गोरखा बारपाक सुलीकोट गाउँपालिमा एकै घरका तीनजना मृत अवस्थामा भेटिएका छन्। बारपाक सुलिकोट गाउँपालिका–१ को धामीटोलको एक घरका तीनजना मंगलबार बिहान मृत अवस्थामा भेटिएका हुन्।
इलाका प्रहरी कार्यालय जौबारीका प्रहरी निरीक्षक ईश्वर लौडारीका अनुसार एकजना वृद्ध, उनकी बुहारी र अर्की एक बालिका (छोरीकी छोरी) मृत अवस्थामा भेटिएका हुन्।
बिहान ढिलासम्म घरको ढोका नखुलेपछि अर्को घरमा बस्दै आएकी बुहारीले ढोका खोलेर हेर्दा तीनैजना मृत अवस्थामा भेटिएको स्थानीयलाई उद्धृत गर्दै लौडारीले बताए।
मुखबाट फिज निस्किरहेको अवस्थामा शव भेटिएकाले कुनै विषक्त खानेकुरा खाएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरी निरीक्षक लौडारीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ। प्रहरी घटनास्थल नपुगेकाले मृतकको विवरण प्राप्त भएको छैन। ‘हामी घटनास्थलतर्फ जाँदै छौ’, लौडारीले भने, ‘त्यहाँ पुगेपछि थप विषयमा बोल्न सकिन्छ।’
