कोरोनाबाट एक पुरुषको मृत्यु

सोमवार, साउन १९, २०७७, काठमाण्डाै । 

विराटनगर महानगरपालिकाका कोरोना संक्रमित एक पुरुषको सोमबार उपचारको क्रममा मृत्यु भएको छ । विराटनगर-५ का ७७ वर्षीय ती पुरुषको कोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । योसँगै मोरङमा कोरोनाबाट दुई जनाले ज्यान गुमाएका छन् ।

कोसी अस्पतालका प्रवक्ता लक्ष्मिनारायण यादवका अनुसार श्वासप्रश्वास समस्या लिएर सोमबार आएपछि उनलाई आइसोलेसनमा राखेर स्वाब परीक्षण गर्दा कोभिड-१९ पोजिटिभ देखिएको थियो ।

यसैबीच प्रदेश १ का मुख्य न्यायाधीवक्ता चूडामणि आचार्यसहित सोमबार विराटनगरमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर-५ मा बस्दै आएका आचार्यका परिवारका अन्य दुई सदस्यमा समेत संक्रमण पुष्टि भएको हो ।

‘मुख्य न्यायाधिवक्ता आचार्यलाई यसअघि दुई दिन ज्वरो आएर निको भइसकेको थियो,’ विराटनगर महानगरका जनस्वास्थ्य महाशाखाका मोहोम्मद हैदर अलीले भने, ‘आचार्यलाई संक्रमणको स्रोत खुलेको छैन ।’ उनी नियमितरुपमा कार्यलयको काम र बैठकहरुमा सहभागी हुँदै आएकाले प्रदेशका मन्त्रीलगायतका उच्च पदस्थ कर्मचारीहरुमा संक्रमणको जोखिम बढेको अलीको भनाई थियो ।

विराटनगरमा देखिएका संक्रमतिमध्ये न्यूरो अस्पतालका ३ जना नर्स र म्याक्स अस्पतालका एक जना कर्मचारी छन् । प्रदेश प्रहरी कार्यालयका थप ७ जनामा प्रहरी अधिकारीमा संक्रमण पुष्टि भएको उनले बताए । यस्तै, कोशी अस्पतालमा कार्यरत थप २ जना स्वास्थ्यकर्मी र विराट मेडिकल कलेजमा कार्यरत एक जना र अन्य सर्वसाधारणमा कोरोना पुष्टि भएको अलीले बताए ।

यस्तै, रंगेली नगरपालिकामा पनि २२ जनामा कोरोना संक्रमण देखिएको छ । रंगेलीमा १३ पुरूष र ९ महिलामा संक्रमण देखिएको हो ।

विराटनगर महानगरमा हालसम्ममा १ सय ४३ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमा ३१ जना निको भएर घर फर्किसकेको अलीले बताए । महानगरले समुदायमै संक्रमण फैलिसकेको भन्दै नियन्त्रणका लागि शुक्रबार मध्यरातिदेखि दुई साताका लागि लकडाउन गरेको छ । मोरङमा संक्रमितको संख्या ३ सय ७६ पुगेको छ जसमा २ सय १३ जना निको भएर घर फर्किसकेका छन् ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा काेभिड-१९ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै