घरका सामग्री निकालेर चौकीमा आक्रमण

रुकुममा वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकी तोडफोड

मुसीकोट नगरपालिका–१४ छिवाङ ज्युलामा रहेको अस्थायी प्रहरीचौकीमा मंगलबार तोडफोड भएको छ । १३ नम्बर वडाध्यक्ष दीपक केसी नेतृत्वको टोलीले बेलुकी ८ बजेतिर आक्रमण गरेको हो ।

मंगलबार राति तोडफोड गरिएको रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१४ मा रहेको अस्थायी प्रहरी पोस्ट ।

मोटरसाइकलमा आएका केसीले जाँचका लागि राखिएको ढाट हटाउन प्रहरीले ढिलाइ गरेको भन्दै झगडा सुरु गरेका थिए । त्यसै क्रममा २०/२५ जना युवा आएर तोडफोड गरेका हुन् । स्थानीयका घरबाट बाँसका भाटा तथा अरू विभिन्न सामग्री निकालेर चेकपोस्ट तथा चौकीमा आक्रमण गरिएको थियो ।

चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर साउदले कुर्ची, गाडी रोक्न बनाइएका सामान ताडफोड गरिनुका साथै चौकीमा ढुंगामुढा भएको बताए । बुधबार बिहानदेखि चौकी सुनसान छ । प्रहरी डिउटीमा छैनन् । चौकी इन्चार्ज साउद उजुरी दर्ताका लागि भन्दै जिल्ला पुगेका छन् ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी सोलावाङ, प्रहरी चौकी सिम्लीको संयुक्त टोली छिवाङ पुगेको थियो । प्रहरीले रातभर खोज्दा पनि वडाध्यक्षसहित आक्रमणमा संलग्न अन्यलाई भेटाउन सकेको छैन । वडाध्यक्ष केसीको मोबाइल स्विच अफ छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिबहादुर ओलीले चौकीका अधिकांश सामग्रीमा क्षति पुगेको बताए । उनकै कमान्डमा प्रहरी घटनास्थल पुगेको थियो ।

जिल्ला प्रहरीप्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले चौकी तोडफोडमा संलग्न केसीसहित सबैको खोजी भइरहेको र उनीहरूलाई कारबाही प्रक्रिया अघि बढाइसकेको बताए । यसअघि पनि वडाध्यक्ष केसीलाई प्रहरीले पटकपटक सम्झाई–बुझाई पठाएको उनले जानकारी दिए ।

आफ्ना घरका सामग्री निकालेर चौकीमा आक्रमण हुन थालेपछि स्थानीयले विरोध गरेका थिए । त्यस क्रममा स्थानीयसित समेत भनाभन भएको थियो । मध्यपहाडी लोकमार्गमै पर्ने उक्त क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न भन्दै केही वर्षअघि मात्र प्रहरी चौकी राखिएको हो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
बुध, जेष्ठ २१, २०७७ (June 3, 2020, 9:47 am) मा द्वारा पर्खाई अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै