कविता
न जोगाउन मनलाग्छ पेट, न समाल्न मन लाग्छ बेड
मृत्युमा मेरो नझरोस आँसु कसैको,
खसाल्न आँसु त साँचिएको हुनु पर्छ,
कसलाई घाटा के को हुन्छ यो नोक्सानीमा,
मुल्य आँसुको बुझ्न त दिल भाँचिएको हुनु पर्छ ।
जीवन छोटो छ मलाई रहनु छैन यहाँ,
अस्ताएर उधाउनु छ पर लोकमा जहाँ,
पीडा छैन दर्द छैन कसैको खिलाफमा केही छैन,
अब त झन बोझिलो लाग्छ नरलोकमा यहाँ ।
प्यारो हुनुछ लुटुपुटु गर्नु छ काखमा कसैको,
जहाँ अनन्त सम्म शिर ढ्ल्काउन मन हुन्छ,
अहंकार म मा के को यो माटोको स्वरुप,
टुक्राटुक्रा पारेर यसलाई मिल्काउन मन लाग्छ ।
आज भोलि फोस्रो आशा संसारमा के को?
लानु छैन मलाई केही पनि यहाँको,
म त खाली आँए खालीनै जानेछु,
खाली भएर गए पो भरिन्छ थोकले त्यहाँको ।
भ्रममा मेरो तेरो गर्दा गर्दै गएछ जुनी,
न त मेरोलेनै न त तेरोलेनै दियो खुसी ,
अब मलाई चाहिदैन मञ्च नाटक गर्नलाई,
तयार भै सकें म त यो लोक बाट उ लोक सर्नलाई ।
मेरो परिश्रम यहाँ बेकारको पो रहेछ,
अनन्त सम्म रहने भोज जुटाउनु पर्नेमा,
बिहान बेलुकीको पेट र बेडमै सखाप भएछ,
न जोगाउन मनलाग्छ पेट, न समाल्न मन लाग्छ बेड ।
- एन. पी. खतिवडा
