पूर्वप्राथमिक शिक्षामा शोषण कहिलेसम्म ?

कोठाको एक कुनामा प्लास्टिकको सानो चिप्लेटी छ। दुईवटा ढिकीच्याउँ छ। एउटा गुड्ने गाडी छ। भित्ताभरि चित्र कोरिएका चार्ट टाँसिएको छ। सिलिङमा निकै मेहनत गरेर तयार पारिएका रंगीचंगीका कागजका आकृति झुन्ड्याइएको छ। त्यही कोठाको मध्य भागमा तीनदेखि पाँच वर्ष उमेर समूहका केटाकेटीहरू ससाना मेचमा बसेका छन्। कोठाको अर्को कुनामा सानो ह्वाइट बोर्ड राखिएको छ। ह्वाइट बोर्डमा कालो मार्करले विभिन्न आकृति बनाउँदै, देखाउँदै, सिकाउँदै गरिरहेकी देखिन्छिन्, मिस डोल्मा लामा।

यो नेपाल सरकारको अवधारणामा निर्मित पूर्व प्राथमिक शिक्षाको एउटा कक्षाकोठा हो र डोल्मा मिस हुन् सहयोगी कार्यकर्ता। डोल्मा मिस ती केटाकेटीसँग दैनिक लगातार पाँच घन्टा समय बिताउँछन्। यसरी दैनिक लामो समय ती केटाकेटीसँग घुलमिल हुँदा उनीहरूबारे ससाना जानकारी राखेकी छन् उनले। कतिबेला भोक लाग्छ ? शौचालय कतिखेर पठाउने ? कतिखेर खेल्न दिने ? कतिखेर सिकाइ गर्ने ? कुन बच्चामा कस्तो समस्या छ ? तिनीहरूको सरसफाइको अवस्था कस्तो छ ? तिनीहरूको गुनासोलाई कसरी सम्बोधन गर्ने ? यावत् विषयमा उनी अभ्यस्त भइसकेकी छन्।

केटाकेटी पनि डोल्मा मिसको काखमा लडिबुडी गर्दै कक्षामा रमाइरहन्छन्। कारणवश कुनै दिन उनीहरूको मिस अनुपस्थित हुँदा उदास हुँदै सोध्छन्— हाम्रो मिस खोइ ? यसरी बालबालिका र शिक्षकबीच आत्मीयता स्थापित हुनु सामान्य होइन। शिक्षक भन्नासाथ विद्यार्थी डराउने, अगाडि पर्नै नखोज्ने प्रवृत्ति अझै पनि छ्याछ्याप्ती भेटिन्छ। पूर्वप्राथमिक शिक्षाको अवधारणाले भने त्यो पुरानो प्रवृत्ति हटाउँदैछ। यसरी दिनभरि एउटै कक्षामा बसेर बालबालिकाको मनोविज्ञान बुझी उनीहरूको सामाजिक, भावनात्मक, संवेगात्मक, शारीरिक तथा मानसिक विकासमा लागिपर्ने यस्ता सहयोगी कार्यकर्ता नेपालभरि तीस हजारभन्दा बढी छन्।

मन्टेश्वरी अवधारणाबाट प्रभावित भएर नेपाल सरकारले समुदायमा आधारित बालकक्षा अर्थात् पूर्वप्राथमिक विद्यालय सञ्चालनमा ल्याएको एक दशक बढी भइसकेको छ। निजी विद्यालयमा मन्टेश्वरी भनेजस्तै सामुदायिक विद्यालयमा बालकक्षा हुन्छ। प्राथमिक तहमा भर्ना हुनुपूर्व त्यसको आधारभूमि तयार पार्न यस्ता कक्षाले ठूलो सहयोग गर्छन्। यसले गर्दा प्राथमिक तहमा विद्यालय छोड्ने दरमा कमी ल्याउन मद्दत पुगेको छ। बालबालिकामा कल्पनाशीलता, सिर्जनशीलता विकास गरी आगामी शिक्षा ग्रहणका लागि पूर्वप्राथमिक कक्षाको भूमिका अतुलनीय हुन्छ।

बालबालिकाका लागि पहिलो विद्यालय घर हो। आमाको काखको न्यानो छाडेर पहिलोपटक घरबाहिरको विद्यालय जाँदा उनीहरूमा उत्सुकता कम र डर बढी हुन्छ। केटाकेटीमा भएको डर हटाएर माया, ममता र मनोरञ्जनात्मक वातावरण दिने काम यिनै सहयोगी कार्यकर्ताले गर्छन्। कतिपय केटाकेटी आक्रामक प्रवृत्तिका पनि हुन्छन्। सहयोगी कार्यकर्ताले त्यस्तो आक्रमक स्वभावलाई नियन्त्रण गरेर सामाजिक बनाउन हरसम्भव प्रयास गर्छन्। यसका लागि संयमताको खाँचो हुन्छ। यो निकै जटिल कार्य हो। यस प्रकारको भूमिका महिलाले बढी प्रभावकारी ढंगबाट निभाउन सक्छन् भन्ने मान्यता छ। त्यसैले सहयोगी कार्यकर्तामा अधिकांश महिला शिक्षक नियुक्ति भएका छन्। तर यिनै सहयोगी कार्यकर्ताको अवस्था भने निकै नाजुक छ।

नेपाल सरकारले सहयोगी कार्यकर्ताको भूमिकालाई नजरअन्दाज गरेर उनीहरूको श्रम शोषण गरिरहेको छ। नेपालमा हाल प्राथमिक तृतीय तहका शिक्षकको तलब-भत्ता मासिक रु. २२ हजार एक सय ७० छ। तर सहयोगी कार्यकर्तालाई मासिक रु. ६ हजार दुई सय मात्र दिइन्छ। यो तलब विद्यालयका परिचरको भन्दा एक हजार तीन सय रुपैयाँले कम हो। प्राथमिक शिक्षकको भन्दा तीन गुणा कम पारिश्रमिक हो। हिसाब गर्दा सहयोगी कार्यकर्ताको भागमा दैनिक दुई सय ६ रुपैयाँ मात्र आउँछ। अहिले सामान्य मजदुरी गर्नेको ज्याला दैनिक ६ सयदेखि आठ सयसम्म छ। यसरी हेर्दा यो ठूलो श्रम शोषण हो।

अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार श्रमिकको न्यूनतम पारि श्रमिक मासिक १३ हजार रुपैयाँ हुनुपर्छ। निजी विद्यालयको हकमा समेत यहि नियम लागू गर्न राज्यले जोड गर्छ। तर राज्य आफैंले अन्तर्राष्ट्रिय रूपमै तोकिएको नियमविपरीत गएर श्रम शोषण गरिरहेको छ। के यो राज्यको नीतिभित्र कायम रहेर तोकिएको पारि श्रमिक हो ? यस विषयमा प्रश्न उठाउँदा आधिकारिक व्यक्तिहरू भन्छन्— ‘सामाजिक सेवाले अभिप्रेरित शिक्षित व्यक्तिले यो भूमिका (सहयोगी कार्यकर्ता) निर्वाह गर्ने हो। त्यसैले यो विद्यालय समुदायलाई नै जिम्मा दिइएको हो। फेरि यो कक्षा दसदेखि दुई बजेसम्म मात्र सञ्चालन गर्ने हो। त्यसपछि त्यो शिक्षक अन्य काममा लागेर आयआर्जन गर्न सक्छ।’

मासिक रूपमा मोटो तलब खाने अधिकारीहरूले दिने यस्तो जवाफ गैरजिम्मेवारीपनको उदाहरण हो। जीवन आदर्शवान् हुनुपर्छ, तर आदर्शले मात्रै जीवन चल्दैन। सहयोगी कार्यकर्ताले पनि त बाँच्नुपर्छ। भोको पेटमा उसले सामाजिक सेवा कहिलेसम्म र कतिसम्म गर्ने हो ? के राज्य सधैं स्वंयसेवक शिक्षकका भरमा पूर्वप्राथमिक विद्यालय सञ्चालन होस् भन्ने चाहन्छ ? केही समयलाई स्वंयसेवा गरे पनि अनुभवी भएपश्चात् ऊ त्यही भूमिकामा रहिरहन्छ भन्ने कुनै ग्यान्टी छ ? त्यसो भए पटक-पटक स्वंयसेवक परिवर्तन गरिरहने हो ? केटाकेटीहरू यसरी परिवर्तन भइरहने शिक्षकहरूसंग कसरी घुलमिल हुन सक्छन् ? उनीहरूबाट अपेक्षाकृत सिकाइ होला ? आखिर राज्यले कस्तो शिक्षाको वकालत गरिरहेको छ ?

पूर्वप्राथमिक तहमा लामो समय सहयोगी कार्यकर्ताका रूपमा काम गर्नेहरू बालबालिकासँग घुलमिल भई सिकाइ गर्न अभ्यस्त हुन्छन्। त्यसैले पनि उनीहरूको स्थायित्व आवश्यक हुन्छ। केटाकेटीको कलिलो मस्तिष्कलाई सही मार्गनिर्देशन दिएर प्राथमिक तहको शिक्षा लिन परिपक्व बनाउने भूमिकाको मूल्यांकन खोइ ? के यो सहज कार्य हो ? जति सानो कक्षामा शिक्षण गर्‍यो त्यति नै थोरै पारि श्रमिक दिनुपर्छ भन्ने मान्यता राख्नेले बुझ्न जरुरी छ, शिक्षाको आधार निर्माण गर्नु जत्तिको चुनौतीपूर्ण कार्य अरू हुन सक्दैन।

यही तहमा हो बालबालिकाको संज्ञानात्मक, भावनात्मक र क्रियात्मक विकास गर्ने। यसको लागि दक्ष, अनुभवी, तालिमप्राप्त सहयोगी कार्यकर्ताको भूमिका महत्वपूर्ण हुन्छ। विकसित मुलुकमा तल्लो कक्षामा पढाउने शिक्षकले उच्चस्तरको पारि श्रमिक पाउँछन्।

नेपालमा यसको ठीक विपरीत छ। यो प्रवृत्ति सामुदायिक विद्यालयमा मात्र नभई निजी विद्यालयमा पनि छ। त्यसमाथि राज्य यति गैरजिम्मेवार छ, एकपटक पूर्वप्राथमिक विद्यालय सञ्चालनको अनुमति दिएपछि आफ्नो सम्पूर्ण जिम्मेवारी सकिएको अनुभव गर्छ।

राज्यले न त्यस्ता कक्षाको भौतिक पूर्वाधारमा सुविधा उपलब्ध गराउँछ न ती शिक्षकको क्षमता अभिवृद्धिमा ध्यान राख्छ। अहिले सञ्चालनमा भएका पूर्वप्राथमिक कक्षाको व्यवस्थापन विद्यालय आफैंले गर्नुपर्ने बाध्यता छ। त्यसका लागि विद्यालयले कि शुल्क उठाउँछन् कि दाता खोज्दै हिँड्छन्। वर्षको दुई दिन सहयोगी कार्यकर्तालाई पुनर्ताजगी तालिम दिएर राज्यले शिक्षाका लागि ठूलै काम गरेको दाबी गर्छ। यसरी बेथितिपूर्वक सञ्चालित पूर्वप्राथमिक तहलाई समयमै व्यवस्थित गर्नतिर राज्य सचेत हुन अबेर भएन र ?

हाइलाइट

प्राथमिक विद्यालय नपुग्दै बालबालिकालाई सिकाइमा अभिप्रेरित गर्न तल्लीन सहयोगी कार्यकर्तालाई राज्यले न्यूनतम पारि श्रमिक पनि नदिएर श्रम शोषण गरिरहेछ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
शुक्र, अशोज १९, २०७५ (October 5, 2018, 12:18 pm) मा द्वारा Uncategorized अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै