
कोरोना भाइरस (कोभिड-१९) का संक्रमित बढ्दै गए संगै मानिसमा त्रास बढ्दै गएको छ । दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका सप्तरीमा आठ जना र सप्तरीमै एक मस्जिदमा लुकेर बसेका ११ जना भारतीय नागरिकमा कोरोना पुष्टि भएपछि सुरु भएको त्रास नेपालगन्जमा गत शुक्रबार एकजना मुस्लिम धर्मगुरुसहित आइतबार र मंगलबार लगातार ९, ६ र ७ गरि २२ जना संक्रमित मुस्लिम समुदायकै भेटिएपछि झन त्रास थपिएकाे छ ।
जमातीहरुका कारण नेपाली मुस्लिम समुदायमा फैलिएको कोरोना संक्रमण अन्य ठाउँका मानिसहरुलाई पनि भएको छ कि भन्ने शंका उब्जिएको छ । नेपालगन्जका मुसलमानसंग अन्य ठाउँका मानिसहरु (विषेष गरी मुस्लिमहरू) सम्पर्कमा आएका थिए कि भन्ने जिज्ञासा धेरैको रहेको छ ।
कैलालीका मुस्लिमहरूकाे भेट संक्रमित संग भएकाे वा स्थानियमा काेही समुदायकै मानिस आएका हुन सक्छन भन्ने शंका बढिरहेका बेला लम्कीको गोसिया मस्जिदका अध्यक्ष भुल्लन कुरेसीले आफुहरु कसैको सम्पर्कमा नगएको बताएका छन् ।
विगत तीन वर्षदेखि अध्यक्ष रहेका उनी लम्कीका कस्मेटिक व्यापारीसमेत हुन । उनले लम्कीमा लगभग ३५ घरधुरी आफ्नो समुदायको हुनसक्ने भन्दै आफुले पाएको जानकारीअनुसार अहिलेसम्म कोहि बाहिर नगएको र कोहि नयाँ मान्छे बाहिरबाट नआएको बताए ।
नेपालगन्ज भन्दा त आफुहरु टीकापुरको मस्जिदसम्म पनि नगएको उनले जानकारी गराए । “अध्यक्षका हैसियतले कोहि नयाँ मान्छे आए मलाई जानकारी दिन र मलाई नभनी कोहि बाहिर नजान भनेर सबैलाई सम्झाएको छु,” कुरेसीले भने, “मैले लम्कीस्थित मस्जिद नै बन्द गरेर मस्जिदमा गएर नमाज पढ्ने, भिडभाड हुने कामसमेत रोकेको छु ।”
धर्मका हिसाबले भन्दा पनि अहिले महामारीका हिसाबले सबै सुरक्षित हुनपर्ने अवस्थामा आफू गम्भीर भएको र यदि आफ्नो छोरा नै कतै बाहिर गएर आए तुरुन्त नगरपालिकालाई जानकारी गराएर क्वारेन्टाइनमा पठाउने र चेकजाँच गर्ने बताउदै कुरेसीले अहिलेसम्म सबैको अवस्था सामान्य रहेको बताए ।