लम्कीचुहा नगरपालिकामा चिरैं पर्व चैत्र २४ गते मनाईने भएको छ । अघिल्ला वर्ष हरुमा फरक ठाउँमा फरक दिनमा मनाइदै आएको भए पनि यसपाली पाली भने लम्कीचुहा नगरपालिका भरी चैत्र २४ गते मनाइने निर्णय लम्कीचुहा बडघर भल्मन्सा नगर समितीले गरेको अध्यक्ष दशराम चौधरीले जानकारी दिनु भयो ।
थारु भाषामा चिरैं भनेको चरा, पन्छी हो । चरा स्वतन्त्र हुन्छन् वा हुँदैनन् यो आफ्नो ठाउँमा बहसको बिषय होला । तर एक हिसाबले हेर्ने हो भने चरा, पृथ्वीको एक स्वतन्त्र जीव हो । पंक्षीका बारेमा अध्ययन अनुसन्धान गर्ने चरा बिशेषज्ञहरुका अनुसार चरा एक देशबाट अर्को देशमा रमाउन, केहि समयको लागि पाहुनीखान अर्थात आगन्तुकको रुपमा हिंड्छन् रे ।
घोरीघोरा तालमा पनि हिउँदको बेला उत्तर एशियाबाट र बर्खा लाग्नेबेला समुन्द्र नजिक बस्ने चराहरु केहि समयको लागि रमाउन आउँछन् भन्ने उनीहरुको अध्ययनले देखाउँछ । चरा सम्बन्धमा हिन्दीमा तमाम गीत पनि छ । मै तो एक पंक्षी हुँ नील गगनका, चल उरजा रे पंक्षी जस्ता । हो, थारु समुदाय पनि चरालाई स्वतन्त्ररुपमा देख्यौ । चेलीबेटीहरु रमाउने यो दिनलाई, त्यौहारलाई समुदायका उदार गुरुवाहरु, भर्राहरु, जानकारहरु, भलमन्सा, बरघर, महतोहरु चिरै, चरै, चिरै भजहर भनी नाम दिए ।
त्यसैले भन्नैपर्छ, चिरैं त्यौहार कैलालीका थारुहरुले मनाउने एक त्यस्तो बिशिष्ट त्यौहार हो, जहाँ चेलीबेटीहरु नै ग्राह्यहुन्छन् । जसलाई चिरै चरै र चिरै भजहरको रुपमा चिन्ने गर्दछन् । बिशेषतः यो त्यौहारका मूलपात्र कन्या (अबिबाहित) केटीहुन्छन् । दोश्रो, भर्खर बिबाह गरी ससुराल पुगेका नवबिबाहित चेलीहरुपनि यसमा सामेल हुन पुग्छन् । अन्य महिलाहरुलाई रमाउनबाट पनि कुनै रोकटोक हुँदैन । पुरुष भने यसमा सहभागी हुन पाउँदैनन् ।
यस पावन दिनमा थारु चेलीबेटीहरु स्वतन्त्र हुन्छन् । गाउँभरीका चेलीबेटीहरु गाउँबाहिरको बगिया (बगैचा) वा रुखबरिख भएको ठाउँमा जम्मा हुन्छन् । दिल खोलेर हाँसखेल, राहरंगी गर्छन् । चिनजान नभएकाहरुबीच चिनजान हुने गर्दछ । तपाईं कल्पना गर्नुस्, त्यो क्षण, त्यो बाताबरण कति रमाइलो हुन्छ होला ? जब गाउँभरीका चेलीबेटीहरु आफ्नै भेषभूषामा सज्जिन पुग्छन्, एकै ठाउँमा भेला हुन पुग्छन्, तारा चिरौवर, छुर, कोइली दिदी, अत्ता अत्ता पानी गंगा रानी जस्ता खेलहरु खेल्दछन्, नाच्छन्, गाउँछन् र रमाउँछन् । घरका आमा, बुवा, बाजे बज्यै वा अभिभावक त्यस दिन आफ्ना चेलीबेटीहरुलाई खुशी राख्नमा नै तल्लीन हुन्छन् । त्यसैले नै हो, यहाँका थारु बुद्धिजीविहरु यसलाई कन्या स्वतन्त्रता दिवस, सखी दिवस एवं नारी दिवसको रुपमा लिंदै आएका छन् ।
कहिले पर्दछ चिरैं ?उसो त चिरै त्यौहार, चैत महिनाको ओजरीया (शुक्लपक्ष) को जुनसुकै दिन मनाए पनि हुन्छ । फेरि पनि गुरुवाहरु, जानकारहरुका अनुसार चैत महिनाको ओजरीया (चैत महिनाभित्रै) को अन्तिममा शुक्रबार परोस् वा सोमबार, त्यो नै थारुहरुको चिरैं÷चरैं हो ।
के गर्दछन् चिरैमाचिरै त्यौहारमा घरका कन्या केटीहरु बिहानै नुहाई धुवाई गरी आफ्नो भेषभूषामा सजिन्छन् । त्यसदिन उनीहरु स्वतन्त्र हुन्छन् र घरको अरु कामसँग मतलब हुँदैन । घरका महिलाहरु नुहाई धुवाई गरी खाना र बरीया (पुरी), खुरमा (त्रिकोण र चौकोण आकारको पुरी) तयार गर्दछन् ।
खाना खाई, आफ्नो भेषभूषामा सजिएका केटीहरु घरघरबाट निस्कन्छन् र गाउँभन्दा बाहिर बगिया (आँपको बगैचा), बरपीपल वा कुनै रुखबरीख जसको छहारी हुन्छ, जुन छहारीमा गाउँभरीका केटीहरु बस्न सक्छन्, रमाउन सक्छन्, खेल्न सक्छन्, त्यसलाई रोज्छन् र त्यहाँ आश्रय लिन्छन् । त्यहाँ उनीहरु पुराना खेलहरु तारा चिरौवर, कोइली दिदी, छुर, अत्ता अत्ता पानी गंगारानी आदि खेल खेल्दछन् । आआफ्नो उमेर समुह वा साना ठूला कुनै पनि उमेर समुहका केटीहरु दिलखोलेर हाँसखेल गर्दछन्, चिना परिचय गर्दछन्, रमाइलो गर्दछन् । उनीहरु एकदम स्वतन्त्र हुन्छन् । सडकमा गई बाटोमा आउनेजाने मान्छेलाई रोकी स्वैच्छिक दानदक्षिणा पनि लिन सक्छन् । खेतमा भएको चना, केराऊ पनि खान सक्छन् । त्यसदिन कन्याहरुलाई दान दक्षिणा दिंदा, खुशीपार्दा देवीदेवता खुशी हुन्छन् र दानदक्षिणा दिनेको श्री, सम्पत्ति, अमनचयन, यशमा बृद्धि हुन्छ भन्ने आममान्यता छ । कन्याहरुले खाएको बाली घट्दैन, त्यसमा बर्कत (लक्ष्मीदेवीको कृपा) आउँछ भन्ने मान्यता छ ।