पुर्वी नेपालको पहाडी तथा चुरे क्षेत्रका बासिन्दा वर्षेनी पहिरोको चपेटामा पर्दै आएका छन् । वर्षा यामको शुरुवातसँगै पहिरो जाँदा मानवीय क्षति हुनुका साथै गाँउ नै बिस्थापित हुनुपरेको छ ।
इलामको रोङ गाउपालिका वडानम्बर- ४ प्युरेका अधिकांश कृषक अनिदै बसेको कयौँ रात भएको छ । गाउँको दक्षिण भागमा रहेको पहिरोले कतिबेला घरै लगिदेला भन्ने चिन्ताका कारण उनीहरुलाई निदहराम गरिदिएको हो ।
करिव १ सय घरधुरी रहेको प्यूरे गाउँको एकपट्टिको पुरै भाग पहिरोले बगाइसकेको छ । २०७३ सालबाट लड्न सूरुभएको पहिरोका कारण हालसम्म गाउँका करिव ९ घर पहिरोले बगाउँदा परिवारै बिस्थापित भइसकेका छन् भने अहिले ४ घर बगाउने अवस्था छ ।
इलाम दक्षिणमा झापाको बुद्धशान्ति गाउँपालिकाको सिमानामा रहेको टिमाइ खोलाले वर्षेनी कटान गर्दा माथि गाउँमा पहिरो जाने गरेको हो । पहिरोको कारण गाउँका अधिकांश घर र बारी धस्सिएका छन् । पहिरोले हालसम्म सयौं रोपनी खेतीयोग्य जमिन समेत बगाइसकेको छ । पानी पर्न थालेसँगै पहिरो जाने र घर भासिएपछी यो वर्ष मात्रै ५ परिवार घरवारविहिन भइसकेका छन् । घर र बारी नै भासिन थालेपछी छिमेकीकोमा आश्रय लिएर बसेर घर भत्काएको स्थानीय टेकबहादुर मगरको भनाई छ ।
पहिरोका कारण बिस्थपित भएका स्थानीयलाई गाउँपालिकाले व्यवस्थापन गर्दै आएको छ । तर, पुरै गाउँ जोखिममा हुँदा व्यवस्थापनमा पनि समस्या भएकाे रोङ गाउँपालिकाले जनाएको छ । चुरे क्षेत्रमा पर्ने यो पहिरोको दिर्घकालिन समाधान र रोकथामका लागि पटक पटक केन्द्र र प्रदेश सरकारसँग लिखित आग्रह गरेपनि सुनुवाई नभएको गाउँपालिकाका अध्यक्ष शमसेर राईको गुनाशो छ ।
चुरे र पहाडी क्षेत्रमा यस्ता प्राकृतिक बिपत्तिले वर्षेनी देशका हजारौ परिवार प्रभावित हुने गरेका छन् । तर, समस्या निम्त्याउने पक्षको प्राविधिक अध्ययन गरी समयमै समाधान निकाल्न नसके पनि यसबाट हुने क्षती भने न्यूनीकरण सम्भव हुन्छ । राष्टपति चुरे तराई कार्यक्रमलाई सरकारले प्रतिष्ठाको विषय बनाउँदै लागू गरेको छ । तर, यस्तो जोखिमपूर्ण ठाउँका लागि भने राष्ट्रपति चुरे तराई संरक्षण कार्यक्रम पनि प्रभावकारी देखिएकाे छैन ।