कविता- आफ्नै लासको चिन्ता
हिजो,
उसको आगमनले
गाउँमा उज्यालो छाउँथ्यो
पशुपक्षिले आभास पाउँथ्यो
गाउँलेहरु बाटासम्म लिन पुग्थे
भरिया उकालोमा काँध दिन पुग्थे
केटाकेटीले चकलेट बिस्कुट पाउँथे
साथीहरुले घडी र जुत्ता लाउँथे
मुखियाले ब्याज पाउँथ्यो
तरकारीले प्याज पाउँथ्यो
चिया चुरोटको बिक्रि थपिन्थ्यो
आमाको गलामा सिक्री सजिन्थ्यो
पँधेरामा साबुनको बास्ना मग्मगाउँथ्यो
परिवारमा आशा जग्मगाउँथ्यो
बारीको पाटो किनिन्थ्यो
बहिनीको बिहे छिनिन्थ्यो।
आज,
उसको आगमनले
गाउँमा सन्त्रास जगाएको छ
काठेपुलमा काँडा लगाएको छ
आफ्नै श्रीमती झस्केकी छे
भातसंगै अविस्वास पस्केकी छे
माओबादीदेखि पुलिस तर्से जस्तो
पुलिसमाथि सुतली बम बर्से जस्तो
गाउँलेहरुको भागाभाग छ
आफन्तकै उसमाथि रिसराग छ
मानौं उ यमराजको दूत हो
या मध्यान्नमा तर्साउने भुत हो
उ नयाँ छाउपडीमा सरेको छ
कुस्ठरोगि झैँ झुपडीमा परेको छ
त्यसैले उ आफ्नो जिउँदो शरीर भन्दा
बेवारिसे लासको चिन्तामा
पलपल छटपटी रहेको छ।
खोइ,
प्राचिन सभ्यता कहाँ छोडियो
आधुनिक बिज्ञान कता मोडियो
साँध सिमाना कता मिचीए
धर्म सिद्धान्त कता खिचिए
एउटासंग अर्को बाङ्गिएको छ
उसको स्वार्थ उदाङ्गिएको छ
डाक्टर बिदामा बसेको छ
नेता सिदामा बसेको छ,
बिचरा पुलिस चिच्याएको छ
अबुझ मान्छे घिच्च्याएको छ
मान्छेको डरले मान्छे
अनिश्चित दिशातर्फ भागेको छ
केवल एउटा ज्यानको पछाडी
हात धोएर लागेको छ
तैपनि यो शुक्ष्म जिबाणु
दिन दुगुना, रात चौगुना
स्वतन्त्र भै झाङ्गिएको छ ।
- डा. हरि अधिकारी
