‘कोभिड १९’ को सन्दर्भमा नेपाल सरकारले प्रत्येक विद्यार्थीका अभिभावक एक शिक्षक पनि हुन् भन्ने मान्यता ल्याएको देखिन्छ। चैत्र ५, २०७६ अघि पनि विद्यालय सञ्चालनका दिनमा दिनको करिब १८ घण्टा विद्यार्थीहरू घर-परिवारमै हुने गरेको र त्यस अवधिको गुरु घर-परिवारकै मूली वा अन्य सदस्यहरू रहनु हुन्थ्यो। विद्यालयको ६ घण्टाको तेब्बर समय घर- परिवारमै बित्ने हुँदा बालकको त्यतिबेला (अवधि) को कुशल शिक्षक अभिभावक नै रहने निर्विवाद छ र वहाँहरूबाट महत्वपूर्ण भूमिकाको अपेक्षा पनि गरिन्छ।
अझ जन्मेदेखि नै ‘पहिलो पाठशाला’ को रूपमा रहेको घर (परिवार) रहने र समाजको आधारभूत एकाई पनि परिवार हुने हुँदा परिवार प्रमुख (House Hold Head) र अन्य सदस्यहरू शिक्षक हुने तथा अरू विषयको शिक्षक नभए पनि ‘सामाजिक अध्ययन वा शिक्षा’ शिक्षक हुन अनिवार्य छ। यहाँ उक्त सामाजिक अध्ययन विषयको शिक्षकले आफ्ना नानी- बाबुहरूका लागि गर्नुपर्ने सम्भावित कार्य ( विषयवस्तु) हरूलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ। निकट भविष्यमै अभिभावक बन्न गई रहनु भएकालाई पनि यसले सघाउ पुगाउने अपेक्षा गरिएको छ, जुन निम्न छन्:
१) आफ्नो व्यवहारलाई अनुकरणीय बनाउनु होस्- बच्चाले जे देख्छ,सुन्छ त्यहि सिक्छ।
२) वर्ग विभेद नगरी ( स्वास्थ्यको ख्याल राख्दै) जुनसुकै समूहका समवयी नानीबाबुसँग खेल्न दिनुहोस्- यसले मांशपेशी लगायत शारीरिक विकास, मानसिक-संवेगात्मक-सामाजिक विकास गराउँछ साथै मानव-मानवबीचको विभेदलाई हटाउन मद्दत गर्छ।
३) घरका सदस्यबीच लिङ्गीय र छुट्टै क्षमता भएका (Differently Abled People) कोही भए विभेद देखिने कुनै काम नगर्नु होस् तर समानता र निष्पक्षतामा ध्यान दिनु होस्।
४) तपाईं आफैंबाट जात-पात,भेग,सम्प्रदाय सम्बन्धि भेदभाव हटाउने प्रयास गर्नुहोस् तर बालबालिकालाई यसको वातावरणको सुइँको पनि नदिनुहोस् वा यसको छायाँबाट टाढै राख्नुहोस्।
५) बच्ची-बच्चालाई परनिर्भर (Dependent) बाट आत्मनिर्भर (Independent) र स्वाबलम्वी बन्न सिकाउनु होस् ; बाल-श्रम ( Child-Labour) नगराउनु होस् तर बाल-कार्य (Child-Work) हरू जस्तै: दाँत माझ्ने,आफैं खाना खाने, नुहाउने, घरका सक्ने साना काम ( पढाइबाट फुर्सद भएका बेला) सिकाउनु/गराउनु होस्।
६) कामको वर्गीकरणबारे जानकारी दिनु होस् तर कुनै पनि काम ठूलो/सानो हुँदैन, समाज विकासको लागि सबै कामको उत्तिक्कै महत्व रहेको समेत बताउनु होस्।
७) सबै बिचारको विश्लेषण/संश्लेषण गर्नुहोस्/गराउनु होस्।काँचो माटोका रूपमा रहेका नानी-बाबुहरूलाई विकसित समाजको लागि आवश्यक भाँडो बनाउन प्रयास गर्नुहोस्।आफूले आफ्नै सामाजिक परिवेशमा लिएको बिचार उसलाई नलाद्नु होस् किनकी ऊ परिपक्व हुनासाथ तपाईँको बिचार राम्रो भए उसले पछ्याई हाल्छ तर नराम्रो भएमा तपाईं पर निर्भर हुने बेलामा उसले तपाईँको आलोचना गर्नेछ, जुनकुराले तपाईँलाई नैराश्यता ल्याउनेछ,जुन राम्रो होईन।
८) उत्पादन प्रणाली ( नेपालको सन्दर्भमा मूलत:कृषि)मा नानी-बाबुलाई सानै देखि बानी पार्नुहोस्, पढ्दैमा खेतमा पस्नु हुँदैन भन्ने नकारात्मक चिन्तन हटाउन छलफल र अभ्यास गराउनु होस्।कृषिले परनिर्भरतालाई न्यूनीकरण गर्ने कुरा छलफलमा ल्याउनु होस्।आफैंसँग रहेको ( यदि छ भने) वारि,खेत, फूलबारी,करेसाबारी उनीहरूलाई बाँडफाँड गरी ( सानो मात्रामा) प्रतिस्पर्धा गराई उत्पादनको मूल्याङ्कन पनि गरि भविष्ययमा अझ राम्रो गर्न अभिप्रेरित गर्नुहोस्।
९) घरमा छलफल/अन्तरक्रियाको वातावरण बनाउनु होस्, मन्थन गर्नुहोस्,घरमै छलफल भए बाहिरको गलत सूचना (यदि भए)ले उनीहरूलाई प्रभाव पार्दैन।
१०) आफ्नो बच्चाको शारीरिक- मानसिक क्षमता, चाहना अनुसार र आफ्नो आर्थिक अवस्थालाई ध्यान दिँदै विषय छनौटबारे छलफल चलाई पढ्ने विषयको बारे निर्णय लिनुहोस्।डाक्टरको छोरो डाक्टर नै हुनुपर्छ भन्ने मिसेल फुको (Michel Foucault) को पिताले चाहेको तर मिसेल चाहिँ समाज शास्त्री भएर नाम कमाएको कुरोलाई नबिर्सौं।
११)अहिलेको सबैभन्दा जल्दोबल्दो समस्याका युवाहरू कुलतमा लाग्ने, नराम्रा कामहरूमा सहभागी हुनेजस्ता देखिएका छन्।आफ्ना बच्चालाई मूर्खहरूको ‘राजा’ होइन, बरू विद्वानको ‘ ‘कमारो’ बन्नतिर र झिङ्गाहरूको सङ्गतमा लाग्दा फोहर पनि राम्रो देखिने तर मौरीको सङ्गत गरे सफा मात्रै मन पराउने हुनाले मौरीको सङ्गत गराउनतिर अभिप्रेरित गर्नुपर्छ।आफ्ना नानी-बाबुलाई उसको राम्रो साथीसँग उठ-बस गराउनतिर अहिल्यै देखि नै लाग्नु र लगाउन आवश्यक छ। आदि।
माथिका भूमिकाहरू एक्लै अभिभावकले मात्र गर्न नसकिने पनि हुन सक्छन्। त्यसैले सामाजिक समूह ,क्लब,सामुदायिक-गैर्ह सरकारी-सरकारी सङ्घ संस्थाहरू (CBOs, NGOs,GOs)ले पनि यस्ता कामहरूमा चासो लिनु पर्छ र सघाउनु पर्छ। अन्य खेलकूद प्रतियोगिताका अतिरिक्त बाली रोप्ने,हुर्काउने, बाली काट्ने प्रतियोगिताहरूले आत्मनिर्भरता बढाउनुका साथै काम सानो/ठूलो हँदो रहेनछ भन्ने भाव दिन क्लब, विद्यालय, नीय सरोकार समूहले यस्ता प्रतियोगिताहरू गर्न सक्नु पर्छ। अभिभावक बिहीन, आर्थिक अवस्था दयनीय भएका र कम-पठित अभिभावकहरू विद्यालय र स्थानीय सरकारले पहिचान गरी सहयोग कार्यक्रमहरू पनि सञ्चालन गर्न र अभिभावकत्व लिन आवश्यक देखिन्छ।
- कोमल प्रसाद अधिकारी