Naya Media
आइतवार, कार्तिक ३०, २०८२
| | November 16, 2025
आइतवार, कार्तिक ३०, २०८२

लोकसेवाको परीक्षा अन्योल हुँदा तयारी गरिरहेकाहरू निराश

User Photo
सोमवार, बैशाख २७, २०७८
काठमाण्डाै ।

कोरोना भाइरस महामारीको कारण लोकसेवा आयोगले लिने परीक्षा समयमा नहुँदा परीक्षाको तयारीमा जुटेका युवाहरु निराश हुन थालेका छन् ।

गत वर्षको नयाँ दरखास्त आह्वान अनुसारको निजामती तर्फ खरिदार बाहेकका पदका लागि परीक्षा आयोगले लिन सकेको छैन । कोरोना महामारीको कारण आयोगले नियमित परीक्षाहरु समयमा लिन नसकेको आयोगका सूचना अधिकारी जेबी सुवेदीले बताए । उनले भने ‘रिसेड्युल भएका परीक्षा पनि सबै लिन सकिएन । त्यसपछि स्थगित भएको परीक्षाको रिसेड्युल गर्न सकिएको छैन ।

खरिदारको परीक्षा दिएर नतिजा कुरिरहेका निरञ्जन कुमार शरणले नायब सुब्बा, अधिकृत तहको लागि पनि परीक्षा फाराम भरेका छन् । तर अहिलेसम्म दिएको परीक्षाको नतिजा पनि नआएको र अरू तहको परीक्षा पनि दिन नपाउँदा उनी दिक्क मान्न थालेका छन् । ‘महामारी आउनु हामी विद्यार्थीको के दोष ? आयोगले व्यवस्थित तरिकाले परीक्षा लिनुपर्छ । न दिएको परीक्षाको नतिजा आउँछ न अरूको परीक्षा हुन्छ ।’ उनले भने ‘लामो समयसम्म परीक्षा हुने टुंगो नहुँदा दिक्क लाग्न थालेको छ ।’

आयोगले गत वर्ष कोरोना संक्रमणको दर कम हुँदै गएपछि खरिदार, प्रहरी तर्फको र केही सांगठनिक संस्थाहरु धितोपत्र, दुग्ध विकास संस्थान लगायत केहीको मात्रै परीक्षा लियो । बाँकी अन्य परीक्षाहरुको बारेमा सूचना अधिकारी सुवेदीले भने ‘कोरोना संक्रमण दर कम भएको समयमा लिन सकिने परीक्षा पनि पदाधिकारी नहुँदा परीक्षा लिन सकिएन ।’

विद्यार्थी शरण भने आयोगले विभिन्न बहाना बनाएर कुनै पनि परीक्षा रोक्न नहुने तर्क गर्छन् उनी भन्छन् ‘यो वर्ष ढिलो खुल्दा उमेरहदका कारण अन्तिम पटक परीक्षा दिने तयारी गरिरहेका साथीहरु अन्यायमा पर्ने सम्भावना छ । कि भने उहाँहरुलाई अर्को एक वर्ष थप अवसर दिनुपर्छ ।’

गत वर्ष अधिकृतको लागि फाराम भरेका किशोर चन्द्र रेग्मीको परीक्षा दिन पाउने अन्तिम अवसर हो । लामो समय वैदेशिक रोजगारीमा बसेर सरकारी जागिरका लागि तयारी थालेका उनी निराश बनेका छन् । ‘पारिवारिक स्थितिको कारण विदेश गएँ । धेरै वर्ष अर्काको देशमा धेरै दु:ख गरियो । अब आफ्नै देशमा सरकारी जागिर खाउँ न त भनेर तयारी गरेको यस्तो छ । अब फेरि विदेश नै जा भनेको त होला ।’

राहुल कुमार साह उमेर हदको कारण अब निजामतीबाहेक अन्य क्षेत्रमा परीक्षा दिन अयोग्य भएका छन् । मेकानिकल इन्जिनियर पढेका उनले ७६ सालमा विद्युत प्राधिकरणको प्राविधिक तर्फ पाँचौं र सातौं तहमा परीक्षा दिएका छन् । तर अहिलेसम्म नतिजा नआएको उनले बताए । नेपाल आर्मीको प्राविधिक तर्फ यो वर्ष अन्तिम पटक परीक्षा दिने सोच बनाएका थिए । तर गत वर्षकै परीक्षा नभएको कारण यो वर्ष कहिले खुल्ने निश्चित नभएको कारण स्नातकोत्तर अध्ययनका लागि जर्मनी जाने तयारीमा छन् । उनी भन्छन् ‘देशमा बसेर काम गरौं भन्यो यस्तै कुराहरुले निराश बनाउँछ । दिएको परीक्षाको नतिजा दुई वर्ष हुन लाग्यो आउँदैन । अर्को खुल्ने निश्चित छैन ।’ त्यसबीच उनले जर्मनीको एक विश्वविद्यालयमा छात्रवृत्तिका दिएको आवेदन स्वीकृत भएको छ । निषेधाज्ञा खुलेसँगै उनी अध्ययनका लागि जर्मनी जाने तयारीमा जुटेका छन् ।

अन्तिम पटक परीक्षाको तयारी गरिरहेकाहरु र बढुवाको लाइनमा भएका कर्मचारीहरुले अवसर गुमाउने अवस्था रहेपनि थप अवसर दिनेबारेमा अहिलेसम्म छलफल नभएको लोकसेवा आयोगका सूचना अधिकारी सुवेदी बताउँछन् । उनको भनाइ अनुसार बढुवाको लाइनमा भएका धेरै कर्मचारीहरु बढुवा हुन नपाई अवकासमा निस्कनुपर्ने अवस्था छ । उनी भन्छन् ‘समयमा परीक्षा नहुँदा अन्तिम पटक तयारी गरिरहनुभएकाहरु र बढुवाको लाइनमा हुनुभएका कर्मचारीहरु अन्यायमा पर्नुभएको छ । तर उहाँहरुको लागि थप अवसर दिने विषयमा लोकसेवाको तयारी केही पनि छैन ।’


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.