तपाईंको जीवन कसरी चलिरहेको छ ? सोचेजस्ता कुरा पुरा भएका छन् ? स्वास्थ्य ठिक छ ? मनग्ये कमाइरहनुभएको छ ? साथीभाई-आफन्तसँगको सम्बन्ध सुमधुर छ ? आफ्ना परिवारको साथ र सहयोग मिलिरहेको छ ?
संभवत यी प्रश्नहरुको उत्तर तपाईंले सजिलै र सकारात्मक भावमा दिन सक्नुहुन्न । एउटा कुराले तपाईंलाई उच्च सन्तुष्टि दिइरहेका होलान् । तर, अर्को कुरा तपाईंको खुसीमा तगारो बनिरहेको होला । भनौं, जीवन सम्पूर्ण रुपमा ठिकठाक नहोला ।
जीवनमा सबैकुरा ठिकठाक हुन्छ भन्ने हुँदैन । जब हामीले भौतिक कुराबाट आफु परिपूर्ण हुने आकंक्षा राख्छौं, तब हामीले कहिल्यै सन्तुष्ट हुन सक्दैनौ । जबसम्म हामी सन्तुष्ट हुन सक्दैनौ, जस्तोसुकै कुराले पनि हामीलाई खुसी दिदैन । यसको सोझो अर्थ हो, जीवनमा हामीले चाहेजस्तै सबै कुरा ठिकठाक हुँदैन ।
के त्यसो भए हामी सधै चिन्तित, दुःखी, निरास भएर बस्नुपर्ने ?
पक्कै होइन । किनभने हामी सम्पूर्ण रुपमा ठिकठाक हुनु एक दुर्लभ संयोग हुनसक्छ । संसारका हरके मान्छे कुनै न कुनै समस्यासँग जुधिरहेका हुन्छन् । कुनै न कुनै अप्ठ्यारासँग जुधिरहेका हुन्छन् । कुनै न कुनै किसिमको अभाव झेलिरहेका हुन्छन् । पर्याप्त र पूर्णता कसैलाई पनि मिल्दैन ।
यो कुरा बोध गरिसकेपछि हामीले जीवनलाई फरक ढंगबाट डोर्याउनुपर्ने हुन्छ ।
हामी दुःखका विच पनि खुसी हुन सिक्नुपर्छ । अभावका बावजुत पनि सन्तुष्ट हुन सिक्नुपर्छ ।
तर, हामी प्रतिकुलतासँग सहजै जुध्न सकिरहेका हुँदैनौ । प्रतिकुलतालाई सहजै आत्मसात गरिरहेका हुँदैनौ । यसकारण साना कुराले हामीलाई दुःखी बनाइरहेको हुन्छ । सामान्य कुराले हामीलाई खिन्न तुल्याइरहेको हुन्छ । यस्तो प्रतिकुलताले हाम्रो धेरै कुरामा प्रभाव पार्छ ।
जस्तो कि, हामी उन्मुक्त हास्दैनौ । रमाउँदैनौ । मनभित्र पीडावोध गरिरहेका हुन्छौं । जब हामी हास्दैनौ, खुसी हुँदैनौ यसको असर हाम्रो शरीरमा पर्छ । स्थुल शरीर र मनको आसपी नाता हुन्छ । जब मन खिन्न हुन्छ, उदास हुन्छ, त्यसले शरीरको कार्यसंचालनमा अवरोध पुर्याउँछ । त्यसैले त, दुःखको अवस्थामा, पीडाको अवस्थामा, क्रोधको अवस्थामा, भयको अवस्थामा मुटुको धड्कन तिब्र हुन्छ ।
जब हामी हास्दैनौ, खुसी हुँदैनौ त्यसको असर हाम्रा आसपासका परिवार, आफन्तमा पनि पर्छ । मानौं घरका कुनै सदस्य उदास छन् भने अन्य सदस्यमा त्यसको नकारात्मक असर परिरहेकै हुन्छ । हाम्रो उदासी, हाम्रो निरासाले उनीहरुको खुसी पनि हरण गरिदिन्छ । उनीहरुको उमंग खोसिदिन्छ ।
हामी आफ्नो अभाव, दुःख, पीडाको कारण भित्रभित्रै खुम्चिन्छौं । बाहिर खुलेर हास्न, बोल्न सक्दैनौ । यसको असर हाम्रो व्यवसायिक एवं सामाजिक जीवनमा पनि पर्छ । समाजका छिमेकीहरुसँग, कार्यथलोका सहयोगीहरुसँग हामी खुलेर बोल्न सक्दैनौं । उनीहरुसँगको सहकार्यमा पनि निर्धक्कसाथ लागिपर्दैनौं । यसले गर्दा हाम्रो कतिपय काम बर्बाद हुनपुग्छ ।
भौतिक आँखाले हेर्ने हो भने, हामी कहिल्यै तृप्त र पूर्ण हुन सक्दैनौ । किनभने संसारमा उपलब्ध भौतिक सुख, सुविधाहरु भोग गर्ने सामथ्र्य सबैलाई समान रुपले प्राप्त हुँदैन । चाहे जतिसुकै शक्तिशाली किन नहोस्, चाहे जतिसुकै विद्वान किन नहोस्, चाहे जतिसुकै धनाड्य किन नहोस्, उनीहरु पनि कतिपय सेवा, सुविधाको भोगबाट बन्चित हुन्छन् । उनीहरुले पनि संसारमा उपलब्ध सबै कुरा भोग गर्न पाइरहेका हुँदैनन् । संसारमा उपलब्ध सबै कुरा उनीहरुको अधिनमा पनि हुँदैन ।
भौतिक सुख, सुविधा, सम्पन्नताको आवश्यक्ता महसुष हुनु स्वभाविक हो । तर, त्यसको अधिक चाहना वा आशक्ति हुनु भनेको दुःखको कारण हो । जे-जति उपलब्ध छ, जे-जति प्राप्त छ त्यसमै सन्तुष्ट लिनुपर्छ । खुसी र सुखी हुने सूत्र हो यो ।
दुःखी हुनु, उदास हुनु, निरास हुनु एक मानसिक अवस्था हो । यसको समाधान वा उपचार भौतिक बस्तुको उपलब्धी होइन । भौतिक बस्तु खुसीको माध्याम हुनसक्छ । तर, त्यही नै खुसीको स्रोत भने होइन ।
जब हामी आफै सन्तुष्ट रहन्छौं, तब हामीले अन्यत्र खुसी खोज्नुपर्दैन ।