कविता
हिजो आज र भोलि
हिजो
देशमा द्वन्द भयो
भय र त्रासले
गाउँ रित्तिंदै गयो
मानवता सिद्दिंदै गयो
कलह बढेर।
उर्जा बोकेको युवा
दिशाविहीन भयो
बिचलित हुंदै
शहर भित्रिंदै गयो
सलह बनेर।
युवाको उर्जा
न नेताले छाम्यो
न शहरले थाम्यो
अनि एकाएक
विदेश पलायन भयो
निरिह बनेर।
*****
आज
कोरोना फैलियो
विदेशको युवाले
स्वदेश सम्झियो
अनि शहरको युवा
गाउँ फर्कियो
संयमित बनेर।
फेरी उसैगरी
पुल भाँचिए
तुइन काटीए
छोटे सरकारहरु
दिग्भ्रमित बनेर।
आफ्नै भाइ बहिनी
आफ्नै छोरा छोरी
बन्धनमा पारियो
वा भोकै छाडियो
संक्रमित भनेर।
*****
भोलि
उसैगरी फर्केर
त्यो दिन नआओस्
गाउँको युवा
शहर नजाओस
शहर छोडेर
विदेश नधाओस्
बिचलित बनेर।
स्वर्ग जस्तो देश
अभावमा नखसोस्
स्वतन्त्र राज्य
प्रभावमा नफसोस्
शाशन व्यवस्था
स्खलित बनेर।
पुन: एक पटक
गाउँ शहर बनोस्
शहर रहर बनोस्
युवाको जाँगरले
देश चम्कियोस्
सुसज्जित बनेर।
- डा. हरि अधिकारी
