कसरी भित्रियो निगम डुबाउने चिनियाँ जहाज ?

काठमाडौं । वार्षिक न्यूनतम ३५ करोड रुपैयाँको आर्थिक नोक्सानी पारिरहेका चिनियाँ जहाज ल्याउन सिफारिस गर्ने को को थिए ? चीन सरकारले यही सिफारिसलाई देखाएर ती जहाज (६ वटै) नेपाल सरकारलाई किन्न दबाब दिएको थियो।

यसरी सिफारिस नगरिएको भए ती जहाज नेपाल भित्रिँदैनथे र मुलुकलाई करोडौं रुपैयाँको घाटा पर्दैनथ्यो। बंगलादेशले पनि यही वाई १२ जहाज खरिद गर्न आफ्ना प्राविधिक टोली चीन पठाएको थियो। तर तिनले ठाडै अस्वीकार गरिदिएका थिए। तर, नेपालमा ठीक उल्टो भयो। चीनको एभिक इन्टरनेशनल होल्डिङ कर्पोरेसन (एभिक इन्टरनेशनल) ले नेपाल वायुसेवा निगमलाई प्रस्तावित जहाजका प्राविधिक पक्ष अवलोकन गरिदिन निमन्त्रणा गर्‍यो।

त्यसअनुसार निगमका ५ पाँच पदाधिकारी सम्मिलित टोलीले २०११ नोभेम्बर १५ देखि २२ सम्म चीनका विभिन्न ठाउँ भ्रमण गर्‍यो। भ्रमणपश्चात उनीहरूले निगम सञ्चालक समितिलाई २५ नोभेम्बरमा प्रतिवेदन बुझाए। उक्त प्रतिवेदनमा ५६ सिटे एमए–६० र १९ सिटे वाई–१२ जहाज नेपालमा उडाउन राम्रो हुने सिफारिस गरियो। त्यति मात्र होइन, निगमले त्यतिबेला उडाइरहेका ट्वीनवरलगायत अन्य जहाजसँग प्राविधिक र आर्थिक तुलना गरी चिनियाँ जहाजलाई ‘उच्च स्थान’ मा राखिएको छ।

अन्नपूर्णलाई प्राप्त प्रतिवेदनअनुसार जहाज ल्याउन महत्वसाथ सिफारिस गर्ने टोलीको नेतृत्व गरेका थिए निगमका तत्कालीन उपमहाप्रबन्धक (प्राविधिक) गणेश ठाकुरले। निगमको व्यापार विभागका उपनिर्देशक किरण पन्त, सञ्चालन विभागका क्याप्टेन तथा इन्स्ट्रक्टर पाइलट विजय लामा, क्याप्टेन तथा उपनिर्देशक (सञ्चालन विभाग) का श्रवण रिजाल र इन्जिनियरिङ विभागका उपनिर्देशक सन्तोषकुमार खाती सदस्य थिए। यीमध्ये ठाकुर र पन्त निगमबाट निवृत्त भइसकेका छन्। लामा र रिजाल निगममै छन्। खाती निगमको जागिर छाडेर बुद्ध एयर गएका छन्।

हारबिन एयरक्राफ्ट इन्डष्ट्री ग्रुपबाट सिधै खरिद गरिएको वाई–१२ जहाजका सम्बन्धमा रिपोर्टमा उल्लिखित कुरा र उक्त जहाज चलाएपछि निगमले भोगेका बेहोरा आकाश–जमिन फरक छन्। रिपोर्टले यो जहाज डोर्नियरको तुलनामा मनाङजस्तो हिमाली क्षेत्रमा धेरै भारी बोकेर मजाले उड्न सक्ने उल्लेख गरेको छ। डोर्नियर जहाज जान÷उड्न नसक्ने नेपालका विकट हिमाली जिल्लालाई यो जहाज अति उपयुक्त भनिएको छ। ‘वाई १२ ई ले निगमले तय गरेका सबै सेक्टर मनाङ, डोल्पा, भोजपुर, रुम्जाटार, रुकुम, ताप्लेजुङ, थामखर्क (सोलु) कांगेलडाँडा आदिमा सजिलै उडान भर्न सक्छन्,’ रिपोर्टमा छ, ‘यी जहाज आएपछि निगमका पुराना ट्वीनवटरलाई विस्थापित गर्न मिल्छ।’

यसो भनेर सिफारिस गरिएका यी चारवटा जहाज कुनै पनि दुर्गम क्षेत्रमा नउड्ने मात्र होइन यिनीहरू उड्न सक्छन् कि सक्दैनन् भनेर परीक्षण उडानसमेत गरिएका छैनन्। निगमले यी जहाजलाई सिमरा, भैरहवा, पोखरा र सुर्खेतमा मात्र उडाइरहेको छ। अर्काे कुरा, जहाज ल्याउन सिफारिस गर्ने विजय लामा र श्रवण रिजाल अहिले पनि निगममा उपनिर्देशक पदमा कार्यरत छन्। जहाज ल्याइएका चार वर्ष बितिसकेको तर उनीहरूले परीक्षण उडानसमेत गरेका छैनन्।

‘चिनियाँ टोली आएर यी जहाजको उडान गरिदिनुपर्ने हो तर उसले गरेन’ उक्त टोलीका सदस्य किरण पन्तले भने, ‘म अवकाश पाइसकेकाले योभन्दा धेरै कुरा बोल्न मिल्दैन।’

रिपोर्टले यो जहाजले १८ जना यात्रु बोक्न सक्छ भनी सिफारिस गरेको छ तर व्यवहारमा १४ जनाभन्दा बढी बोक्न सक्दैन। निगमका एक पाइलटका अनुसार कुनै पनि सेक्टरमा १८ जना बोकेर विमान उड्न सक्दैन। पूरा क्षमतामा उड्न नसकेका कारण यी जहाजबाट निगमलाई ठूलो घाटा परेको छ। डोर्नियरलगायतका अन्य जहाजभन्दा कम खपत गरी सञ्चालन लागत निकै सस्तो हुने भनी सिफारिस गरिए पनि त्यसको ठीक उल्टो भइरहेको छ।

यो जहाजको क्षमता ५६ जना यात्रु भनिएको छ, तर यसले हिउँदमा बढीमा ५० र वर्षायाममा ४० जनाभन्दा बोक्न सक्दैन। निगमसित यस्तो खाले जहाज नभएकाले भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी, सुर्खेत माउन्टेन उडानका लागि अति उपयुक्त भएको भनी निष्कर्षसहित सिफारिस गरिएको थियो। हाल विराटनगर, नेपालञ्ज, धनगढी, भद्रपुर र भैरहवामा उडिरहेका यी जहाज तापक्रम बढी भएपछि यसको कार्य क्षमता घट्ने गरेको छ।

टोलीले आफ्नो सिफारिसमा एमए ६० लाई ‘उत्कृष्ट’ (आइडल) जहाजको रुपमा उल्लेख गरेको छ। तर लामो धावन मार्ग (ट्रंक रुट) भएका विमानस्थलमा जहाज जान सकेको छैन। यी जहाजले जनकपुर, विराटनगर जस्ता सेक्टरमा ४० जना बोक्यो, अरु रुटमा २८, ३० जना भन्दा बढी बोक्न नसकेर उडायो कि निगमलाई घाटा पर्ने गरेको छ।

सिफारिसकर्ता टोलीले यो जहाजको प्रतिसिट उडान खर्च पनि एटीआर विमानको भन्दा ४.३ अमेरिकी डलर सस्तो पर्ने उल्लेख गरेको थियो। अर्थात् एमएए ६० को प्रतिउडान खर्च ३१.१६ डलर देखाइएको थियो तर यथार्थमा यो ४३.६२ डलर परेको छ। ५६ जना यात्रु उडाउँदाको हिसाब देखाएर टोलीले प्रतिउडान ३१.१६ डलर भनेको थियो। तर यसले ४० जनाभन्दा बढी बोक्न नसक्ने भएकाले प्रतिसिट उडान खर्च ४३.६२ अमेरिकी डलर परेका कारण घाटा खान बाध्य भएको हो।

नेपाल र चीनबीच २०६९ सालमा यी जहाज ल्याउने पहिलो सम्झौता भएको थियो। २०७० साल मंसिर १३ गते खरिद सम्झौता भएको थियो। ६ अर्ब ६७ करोड रुपैयाँ चीनको एक्जिम बैंकसित वार्षिक १.५ प्रतिशत ब्याज तिर्ने गरी ऋण लिएर पाँच वर्षअघि चिनियाँ जहाज भित्र्याइएका थिए। तीन करोड ५० लाख अमेरिकी डलर पर्ने यी सबै जहाजलाई निगमले दोब्बर मूल्य तिरेर ल्याएको हो।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
मङ्ल, भदौ १९, २०७५ (September 4, 2018, 9:14 am) मा द्वारा भिजन टेष्ट अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै