Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 15, 2026
शुक्रबार, माघ २, २०८२

कञ्चनपुर गोलीकाण्डः घाइतेहरुले पाएनन् राम्रो उपचार

User Photo
आइतवार, अशोज २१, २०७५

कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिनाभन्दा बढी भयो। गत १० साउनमा होमवर्क गर्न साथी रोशनीको घर गएकी निर्मलाको अर्को दिन नजिकैको उखुबारीमा शव फेला परेको थियो। पोस्टमार्टम रिर्पोटले निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको देखिएको थियो।

घटना भएको दिनदेखि नै महेन्द्रनगरमा हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीयवासी, महिला अधिकारर्की, आमा समूह लगायतको अगुवाइमा आन्दोलन सुरु भयो। दोषीको पहिचान गर्नुपर्ने भन्दै दबाबमुलक कार्यक्रम भइरहे। यसैबीचमा घटना भएको २५ औँ दिन अर्थात ४ भदौमा मानसिक सन्तुलन गुमाएका स्थानीय ४१ वर्षीय दीलिप बिष्टलाई प्रहरीले निर्मलाको हत्याराका रुपमा सार्वजनिक ग¥यो। तर प्रहरीले निर्दोषलाई फसाएको भन्दै महेन्द्रनगरमा फेरि आन्दोलन चर्कियो।

यस अवधिमा महेन्द्रनगर निकै तनावग्रस्त बन्यो। निर्दोष व्यक्तिलाई फसाउन खोजेको भन्दै स्थानीय थप बिरोधमा उत्रिए। स्थानीयको आन्दोलनमा प्रहरीले अनावश्यक बल प्रयोग गर्दा आन्दोलन उग्र बन्दै गयो। प्रहरीले अश्रुग्यास मात्रै भनाए र गोली नै चलायो। जसले गर्दा महेन्द्रनगर रणभूमिमा परिणत भयो। प्रहरीको गोली लागि एक दर्जन आन्दोलनकारी घाइते भए भने स्थानीय एक जना सन्नी खुनाको मृत्यु समेत भयो।

सरकारले आन्दोलनमा ज्यान गुुमाएका सन्नी खुना र निर्मला पन्तको परिवारलाई राहत स्वरुप १० लाख सहयोग गर्ने घोषणा ग¥यो भने घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्योहोर्ने घोषणा गरियो ।
निर्मलाको न्यायको आन्दोलनमा प्रहरीको गोली लागि घाइते हुने एक जना चतेन भट्ट पनि हुन। भीमदत्त नगरपालिका–१८ जानकीटोलका १४ वर्षीय चेतन भट्टले भृकुटी उच्च माविका कक्षा ८ का विद्यार्थी हुन। चेतनका बुबा पदमराज भट्ट निर्माण व्यवसायी हुन्। चेतन निर्मलाको न्यायिक आन्दोलनमा सुरुदेखि नै सहभागी थिए।

महेन्द्रनगरमा गोली लागेर सन्नी खुनाको मृत्यु भएको दिन उनी बसपार्कको पूर्वपट्टी प्रदर्शनमा थिए। उनीसँगै पढ्ने अरु साथीहरु पनि उनको साथमा थिए। त्यहीबेला जिल्ला प्रशासन कार्यालयमा खटिएका प्रहरीले गोली चलाए पछि भीड तितरवितर भयो।

‘जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै हामी ५ जना साथी थियौं,’ चेतनले भने, ‘अचानक मेरो बायाँ पाखुरामा जोरले ढुंगा हाने जसरी दुख्न थाल्यो।’ उनलाई गोली लागेको थाहै भएन। गोलीको छर्रा लागेका साथीभाईलाई सुरक्षित ठाउँतिर र्पुयाउन लागे । जब रिंगटा लागेर आफैं ढले त्यसपछि मात्रै उनले गोली लागेको थाहा पाए। ‘राजमार्गबाट आफैं हिँडेर आउँदै थिए’, चेतनले भने, ‘एकजना आफन्त भेटिए, उनले नै मलाई अस्पताल पु¥याए।’

यतिबेलासम्म सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममा चेतनको मृत्युको खबर आयो। फेसबुकवालमा उनको तस्बिर राख्दै धेरैले श्रद्धाञ्जली दिए।

महाकाली अञ्चल अस्पतालमा प्रारम्भिक उपचार गरी उनलाई धनगढी रेफर गरियो। धनगढी जाने क्रममा चेतनलाई सामाजिक सञ्जाल तथा विभिन्न अनलाइनहरुमा आएको उनको मृत्युको खबर बारे थाहा भयो। ‘फोटो सन्नीको थियो तर नाम मेरो थियो’, उनले भने, ‘भोलिपल्ट पत्रपत्रिकामा समेत मेरै नाम छापिएको थियो।’ अर्को दिन उक्त खबर सच्याएर आएको उनी सम्झिन्छन्।

सेती अञ्चल अस्पताल धनगढीमा ५ दिन उपचार गराएका चेतनको पछि ४ दिन काठमाडौं शिक्षण अस्पतालमा पनि उपचार गराइयो। अहिले गोली लागेको बायाँ पाखुरामा गोलीका छर्रा छन्। भित्र छर्रा भएकाले अप्रेसन नगरेसम्म यो समस्या निको नहुने भएकाले जतिसक्दो चाँडो अप्रेसन गर्नुपर्ने डाक्टरले सुझाव दिएको उनी सुनाउछन्।

शिक्षण अस्पतालमा सुरुमा राम्रो उपचार भए पनि अहिले ‘फलोअप’ मा जाँदा लापरबाही हुने गरेको उनले गुनासो गरे । सरकारले घाइतेको सम्पूर्ण उपचार खर्च व्योहोर्ने भने पनि स्थानीय प्रशासनले ‘फलोअप’ जाँदा लाग्ने टिकट तथा उपचार खर्च दिन नमानेको चेतनको गुनासो छ।

‘अब आफैं टिकट काटेर आफ्नै खर्चमा उपचार गर्नुपर्छ भनेको छ,’ चेतनले भने, ‘टिचिङमा पनि सुरुको जस्तो उपचार नहुने भएकाले अप्रेसन अर्को अस्पतालमा गर्ने सोच बनाएको छु।’

‘गोली लागेको बायाँ हात पुरै दुखिरहन्छ’, उनले भने, ‘दुखेको बेला खाने एउटा पेनकिलर बाहेक अरु औषधी केही छैन।’ पेनकिलर खाँदाखाँदा पनि फेरि अर्को बिरामीमा परिन्छ कि भन्ने डरले सताउने उनको भनाइ छ। औषधी किन्न मात्र पनि आफुसंग पैसा नहुने गरेको उनी बताउँछन्। उपचार खर्च सम्पूर्ण सरकारले हेर्छु भनेको, ‘खै १ कहाँ छ , हेरेको ?’ उनले प्रश्न गरे।

आन्दोलनमा घाइते भएकामध्ये यसप्रकारको गुनासो भएका चेतन मात्र होइन । उनी त एउटा प्रतिनिधि पात्र मात्र हुन। घाइते भएकाहरुको सबैको हालत यस्तै छ।

उता चेतन घाइते हुनुभन्दा अघिल्लो दिन (७ भदौँ) मा गोली लागि घाइते भएका अर्जुन भण्डाराले आफ्नो एउटा खुट्टा गुुमाउनु प¥यो। उनको दायाँ खुट्टा प्रहरीले चलाएको गोलीले खायो। उनी अहिलेसम्म पनि होसमा आउन सकेका छैनन्।

उनी काठमाडौँको त्रिवि शिक्षण अस्पतालको आईसीसीयुमा अचेत अवस्थामा मृत्युमरणको स्थितिमा छन्। केही समय अगाडि बाहिर लगेर पनि अर्जुनको उपचार गर्ने गृहमन्त्री रामबहादुर थापाले आश्वासन दिएका थिए। तर अहिलेसम्म पनि कुनै सुरसार नगरेको अर्जुनको कुरुवा बसेकी आमा शिवकलाले दुखेसो गरिन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.