चक

User Photo
मङ्लबार, भदौ २६, २०७५

बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ-साफ च्याम्पियनसिपअन्तर्गत बुधबार मालदिभ्ससँग भिड्दा नेपाल नयाँ इतिहास रच्‍ने दाउमा हुने छ। नेपाल प्रतियोगितामा पहिलोपटक फाइनल पुग्ने प्रयासमा हुने छ।

सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियन्सिपमा नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन। यस प्रतियोगिताको इतिहासमा नेपालले मालदिभ्सलाई हराएको छैन। तर यी दुई टोलीबीचको भिडन्त सँधै रोमाञ्‍चक रहँदै आएको छ।

नेपाल र मालदिभ्स साफ च्याम्पियनसिपमा पहिलोपटक सेमिफाइनलमा भिड्न लागेका हुन्। मालदिभ्स एक पटकको विजेता र तीन पटकको उपविजेता हो। पाँच पटक सेमिफाइनलमा रोकिएको छ। पछिल्ला तीन संस्करणमा लगातार सेमिफाइनल पुगेपनि त्यसभन्दा अगाडि बढ्न सकेको छैन। नेपाल पनि समग्रमा पाँचौं पटक सेमिफाइनल पुगेको हो। यसअघि सन् १९९५,१९९९,२०११ र २०१३ को साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलसम्म पुगेको थियो।

सन् १९९९ संस्करण, नतिजा : ३-२


साफ च्याम्पियनसिपमा नेपाल र मालदिभ्स पहिलोपटक सन् १९९९ को संस्करणमा भिडेका थिए। त्यसअघि पहिलोपटक सहभागी हुनेक्रममा सन् १९९७ को साफ च्याम्पियनसिपमा फाइनल पुगेको मालदिभ्सलाई फेरी पनि उपाधि दावेदार मानिएको थियो।

पहिलो खेलमा श्रीलंकालाई ३-२ गोलले हराएको नेपाल मालदिभ्ससँग पहिलो मिनेटमै पछाडि परेको थियो। हरि खड्काले ६५ औं मिनेटमा खेल बराबरीमा ल्याएपनि मालदिभ्सले लगातार दुई गोल गर्दै खेलमा ३-१ गोलको अग्रता लिएको थियो। खेलको अन्तिम समयमा नेपालले एक गोल गरेपछि मालदिभ्सलाई हम्मेहम्मे परेको थियो। पछि तेस्रो स्थानका लागि भएको खेलमा पनि यी दुई टोली भिडेका थिए। त्यसमा मालदिभ्स २-० गोलले विजयी भएको थियो।

सन् २००३ संस्करण, नतिजा : ३-२


सन् १९९९ पछि आयोजित अर्को संस्करणमा पनि नेपाल र मालदिभ्स समूहगत चरणमै भिडेका थिए। सन् २००३ मा आयोजित त्यस संस्करणमा मालदिभ्सले नेपाललाई ३-२ गोलले हराएको थियो। पाँचवटै गोल दोस्रो हाफमा भएका थिए। ५६ औं मिनेटमा नेपालले अग्रता लिएको थियो निराजन रायमाझीको गोलमा। तर त्यसपछि मालदिभ्सले लगातार ३ गोल गर्‍यो। ६३ औं मिनेटमा खेल बराबरीमा ल्याएको मालदिभ्सले ७५ र ८५ औं मिनेटमा गोल थपेको थियो। नेपालले ९० औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि खेलमा मालदिभ्स एकाएक दबाबमा आएको थियो।

सन् २००९ संस्करण, नतिजा : १-१


सन् २००९ को साफ च्याम्पियनसिपको पहिलो चरणको पहिलो खेलमा नेपालले मालदिभ्ससँग खेलेको थियो। त्यसभन्दा एक वर्षअघि श्रीलंकासँग मिलेर आयोजना गरेको संस्करणमा मालदिभ्स विजेता नै बनेको थियो। त्यसबेला मालदिभ्सले नेपाललाई समूहगत चरणमा ४-१ गोलले हराएको थियो। तर यसपटक बंगलादेशमा आयोजित प्रतियोगितामा नेपालले सुधारिएको प्रदर्शन गर्‍यो र मालदिभ्सलाई १-१ गोलको बराबरीमा रोक्यो। ६१ औं मिनेटमा मालदिभ्सले अग्रता लिएको थियो। तर त्यो तीन मिनेट पनि कायम रहन सकेन। ६४ औं मिनेटमा नेपालका जुमानु राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

सन् २०११ संस्करण, नतिजा : १-१ 


मालदिभ्स र नेपाल फेरी समूहगत चरणमा भेटे, संस्करण थियो सन् २०११ को। नेपालले पहिलो खेलमै मालदिभ्ससँग खेल्नुपर्ने थियो। मालदिभ्सले पहिलो हाफको इन्जुरी समयमा अग्रता लियो। तर दोस्रो हाफको सुरुवातमै नेपालले खेल बराबरीमा ल्यायो। रक्षक सन्दीप राईले ५१ औं मिनेटमा गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए। त्यस संस्करणमा नेपाल एक जित र दुई बराबरीको नतिजासहित समूह उपविजेता बनेर सेमिफाइनल पुग्यो। नेपाल साफ च्याम्पियनसिपमा सेमिफाइनल पुगेको यो १२ वर्षपछि थियो। तर सेमिफाइनलमा अफगानिस्तानसँग अतिरिक्त समयमा १-० गोलले पराजित भयो। त्यसयता नेपालले साफ च्याम्पियनसिपमा मालदिभ्सको सामना गर्नु परेको छैन।

तर अन्य प्रतियोगितमा भने यी दुई टोलीबीच प्रतिस्पर्धा भएको छ। सन् २०१२ मा नेपालमै आयोजना भएको एएफसी च्यालेन्जकपमा नेपालले समूहगत चरणमा मालदिभ्ससँग खेलेको थियो। त्यस खेलमा मालदिभ्स १-० गोलले विजयी भएको थियो। पछिल्लो पटक दुई महत्वपुर्ण प्रतियोगिताको सेमिफाइनलमा मालदिभ्सलाई नै हराएर नेपालले फाइनलमा स्थान बनाउँदै पछि उपाधि नै जितेको थियो। सन् २०१६ को जनवरीमा बंगलादेशमै आयोजना भएको बंगबन्धु गोल्डकपमा नेपालले मालदिभ्सलाई सेमिफाइनलमा ४-१ गोलले हराएको थियो।

त्यस खेलमा नेपालका नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए। सोही महिना भारतमा आयोजित दक्षिण एसियाली खेलकुद-सागको फुटबलमा नेपालले सेमिफाइनलमा मालदिभ्सलाई ४-३ गोलले हराएको थियो। त्यस खेलमा पनि नवयुगले ह्याट्रिक गरेका थिए। नेपालले फाइनलमा भारतलाई हराएर २३ वर्षपछि साग फुटबलमा स्वर्ण जितेको थियो। तर सेमिफाइनलमा मालदिभ्ससँगको त्यस भिडन्त भने वर्षौंसम्म स्मरणीय हुने छ।

यस खेलमा नेपाल २-० गोलले अगाडि रहेर पनि निर्धारित ९० मिनेटको समयमा मालदिभ्सले खेल २-२ गोलको बराबरीमा ल्याएको थियो। एक सय १५ ‍‍औं मिनेटमा मालदिभ्सले गोल गरेपछि नतिजा नेपालको हातबाट फुस्किएको अनुमान गरिएको थियो। तर नवयुगले एक सय २० र इन्जुरी समयमा गोल गर्दै नेपाललाई ४-३ गोलको  जित दिलाए। भलै यस प्रतियोगितामा यू-२३ टोलीले मात्र सहभागी जनाउन पाउँछ तर अहिले नेपाली टोलीमा रहेका धेरै खेलाडी त्यतिबेलाकै छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.