आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले खोज पत्रकारिता केन्द्र(खोपके)को रिपोर्टप्रति आपत्ति जनाएका छन् । खोज पत्रकारिता केन्द्रले भनेजस्तो स्विस बैंकमा आफ्नो कुनै खाता नभएको भन्दै अध्यक्ष ढकालले आपत्ति जनाएका हुन् । बिहीबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष ढकालले कुनै पनि ट्याक्स हेभन (कर छली) मुलुकबाट आफूले कुनै लगानी नभित्र्याएको दाबी गरे ।
खोपकेले बुधबार सार्वजनिक गरेको ‘नेपालिक्स–२०१९’ मा आफ्नो नाम जोडिएपछि ढकालले त्यसको खण्डन गर्दै आपत्ति जनाएका हुन् । सेन्टर फर इन्भेस्टिगेटिभ जर्नालिज्म (सीआईजे) नेपालमार्फत तयार गरी सञ्चारमाध्यममा सार्वजनिक भएका केही समाचारमा आफ्नो नाम जोडिएको भन्दै उनले त्यसको खण्डन गरेका हुन् ।
उनले ट्याक्स हेभन मुलुकमा आफ्नो कम्पनीसमेत दर्ता नगरेको बताए । ‘प्राडाइज पेपर, पनामा पेपर र स्विस लिकमा हामी र हामीसँग सम्बन्धित कुनै पनि कम्पनीको नाम कहीँकतैबाट जोडिएको छैन’, उनले भने । बेलायतमा कम्पनी खोलिएको विषयमा उनले राष्ट्र बैंकबाटै स्वीकृति लिएर खोलेको बताए । खोपकेले गरेको दाबीअनुसार स्विस बैंकमा आफ्नो पैसा भए सरकारलाई जफत गर्नसमेत उनले आग्रह गरे ।
खोपकेको टिमले खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट(आईसीआईजे)सँगको सहकार्यमा एक वर्ष लगाएर गरेको खोजमा विभिन्न ५५ जना नेपालीको स्विस बैंकमा पैसा रहेको खुलासा गरेको थियो । सो खोजले अवैध धनको ओसारपसार कसरी भइरहेको छ र यसमा कोको छन् भन्ने खुलासा गरेको छ । खोपकेको खुलासाअनुसार स्विस बैंकमा नेपालीको ५२ अर्ब रुपैयाँ रकम रहेको छ ।
‘पनामा पेपर्स’ सन् २०१५ मा इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस (आईसीआईजे)ले सार्वजनिक गरेको खुलासा हो । यो खुलासा जर्मनीको पत्रिका ‘जुटच जाइटुङ’बाट प्राप्त लाखौं गोप्य प्रतिवेदन र सूचनाबाट निकालिएका निष्कर्षहरू हुन् । १ करोड १० लाखभन्दा बढी प्रतिवेदनमा इमेल रकम पठाएको प्रमाण तथा कम्पनी दर्तासम्बन्धी विवरण समावेश छन् । मध्य तथा दक्षिण अमेरिकालाई जोड्ने पनामा देशमा अफसोर अर्थात् बाह्य मुलुकमा सेल कम्पनी दर्ता गराइदिने बिचौलिया एजेन्ट कम्पनी मोसेक फोन्सेका र उसले सन् १९७७ देखि २०१५ सम्म गरेका भित्री कामबारे पनामा पेपर्सले खुलासा गरेको थियो ।