पछिल्लो पाँच वर्षमा वैदेशिक रोजगारीमा गएका ४ हजार १ सय ५३ जना कामदारले विदेशी भूमिमा ज्यान गुमाएका छन् । पैसा कमाएर आफ्नो र परिवारको जीवन सुखमय बनाउने सपना बोकेर गएका उनीहरू शव बनेर फर्किएका हुन् । त्यसको बदलामा राज्यले भने पाँच वर्षमा ३६ खर्ब ११ अर्ब रेमिट्यान्स भित्र्याएको छ । यसलाई आधार मान्दा हरेक दिन वैदेशिक रोजगारमा गएका कम्तीमा दुई युवाको शव मुलुकमा भित्रन्छ । त्यसको बदलामा राज्यले दिनको औसत २ अर्ब रेमिट्यान्स भित्र्याइरहेको छ ।
५ वर्षको अवधिमा नेपालबाट २१ लाख ७२ हजार ५ सय १० युवा विभिन्न मुलुकमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आव ०७५/७६ मा मात्रै ५ लाख ८८ हजार ८२८ नेपाली काम गर्न विभिन्न मुलुक गएका छन् । सो अवधिमा ८ खर्ब ७९ अर्ब रेमिट्यान्स भित्रिँदा ७ सय ५३ कामदारले ज्यान गुमाएका छन् ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार मलेसिया नेपाली कामदारको पहिलो गन्तव्य हो । र, वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा बढी युवाको मृत्यु हुने मुलुक पनि मलेसिया नै हो । विगत ५ वर्षमा मलेसियामा मात्रै १ हजार ५ सय ३७ कामदारले ज्यान गुमाएका छन् । यो अवधिमा ३ खर्ब ९२ अर्ब रुपैयाँ रेमिट्यान्स मलेसियाबाट आएको छ ।
त्यस्तै, साउदी अरेबियामा १ हजार १ सय ४७ जना, कतारमा ७ सय ७, युएईमा ३ सय ३७, कुवेतमा १ सय ४५, कोरियामा ७६, बहराईनमा ४८ र जापानमा १२ जनाले ज्यान गुमाएको तथ्यांक वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको छ ।
पाँच वर्षको अवधिमा यी ८ मुलकमा ४ हजार ९ जना कामदारले ज्यान गुमाएमा छन् । ती मुलुकबाट सरकारले २१ खर्ब ४६ अर्ब रुपैयाँ रेमिट्यान्स भिœयाएको छ ।
५ सय ४५ जना जेलमा २५ जनालाई मृत्युदण्डको सजाय
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका नेपाली कामदारमध्ये ५ सय ४५ जना विदेशी जेलमा छन् । तीमध्ये १९ जना महिला रहेको बोर्डको तथ्यांक छ । जेलमा रहेकामध्ये १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । तीमध्ये मलेसियामा १६ जनालाई मृत्युदण्ड सुनाइएको छ । साउदी अरब रियादमा ५ जना, कुवेतमा ३ र युएईमा १ जनालाई मृत्युदण्ड सजाय तोकिएको छ ।
विदेशी जेलमा रहेकामध्ये ७ जनालाई आजीवन कारावासको सजाय भएको छ । त्यस्तै, २ जनालाई २५ वर्ष र २ जनालाई १५ वर्ष, ५ जनालाई १४ वर्षसम्मको सजाय सुनाइएको छ । त्यस्तै १९ जनालाई १० वर्षसम्मको र १ जनलाई ५ वर्षसम्मको सजाय दिइएको छ । ४४ जनालाई १ वर्षसम्मको र ७५ जनालाई ३ महिनासम्मको सजाय तोकिएको छ । २ सय ९३ जना कामदार फैसलाको पर्खाइमा छन् ।
सबैभन्दा बढी मलेसियाको जेलमा
विदेशी जेलमा रहेका कामदारमध्ये सबैभन्दा बढी नेपाली मलेसियाको जेलमा २ सय ५ जना छन् । युएईमा १ सय ८५ जना, कुवेतमा ५८ जना, कतारमा ३५, साउदी अरबको जेद्दामा ३१, साउदी अरबकै रियादमा २३, बहराइनमा ५ र ओमानको जेलमा ३ जना कामदार छन् ।
वैदेशिक रोजगारीमा गएकामध्ये २४ जना कामदार विभिन्न मुलुकमा कोमामा नै छन् । जसमध्ये ३ जना महिला छन् । बोर्डको तथ्यांकअनुसार कुवेत, युएई, ओमन, साउदी अरब, कतार, बहराइन र जापानमा कामदार अचेत अवस्थामा छन् । तथ्यांकअनुसार कतारमा सबैभन्दा बढी ९ जना कोमामा छन् । साउदी अरब रियाद र बहराइनमा ४–४ जना कोमामा छन् । कुवेतमा ३, युएई, ओमान, साउदी अरब जेद्दा र जापानमा १–१ जना कोमामा छन् । कोमामा रहेकामध्ये १८ जना पूर्णरूपमा अचेत अवस्थामा छन् । २ जना अर्धचेतन अवस्थामा छन् । ४ जनाको अवस्था सुधार हुँदै गएको छ ।
३ सय ८८ कामदार हराए विदेशमै
वैदेशिक रोजगारीका लागि दैनिक करिब १ हजार ५ सय नेपाली बिदेसिन्छन् । तर, कति कामदार बेपत्ता भए भन्ने यकिन तथ्यांक कतै पनि छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डसँग पनि यस्तो तथ्यांक छैन । प्रवासी नेपाली समन्वय समितिमा बेपत्ता भएका कामदारको खोजी गरिदिन भनेर ३ सय ८८ वटा निवेदन परेको छ । त्यही आधारमा ३ सय ८८ नेपाली कामदार हराइरहेको भन्न सकिन्छ । तीमध्ये ७५ महिला छन् । समितिको तथ्यांकअनुसार मलेसियामा २ सयजना कामदार हराएका छन् । साउदीमा ६७, कुवेतमा ४६, युएईमा २३, कतारमा २२ र अन्य मुलुकमा ३० जना कामदार हराएका छन् । नयाँ पत्रिका बाट
