
पछिल्लो २४ घण्टामा थप १२०७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १०,०१९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ७१ हजार ३४१ पुगेको छ । उनीहरुमध्ये ४६७ जनाको मृत्यु भएको छ भने ५३ हजार १३ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र ११४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै ७२४ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५८३, ललितपुरका ७८ र भक्तपुरका ६३ जना छन् ।
त्यस्तै मन्त्रालयका अनुसार आज थप ८ जनाकाे मृत्यु भएकाे छ । मृत्यु भएका आठै जना पुरुष हुन्। उनीहरूको उमेर २० देखि ८८ वर्षसम्म थियो।
तीमध्ये चार जना काठमाण्डू उपत्यकाका अनि सप्तरी, मकवानपुर, रूपन्देही तथा कैलालीका एक-एक जना हुन्।