इङिलिस प्रिमियर लिगका खेलहरु आजबाट सुचारु हुने भएको छ । विश्व महामारीको रुप लिएको कोरोना भाइरसका कारण ३ महिनादेखि स्थगित खेल आजबाट सुचारु हुने भएको हो ।
आजको खेलमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेडबीच प्रतिष्पर्धा हुने छ । खेल नेपाली समयानुसार पौने ११ बजे हुने तालिका रहेको छ । कोभिड १९ का कारण खेल दर्शक बिना खेलाइनेछ ।
खेल सुरु हुनुअघि कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्न एक मिनेट मौन धारण गरिनेछ । हालसम्म २८ खेल खेलेको सेफिल्ड युनाइटेड ४३ अंकसहित तालिकाको सातौं स्थानमा छ । समान खेलबाट २५ अंक जोडेको एस्टन भिल्ला भने १९ औं स्थानमा छ ।
कोरोना भाइरसका कारण स्थगित भएका युरोपका लिगमध्ये पुन: सुचारु हुने प्रिमियर लिग तेस्रो हो । यसअघि जर्मन बुन्डेस लिगा र स्पेनिस ला लिगा सुचारु भइसकेका छन् ।
प्रिमियर लिग गत मार्च १३ देखि स्थगित भएको थियो । खेलका क्रममा कोभिड १९ को हरेक मापदण्ड अपनाउन खेलाडीलाई सुझाव दिइएको छ ।
