Naya Media
बिहिबार, जेष्ठ ७, २०८३
| | May 21, 2026
बिहिबार, जेष्ठ ७, २०८३

मोबाइलमै बैंक, स्क्रिनमै जोखिम, तपाईको सुरक्षा तपाइकै हातमा

इन्द्र बहादुर चलाउने सोमवार, मंसिर ८, २०८२
काठमाण्डौ ।

नेपालमा डिजिटल बैंकिङको विस्तारले वित्तीय क्षेत्रलाई नयाँ दिशातिर धकेलिरहेको छ। केही वर्षअघिसम्म बैंकको काउन्टरमै निर्भर हुनु पर्ने सेवाहरू आज मोबाइलको सानो स्क्रिनमै अटाइदिन्छन्। भुक्तानीदेखि बचत, लगानीदेखि कारोबार-सबै कुरा अब अनलाइनबाटै सम्भव भइसकेका छन्। सुविधा नजिकिँदै जाँदा मानिसको जीवन सहज हुँदै गएको छ। तर यति धेरै सहजताबीच एउटा अदृश्य डर पनि विस्तारै ठूलो बन्दै गएको छ-साइबर जोखिमको डर।

डिजिटल सेवा बढेसँगै आक्रमणका शैली पनि परिमार्जन हुँदैछन्। कसैको फोनमा ‘‘तपाईंको ATM ब्लक भयो’’ भन्ने आवाज आउँछ, कसैलाई बैंककै नाममा आएको जस्तो देखिने लिंक पठाइन्छ, कतै नकली QR कोड टाँसेर प्रयोगकर्ताको पैसा उडाउन खोजिन्छ। यस्तो देखिँदा प्रश्न उठ्छ-डिजिटल नेपालको यात्रा सहज मात्र हो कि जोखिमको नयाँ अध्याय पनि हो ?

साइबर अपराधका धेरै घटना त्यसरी भित्रिन्छन्, जसको संकेत न क्लिकले दिन्छ, न स्क्रीनले। एकपटक गलत लिंक थिचियो भने, महिनौँको परिश्रमले जम्मा गरेको रकम केही सेकेन्डमै हराउन सक्छ। कतिपय पीडित ग्राहकहरू बैंक–बैंक धाउँदै ‘‘कहाँ गल्ती भयो ?’’ भन्ने प्रश्नमा रोइरहन्छन्। प्रविधिले जीवन सजिलो बनाएको छ, तर एउटा सानो चेतनाले जीवनभरको कमाइलाई जोगाउने वा गुमाउने निर्णय गर्छ ,यो कठोर यथार्थ हो।

यही जोखिमलाई नियमन र नियन्त्रण गर्न सरकारले विद्युतिय कारोबार ऐन, २०६३ मार्फत डिजिटल लेनदेनको कानुनी सुरक्षा, साइबर अपराधको परिभाषा र सजायका आधारहरू तय गरिसकेको छ। अनाधिकृत पहुँच, डेटा चोरी, ह्याकिङ, ठगीजस्ता कार्यलाई कानूनले स्पष्ट रूपमा अपराध मानेर दण्डको व्यवस्था मिलाएको छ। तर अपराधीको शैली बदलिँदै जाने भएकाले ऐनले दिएको कानुनी ढाँचा पनि निरन्तर अद्यावधिक हुँदै जानुपर्ने आवश्यकता आज झन् तीव्र देखिन्छ।

बैंक तथा वित्तीय संस्थाहरू पनि चुप लागेर बसेका छैनन्। सुरक्षा प्रणाली मजबुत बनाउन उनीहरूले ठूलो लगानी गरेका छन्-२४ घण्टा निगरानी गर्ने सुरक्षा केन्द्र, अनधिकृत गतिविधि पत्ता लगाउने प्रविधि, कडाइका साथ लागू गरिएका प्रमाणीकरण प्रणाली। तर साइबर अपराधीको दिमाग यति छिटो प्रगतिशील छ कि सुरक्षा कहिल्यै पूर्णरूपमा ‘समाप्त भयो’ भन्न सकिँदैन। सुरक्षा आजको होइन, हरेक दिनको काम हो।

डिजिटल बैंकिङले देशको वित्तीय पहुँच अभूतपूर्व रूपले बढाएको छ। तर विस्तार मात्र पर्याप्त हुँदैन—सुरक्षासँगैको विस्तार नै टिकाउ हुन्छ। सामान्य प्रयोगकर्ताले पनि अब ‘‘मैले कसैलाई OTP दिन्न’’, ‘‘असुरक्षित लिंकमा क्लिक गर्दिन’’ भन्ने आधारभूत सचेतता दैनिक व्यवहारमा उतार्नैपर्ने समय आएको छ। बैंकले सुरक्षा दिन्छ, तर सबैभन्दा पहिलो सुरक्षा भनेको प्रयोगकर्ताको सावधानी नै हो।

अन्ततः डिजिटल नेपालको सुन्दर सपना सुरक्षित प्रयोगमा टिकेको छ। सुविधा छ तर सावधानी बिना त्यो सुविधा जोखिममा बदलिन सक्छ। अहिलेको प्रश्न डिजिटल कारोबार कत्तिको छिटो छ भन्ने होइन, कत्तिको सुरक्षित छ ?

यो उत्तर बैंकले मात्र होइन, हरेक प्रयोगकर्ताले पनि मिलेर दिनुपर्ने बेला आएको छ।

इन्द्र बहादुर चलाउने
शाखा प्रमुख
एनएमबी लघुबित्त बित्तिय संस्था लि.

# इन्द्र बहादुर चलाउने # डिजिटल कारोबार # मोबाइल बैङ्किङ

Writer Image

इन्द्र बहादुर चलाउने

चलाउने एनएमबी लघुबित्त बित्तिय संस्था लि. मा शाखा प्रमुखको रुपमा कार्यरत छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.