हामीले बिर्सेको काठमाडौंको इतिहास इन्द्रजात्राले सम्झाउँछ

काठमाडौं उपत्यकामा आधुनिकताको रङ पोतिएका सयौं वर्ष पुराना जीवित सभ्यताहरू छन्।

यहाँका चाडपर्व, जात्रा र उत्सव सयौं वर्षदेखि चलिआएका छन्। यस्ता ‘अमूर्त सम्पदा’ ले हामीलाई मध्यकालीन नेपालको गौरवपूर्ण इतिहासमा फर्काउँछ। हाम्रा पुर्खाले बाँचेको जीवन फेरि एकपल्ट जिउने अवसर दिन्छ।

‘आधुनिक सहर’ का नाममा हामीले यहाँका प्राचीन सहरलाई आफ्नो अनुकूल तोडमरोड गरिरहेका छौं। यी चाडपर्व र उत्सवले हाम्रो सभ्यताको पहिचान स्थापित गराउँछ।

येँया पुन्ही, अर्थात् इन्द्रजात्रा त्यसैमध्ये एक हो।

यो लेखमा हामी येँया पुन्हीका केही पक्षबारे चर्चा गर्नेछौं। यसले हाम्रो सम्झनाबाट हराइसकेको प्राचीन इतिहासलाई हामीमाझ ल्याउनेछ। हामीले सचेत वा अचेत रूपमा कसरी आफ्नो अमूर्त सभ्यता जोगाएर राखेका छौं र आज पनि उत्तिकै उत्साहसाथ मनाउँछौं भन्ने यो लेखमा समेटिएका छन्।

यः सिं (इन्द्रध्वजोत्थन)

हनुमानढोका दरबार स्क्वायरमा भर्खरै काटेर ल्याएको रूख (यः सिं) ठड्याएपछि औपचारिक रूपमा इन्द्रजात्रा सुरु हुन्छ।

काठमाडौं उपत्यकाका अन्य उत्सव र पर्वमा पनि यः सिं ठड्याउने चलन छ। यः सिं को अर्थबारे अनुसन्धानकर्ताहरूको फरक–फरक मत पाइन्छ।

कोही यसले पृथ्वीलाई स्वर्गसँग जोड्ने मान्यता राख्छन्। कोही भने बलिदानको प्रतीक मान्छन्।

भाद्रशुक्ल द्वादशीका दिन कागेश्वर मन्दिर अगाडि यः सिं ठड्याउने प्रचलन धेरैपछि राजा प्रतापसिंह शाहले सुरु गरेका हुन्। त्यसअघि मल्ल राजाको पालामा भाद्रशुक्ल एकादशीका दिन अट्कोनारायण मन्दिर अगाडि यः सिं ठड्याउने परम्परा थियो।

यसबाहेक विभिन्न गुठीले थुप्रै साना यः सिं ठड्याउने गर्थे। समयक्रममा यो परम्परा मासिँदै छ। तै केही स–साना यः सिं अझै पनि येँयामा देखिन्छन्।

दरबार स्क्वायरमा ठड्याइने मूल यः सिं मानन्धर समुदायले भक्तपुर, नालाको सल्लाघारीबाट काटेर ल्याउँछन्। यो ३६ हात लामो हुन्छ।

पहिलो दिन नालाबाट रूख काटेर भक्तपुरको राधेराधेसम्म ल्याउने गरिन्छ। चौथीको दिन त्यहाँबाट तानेर काठमाडौंको भोटाहिटी ल्याइन्छ।

भोटाहिटी प्राचीन काठमाडौंको बाहिरी सीमा हो। यहाँ सडकछेउ एउटा मण्डप छ। अरू बेला छोपिएको हुन्छ। सवारी र मान्छेको घुइँचोबीच मण्डपमा कसैको आँखा पर्दैन। सडकको कंक्रिटले पुरिएको हुन्छ। येँयामा मण्डप देखिने गरी खाल्डो खनिन्छ। ढक्कन खोलिन्छ।

नालादेखि वनयात्रा गरेर ल्याएको यः सिंलाई यही मण्डप अगाडि राखी नगर भित्र्याउने साइत नहुञ्जेल पूजाआजा गरिन्छ। अष्टमीको साइत पारेर नगर प्रवेश गराइन्छ।

संस्कृतिविद् तथा कला इतिहासकार गौतमबज्र बज्राचार्यले ‘हनुमानढोका राजदरबार’ नामक किताबमा रानीपोखरी पहिला काठमाडौं सहरको सीमासम्म रहेको भनेका छन्। इन्द्रजात्राको अवसरमा मल्ल राजाहरू यः सिं स्वागत गर्न भोटाहिटीसम्मै जान्थे भनी उनले लेखेका छन्।

पछि राजाको सट्टा उनको खड्ग लैजान थालियो। यो अझै निरन्तर चलिआएको छ।

यः सिंलाई भोटाहिटीबाट असन, वंग (इन्द्रचोक), मखन हुँदै हनुमानढोका दरबार स्क्वायर ल्याइन्छ। एकादशीको दिन यसमा डोरी बाँध्न थालिन्छ। त्यसपछि द्वादशीको दिन शुभसाइतमा कागेश्वर मन्दिर अगाडि ठड्याइन्छ। यसलाई इन्द्रध्वजोत्थन भनिन्छ।

भोटाहिटीदेखि दरबार स्क्वायरसम्म यः सिं ल्याउने बाटो प्राचीन काठमाडौंको व्यापार मार्ग हो। मध्यसहरको यो तेर्सो बाटोले त्यतिबेला नै काठमाडौंको आर्थिक कारोबारमा ठूलो महत्व राख्थ्यो। अहिले पनि यो पुरानो बजार केन्द्र रहँदै आएको छ।

दबु (डबली)

काठमाडौंको एउटा मुख्य विशेषता यहाँका साँघुरा गल्लीहरू हुन्। ती गल्लीमा घुम्ने हो भने थुप्रै वर्गाकार वा आयतकार मञ्चहरू देखिन्छन्। जमिन सतहबाट एक–दुई फिट माथि उठेका इँटा र ढुंगाबाट बनाइएका यस्ता मञ्चलाई दबु (डबली) भनिन्छ।

अचेल यस्ता डबली चियापसले वा सडक व्यापारीले ओगटेका छन्। कतिले त डबली नै ओझेल पर्ने गरी स्थायी संरचना खडा गरेका छन्। हाम्रा पुर्खाले सहरको खाली ठाउँ भर्न मात्र यी संरचना बनाएका होइनन्। काठमाडौं सभ्यतामा यस्ता डबलीको छुट्टै महत्व छ। जात्रा र चाडपर्व बेला यहाँ अनेक नाच प्रदर्शन गरिनुका साथै अन्य कार्यहरू सम्पन्न गरिन्छन्।

येँया पुन्हीका अवसरमा यस्ता नाच प्रशस्त देखाइन्छन्। त्यसमध्ये एउटा देवी प्याखः हो। किलागलको ज्यापू गुठीले यो नाच प्रदर्शन गर्छ।

यो नाचमा सातको संयोग हुन्छ। इन्द्रजात्राभरि निश्चित स्थानका सातवटा डबलीमा मात्र यो नाच देखाइन्छ। ती सातै डबली कुमारी रथयात्रा हुने बाटोमा पर्छन्। नाचको आफ्नै महत्व भएकाले जहाँ पायो त्यहाँ देखाउन नहुने मान्यता छ।

सात डबलीका अतिरिक्त यसमा सात देवदेवी, सात नाइके, सात बाजा र सात ताल हुन्छन्। नाचको समय पनि सातै घन्टा हुन्छ।

यः सिं ठड्याइने द्वादशीको दिन पनि देवी नाच प्रदर्शन गरिन्छ। त्यतिबेला डबलीमा नाच्नुपर्दैन। नाचको समय पनि सात घन्टा हुँदैन।

अष्टमीको दिन देवी नाचलाई सार्वजनिक प्रदर्शनमा लगिन्छ। यो दिन किलागलको मुख्य डबलीमा देखाइन्छ।

कुमारी रथयात्राको पहिलो दिन जैसीदेवल (न्हूघः) डबलीमा नाच देखाइन्छ। दोस्रो दिन बांगेमुढा र इन्द्रचोकमा देखाइन्छ। जात्राको अन्तिम दिन किलागल डबलीमा नाच देखाएर देवी प्याखंः विसर्जन हुन्छ।

यी पाँच डबलीका अतिरिक्त वसन्तपुरको महादेव–पार्वती मन्दिर अगाडिको डबली र कालभैरव मन्दिर अगाडिको डबलीमा पनि देवी नाच देखाउने चलन छ।

सबैतिर डबलीमा मात्र प्रदर्शन हुने यो नाच इन्द्रचोकमा भने सडकमा किन देखाइयो होला? धेरैलाई लाग्न सक्छ, सडकको बीचमा यसरी किन नाच देखाउनुपर्ने होला? यो मेरा लागि पनि कौतूहलको विषय थियो।

यसबारे देवी प्याखः गुठीका सदस्य भन्छन्, ‘यहाँ १९९० सालको भुइँचालोअघि डबली थियो। भुइँचालोपछि डबली मासेर सडक बनाइयो। अन्य संरचना पनि बने। अहिले डबली नभए पनि यो नाचले डबली र त्यति बेलाको संरचनालाई निरन्तरता दिइरहेको छ।’

त्यतिबेला हनुमानढोका दरबार अहिले विशालबजार रहेको ठाउँसम्म फैलिएको थियो भन्ने केही इतिहासकार दाबी गर्छन्। एउटा सत्य के भने, आधुनिकताका नाममा प्राचीन काठमाडौंका परम्परागत संरचनाहरू डबली, पाटी, ढुंगेधारा आदि क्रमशः विनाश हुँदैछन्। यसले सहरको खुला सार्वजनिक स्थान मात्र मासिएको छैन, हाम्रा परम्परा र सांस्कृतिक नाच प्रदर्शन गर्ने ठाउँसमेत खोसिएको छ।

हामीले यो बिर्सिनुभएन, यस्ता नाच र परम्पराले हाम्रो सडक र हाम्रो जीवनशैली अतिक्रमण गरेका छैनन्। बरु हाम्रो आधुनिक जीवनशैलीले हाम्रो पुर्खाले दिएको पहिचान अतिक्रमण गर्दैछ।

उपाकू

उपाकू भनेको येँया पुन्हीकै क्रममा मनाइने परम्परा हो। यसमा मरेका मान्छेको नाममा बत्ती दिँदै हिँड्ने गरिन्छ।

यः सिं ठड्याएको दिन साँझ घडीको सुईको दिशामा बत्ती बाल्दै ‘यँदे’ (काठमाडौंको सहरी क्षेत्र) परिक्रमा गर्नुलाई उपाकू भनिन्छ। यस क्रममा बाटो र मठ–मन्दिरमा पाल्चा राख्दै जानुपर्छ। त्यसैले, यसलाई ‘पाल्चा ब्यू’ (पाल्चा दिन जाने) पनि भनिन्छ।

पाल्चाको प्रकाशले मरेका मान्छेको आत्मालाई स्वर्ग जाने बाटो देखाउँछ भन्ने भनाइ छ। यसले प्रेतात्माको असरबाट सहरलाई जोगाउने विश्वास गरिन्छ।

काठमाडौंका ३२ वटा प्राचीन टोलको बाटो हुँदै परिक्रमा गरिने यो यात्रा पूरा गर्न तीन–चार घन्टा लाग्छ। यो यात्रा महाःबू बाट सुरु भएर कोहिटी, क्षेत्रपाटी, ठहिटी, टेबहाल, गणबहाल, लगनलगायत ३२ वटा टोल पार गरी महाःबूमै पुगेर टुंगिन्छ।

स्थानीय गुठी सदस्यहरू परम्परागत बाजागाजासहित यात्रामा भाग लिन आउँछन्। यात्रामा पर्ने स्थानीय टोलका बासिन्दाले सडक र मठ–मन्दिर सरसफाइ गरेर जात्रालुको स्वागत गर्छन्। बाटोमा कलात्मक ढंगले समयबजी थुपारेको पनि हामी देख्छौं, जुन यात्रा सकिएपछि सबैलाई बाँडिन्छ।

कला इतिहासकार तथा मानवशास्त्री म्यारी स्लसरका अनुसार कुनै समय काठमाडौं नगर वरिपरि अग्लो पर्खाल थियो। पृथ्वीनारायण शाहले विजय प्राप्त गरेपछि उक्त पर्खाल भत्किएको र मर्मत नभएको मानिन्छ। समयक्रममा पर्खालको अवशेष भौतिक रूपले मात्र होइन, हाम्रो सम्झनाबाट पनि हरायो। सांस्कृतिक रूपले भने काठमाडौं नगरलाई घेरेको पर्खाल अझै जीवित छ। उपाकू यात्रामा जानेले त्यतिबेला सहरलाई सीमाबद्ध गरेको त्यही पर्खाल वरिपरि परिक्रमा गर्छन्।

भौतिक पर्खालको संरचना हामीले बिर्सिसकेका छौं। तर, उपाकूले त्यो संरचनालाई सांस्कृतिक रूपमा जीवन्तता दिँदै आएको छ।

यसलाई संकेत गर्ने अर्को प्रमाण पनि छ। आज पनि प्राचीन सहरबाहिरको नयाँ बसोबास स्थललाई भित्री बस्तीका बूढापाका ‘देश पिने’ भन्ने गर्छन्। यसको अर्थ ‘सहरबाहिर’ भन्ने बुझिन्छ। ‘देश पिने’ भनिने ठाउँ पहिलेको सीमा पर्खालबाहिरका नयाँ बसोबास स्थल हुन्।

कुमारी, गणेश र भैरव रथयात्रा

इन्द्रजात्राको मुख्य आकर्षण भाद्र शुक्ल चर्तुदशीका दिन सुरु हुने कुमारी रथयात्रा हो। काठमाडौंकी कुमारी ‘जीवित देवी’ का रूपमा संसारभरि प्रसिद्ध छिन्।

कुमारीलाई रथमा राखेर काठमाडौं परिक्रमा गराउने दिन अगाडि गणेश र भैरवलाई छुट्टाछुट्टै रथमा राखेर सँगसँगै परिक्रमा गराइन्छ।

यो रथयात्रा तीन दिन चल्छ। तीनै दिन रथयात्राको बाटो फरक हुन्छ।

येँया पुन्हीको चौथो दिन काठमाडौंको दक्षिणी वा तल्लो भागमा पर्ने टोलहरूमा रथयात्रा गरिन्छ। यसलाई ‘क्वने’ भनिन्छ। यस दिन मरु टोलबाट जैसीदेवल, ब्रह्मटोल, लगन, कोहिटी हुँदै मरुबाट वसन्तपुरै ल्याइन्छ।

राष्ट्रप्रमुख, सरकारप्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरू कुमारी दर्शन र जात्रा हेर्न आउँछन्। सार्वजनिक विदा हुने दिन यही हो। धेरैलाई यही एकदिन मात्र इन्द्रजात्रा हो भन्ने भ्रम छ। जबकि, यो आठ दिन मनाइने काठमाडौंको सबभन्दा ठूलो पर्व र सबभन्दा ठूलो उत्सव हो। यी आठै दिनमा सहरभित्र हुने विभिन्न उत्सव र प्रदर्शन येँया पुन्हीका अभिन्न अंग हुन्।

भोलिपल्ट, अर्थात् जात्राको पाँचौं दिन काठमाडौंका उत्तरी वा माथिल्लो भागमा पर्ने टोलहरूमा रथयात्रा गरिन्छ। यसलाई ‘थःने’ भनिन्छ। यस दिन वसन्तपुरबाट प्याफल, नरदेवी, असन, इन्द्रचोक हुँदै वसन्तपुरमै ल्याइन्छ।

यी दुई रथयात्रा मार्गले पनि प्राचीन काठमाडौंका दुईवटा प्राचीन सीमा बुझाउँछन्। यसले त्यतिबेला काठमाडौं माथिल्लो र तल्लो गरी दुई भागमा विभाजित थियो भन्ने संकेत गर्छ। माथिल्लो हिस्सामा दरबार स्क्वायरबाट ठमेलसम्मको भाग पर्छ। त्यस्तै, तल्लोमा मरुबाट लगनसम्म। अहिले पनि काठमाडौंका बूढापाका माथिल्लो हिस्सालाई ‘थःने’ र तल्लोलाई ‘क्वने’ नै भन्छन्।

सहरको अहिलेको भौगोलिक नक्सामा यो विभाजन हराएको धेरै भयो। काठमाडौंका रैथानेको दैनिक बोलीचालीमा भने यो सहरी वर्गीकरण जीवित छ।

तल्लो र माथिल्लो टोलमा लगालग रथयात्रा गरेपछि दुई दिन विश्राम हुन्छ। त्यसपछि येँयाको अन्तिम दिन माथिल्लो भागको सानो खण्डमा रथयात्रा गरिन्छ। यसलाई ‘नानिचाया’ भनिन्छ।

यो पहिलेभन्दा छोटो हुन्छ। वसन्तपुरबाट सुरु भएर नरदेवी, भेडासिं, इन्द्रचोक, हनुमानढोका हुँदै वसन्तपुर ल्याइन्छ।

येँया पुन्ही, अर्थात् इन्द्रजात्रा एउटा उदाहरण मात्र हो। काठमाडौंमा यस्ता जात्रा, चाडपर्व र उत्सव सयौं छन्, जसले हाम्रो आधुनिक आवरणभित्र लुकेको सयौं वर्ष पुरानो सभ्यताको झलक दिन्छ। यी जात्रा र पर्वले हाम्रो सभ्यता जीवित राखेको छ।

काठमाडौं उपत्यकाको सहरी संरचना खडा गर्दा हाम्रा पुर्खाले एउटा इँटा पनि बिनाअर्थ राखेनन्। यहाँ हरेक डबलीको अर्थ छ। हरेक खुला स्थलको अर्थ छ। यस्ता डबली र खुला स्थल मासिनु भनेको हामीले आफ्नो संस्कृति र परम्परा जीवित राख्ने ठाउँ गुमाउँदै जानु हो।

यस्ता उत्सवले हाम्रो परम्परागत पहिचानलाई मात्र निरन्तरता दिँदैन, हाम्रो पुर्खाको पहिचान पनि पुनर्स्थापित गर्छ।

सहर भनेको भूगोल मात्र होइन। यहाँका बसोबासी, इतिहास, उनीहरूले मान्ने जात्रा, चाडपर्व र उत्सव हुन्। यी जात्रा र चाडपर्वले हामीलाई नेपालको गौरवपूर्ण इतिहासमा फर्काउँछ। सयौं वर्ष पुरानो सभ्यताको पहिचान स्थापित गराउँछ। यसलाई भोलिको पुस्ताको निम्ति जीवित राख्ने दायित्व हाम्रै हो।

(सम्पदा संरक्षणमा विद्यावारिधि लेखक महर्जन पोर्चुगलको डी इभोरा विश्वविद्यालयअन्तर्गत इतिहास, संस्कृति र समाज विभागमा अनुसन्धानकर्ता छन्।)

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
बुध, अशोज १०, २०७५ (September 26, 2018, 7:36 am) मा द्वारा कला/साहित्य अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै