Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

महाकालीको बाढीले तटबन्ध भत्कायो, एक सय घर डुबानमा

User Photo
सोमवार, साउन २८, २०७५

महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढ्दै गएपछि माहाकाली नगरपालिका–१ बयलबन्द क्षेत्रमा निर्माण गरिएको तटबन्ध भत्किन थालेको छ ।

नदीमा पानीको बहाव बढेपछि तारजाली बगाएर तटबन्ध भत्काउन थालेको हो । आइतबार रातिदेखि त्यस क्षेत्रमा निर्माण गरिएको तटबन्ध भत्काउन सुरु गरेको महाकाली नगरपालिकाको १ नं. वडा कार्यालयले जनाएको छ ।

महाकाली नगरपालिका–१ का वडा अध्यक्ष अर्जुनदत्त भट्टले आइतबार रातिदेखि बयलबन्द क्षेत्रमा निर्माण गरिएको तटबन्धमा क्षति पुग्न थालेको बताए ।

‘नदीमा पानीको बहाव बढिरहेको छ’ उनले भने, ‘तटबन्धमा लगाइएको १२÷१३ वटा तारजाली बगाइसकेको छ ।’ अविरल वर्षापछि महाकालीमा पानीको बहाव बढेको हो ।

‘अहिले पानीको बहाव कम हुँदा अलिकति तटबन्ध भत्काउन थालेको छ’ उनले भने, ‘पानीको बहाव उच्च भएर आयो भने तटबन्ध पुरै भत्काउने खतरा बढेको छ ।’

उनले तटबन्ध भत्किए माहाकाली नगरपालिकाको १ र ३ नम्बर वडा नै खतरामा पर्ने बताए । तटबन्ध भत्किए महाकालीको भंगालो नै गाउँ पसेर ठूलो क्षति गर्न सक्ने डरले स्थानीय त्रसित छन् । भारतले विहान ८ बजे दार्चुलास्थित धौलिगंगाको बाँध खोलेकाले कञ्चनपुरमासमेत महाकालीमा पानीको बहाव धेरै हुने देखिएको छ ।

पहाडको पानी यहाँसम्म आइपुग्न समय लाग्ने हुँदा अहिलेसम्म पानीको बहाव बढिसकेको छैन । जापानी सहयोग नियोग (जाइका) ले २ दशकअघि निर्माण गरेको तटबन्ध जीर्ण भएपछि २०७० सालमा आएको बाढीले बयलबन्द क्षेत्रमै तटबन्ध भत्काएर नदीको भंगालो नै गाउँ पसेर ठूलो क्षति गरेको थियो ।

त्यसपछि सोही क्षेत्रमा जनताकोे तटबन्ध कार्यक्रमले गत आर्थिक वर्षमा तटबन्धको पुनःनिर्माण गरेको थियो । तर तटबन्ध भरपर्दो र मजबुत नबनाइँदा तारजाली बगाएर भत्काउन शुरु गरेको स्थानीयले बताएका छन् ।
‘रातिदेखि तटबन्ध भत्काउन सुरु गरेको छ, पानीको बहाव बढ्यो भने निकै खतरा देखिन्छ’ स्थानीय परमानन्द भट्टले भने,‘ तत्काल ठूलो क्षति हुन नदिने तर्फ सजग हुनुपर्ने देखिन्छ’ ।

तारजाली बगाएर भत्काउन थालेको ठाउँमा तारजाली भर्ने काम थालिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरपालिका र स्थानीय तारजाली भर्ने काममा जुटेका छन् । इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक नरेन्द्र चन्दले तटबन्ध भत्काउन थालेको ठाउँमा रोकथामको काम भइरहेको बताए ।

अबिरल वर्षापछि नदी तथा खोलानालाहरुमा पानीको बहाव बढ्दा माहाकाली नगरपालिकाकै वडा नं. ८ र १० क्षेत्रका विभिन्न टोलडुबानमा परेका छन् । ती टोलका करिब एकसय घर डुबानमा परेको महाकाली नगरपालिकाले जनाएको छ ।

निरन्तर परिरहेको अविरल वर्षापछि महाकाली, जोगबुढा र आसपासका खोलामा पानीको बहाव बढेपछि ती टोलका घरहरु डुबानमा परेका हुन् । महाकाली नगरपालिका–८ सुन्दरनगर र वडा नं. १० कुतियाकबरका शान्तिटोल, गुरुङ्ग टोल, वैद्यफाँटा र गिरी टोलका एकसय घर डुबानमा परेका हुन् ।

डुबानमा परेका घरका मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ । सुरक्षाकर्मी, नगरपालिका र स्थानीय सबैले डुबानमा परेका घरका मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारेका हुन् ।

घरहरु डुबानमा परेपछि स्थानीयको जनजीवन प्रभावित भएको छ । जिल्लाका अन्य क्षेत्रमा समेत अविरल वर्षाले जनजिवन प्रभावित बनाएको छ । अधिकांश ठाउँहरु निरन्तरको वर्षाले जलमग्न भएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.