Kanoon Post
बिहिबार, अशोज १७, २०८१ | October 3, 2024 |
बिहिबार, अशोज १७, २०८१

“नेता कार्यकर्ताले आफुमा भएको दाशरुपी साङ्लोलाई भत्काउनुपर्छ”

काठमाण्डौ ।

राजनीतिक दल र नेता-कार्यकर्ताबारे चर्चा गर्दा सामान्यतः दल र राज्यका अवयवलाई एकै किसिमले हेर्ने अभ्यास सार्वजनिक बहसमा हावी छ। दल र समाजबीचको अन्तरसम्बन्धलाई सगोलमा चर्चा गर्ने गरिन्छ। दलीय संगठन, तिनका नेता-कार्यकर्ताको राज्यसंग अन्योन्याश्रित सम्बन्धलाई कतिपय अवस्थामा एउटै ठान्ने चलन छ। राज्य र समाजबीचको सम्बन्ध अनि त्यसमा राजनीतिक दलको भूमिका जेलिएको छ। यस्ता अन्तरनिहित सम्बन्धले उब्जाएका प्रभाव र दुष्परिणामबारे गहन बहसको अभाव छ। त्यसैले लोकतान्त्रीकरणका चुनौतीबारे पनि सार्वजनिक वृत्तमा सताब्दीयौँ अगाडी देखिका बहसहरु हुने गर्छन् ।

क्रान्ति-मोर्चामा होमिनुपर्ने, अग्र-दलले नेतृत्व गर्दा केन्द्रीकृत लोकतन्त्रको अभ्यास गर्ने तथा पूर्णकालीन क्रान्तिकारीले बीसौं शताब्दीमै समाजवाद हासिल गर्न सक्ने विचारले व्यापकता पायो । यही विचारमा आस्था राख्नेले ढिलोचाँडो दीनहीनको मुक्ति हुन सक्ने विश्वासमा त्याग र बलिदानको बाटो रोजे । हिंसाको जगमा खडा भएको राज्यले अन्याय र विभेदलाई संस्थागत गरेको छ । त्यस्तो सत्ता परिवर्तन गर्न हिंसात्मक संघर्ष अपरिहार्य हुन्छ भन्ने मान्यता उनीहरूमा प्रबल रह्यो ।

नेपालका बिभिन्न राजनीतिक धार त्यसबेलाको वैश्विक परिवेशबाट प्रभावित थिए । त्यस्तै ती दलको सांगठनिक स्वरूप र आन्तरिक क्रियाकलापमा पनि धेरथोर आयातीत अभ्यास हाबी थियो । त्यसैले बीसौं शताब्दीको समाजबाद र पुँजीवादको काल्पनिकीले नेपालको राजनीतिक परिवेशलाई लामो समय प्रभावित गर्यो । अझै गरिरहेको छ ।
यो ऐतिहासिकतालाई नजरअन्दाज गर्नासाथ एकातर्फ पञ्चायतकालीन राजसी स्वार्थको फन्दामा प्रजातन्त्र आयातीत देखिन्छ । माटो सुहाउँदो देखिदैन । राजाले मात्र राष्ट्रको रक्षा गर्न सक्ने दृष्टिकोण बलशाली बन्छ । सके कमल थापा शैलीमा ‘राजा आऊ देश बचाऊ’ भनिन्छ । अर्कोतर्फ ०४६ पछिको समाज झन् पतीत र भ्रष्ट भयो, राजनीतिक नेता-कार्यकर्ताले राष्ट्रलाई वर्वाद गरिरहेका छन् भनियो ।

“दलहरु समाज रुपान्तरणकोसंवाहक हुन सकेनन्। न परिवर्तनकारी शक्ति नै भए ।”

राजनीतिक दलका नेता र कार्यकर्ता भ्रष्ट छन्, दलीय संगठनमा आन्तरिक पारदर्शिता र लोकतन्त्रको अभ्यास छैन, भौतिक भोगविलासमा फसेका नेता-कार्यकर्ता लोकतन्त्र र सुशासनका लागि बाधक बनेका छन् । सापकोटाले जे लेखे, सतहमा देखिने त्यही हो । तर वास्तविकता धेरै जटिल छ, जसको जडसम्म पुग्न आवश्यक छ ।

आधारभूत रूपमा बिभिन्न पार्टीहरुले राख्दै आएका राजनीतिक दृष्टिकोण स्थापित गर्न सघाउँछन् । वैदेशिक सहयोगमार्फत दाताहरूले भनिरहेको तर्कलाई समेत मलजल गर्छ । यस्तो मान्यताले भन्छ, दलका नेता-कार्यकर्ता भ्रष्टाचारका कारण हुन् । उनीहरू विकासका बाधक हुन् । उनीहरूसँग राष्ट्रलाई नेतृत्व दिन सक्ने दूरदृष्टिको अभाव भएकाले निजामती र सैन्य प्रशासन भ्रष्ट भएको हो । नेता-कार्यकर्ताले गर्दा नै विदेशी सहायताले समेत नेपालमा अपेक्षित काम गर्न सकेको छैन । त्यसैले नैतिकवान नेता-कार्यकर्ता राष्ट्रको खाँचो हो । नेता-कार्यकर्ता इमानदार भए लोकतान्त्रिक अभ्यास पारदर्शी हुन्छ । बिस्तारै सुशासन संस्थागत हुन्छ । राष्ट्रले आर्थिक फड्को मार्नसमेत लामो समय लाग्दैन । यस्तो मजबुनमार्फत ०४६ पछि सुकिलामुकिलाहरूले आफ्‌नो स्वार्थरत रक्षा मात्र गरेका छन् । अहिलेका नेतृत्वहरुले गर्न चाहेको पनि त्यही हो । दाताहरूले गरिरहेको पनि त्यही हो । अर्थात्, राजनीतिक समस्याको टेक्नोक्रेटिक समाधान । तर बिभिन्न बिज्ञहरुका वहश र बिचारहरु अनुसरण गर्दा भ्रष्टाचारको बुझाइ र त्यसको समाधानसँग संस्कृतिजन्य जटिलता जोडिएका छन् । राजनीतिक पात्रहरूमा दोष थोपरेर अनि प्राविधिक समाधान खोजेर न भ्रष्टाचारसँग जुध्न सकिन्छ, न त लोकतान्त्रिक सुधारलाई नै संस्थागत गर्न सकिन्छ । बरु दलका नेता- कार्यकता रूपान्तरणकारी भूमिकामा फर्कनुपर्छ ।

सिद्धान्ततः राजनीतिक दल सामूहिक सहभागिताको आधारमा टिकेको हुन्छ । सांगठनिक स्वरूप भिन्न भए पनि प्रत्येक दलले विशिष्ट किसिमको रूपान्तरण गर्ने लक्ष्य राखेको हुन्छ । तर समाजमा विद्यमान पछौटेपन र विकृतिमाथि विजय प्राप्त गर्दै अर्थ-राजनीतिक शक्ति- सम्बन्धमा हस्तक्षेप नगरी सार्थक रूपान्तरण सम्भव छैन । राजनीतिक सत्ता परिवर्तन रूपान्तरणकारी लक्ष्य प्राप्त गर्ने प्रारम्भिक पाइला मात्र हो । मूल लक्ष्य त विभेद र अन्यायका संरचना र देश परिवर्तनमा फेरबदल ल्याउने नवीनताको खोजी नै हो । नेपालको सन्दर्भमा २००७ पछि पटक-पटक सत्ता परिवर्तन गर्न राजनीतिक दल सफल भए तर वर्चश्वशाली समूहको शक्ति-सम्बन्धमा बदलाब ल्याउन असफल भए । यस्तो असफलतासँगै दलहरुका नेता-कार्यकता स्थायी सत्ताको स्वार्थ रक्षा गर्ने माध्यम भए । उनीहरूको सामूहिक प्रयास विसंगतिको मलजलमा लाग्यो । नतिजा अन्याय र असमानताको चक्रमा जनगण अल्झिरहे ।

दलहरू समाज रूपान्तरणको संवाहक हुन सकेनन् । न परिवर्तनकारी शक्ति नै भए । सरकारको मुख्य काम जनताको जीवनरक्षा गर्नु र उनीहरूको सामाजिक सुविधालाई सहज बनाउनु हो । त्यसका लागि आवश्यक आर्थिक, प्रशासनिक र सांस्कृतिक चाजोपाँजो मिलाउन शासकहरूले तत्परता देखाएनन् । न आफ्‌नो आधारभूत दायित्वलाई आत्मसात नै गरे । त्यसैले कुशासन हिजोको शासकीय पद्धतिको अभिन्न हिस्सा थियो । हिजो राणाशाही भ्रष्ट थियो । त्यही बपौतीलाई राजा महेन्द्रले पञ्चायत कालमा संस्थागत गरे । राजासँगैपञ्चहरूले आफू नै राज्य, आफू नै राष्ट्र भएको मानसिकतालाई शैक्षिक नीति र सम्पूर्ण शासकीय पद्धतिमार्फत बढावा दिए । त्यसैले पुलिस- प्रशासन भ्रष्ट शासकको सेवामा लीन भयो । निजामती, पुलिस र सेना ख्वामितको सेवामा लागे, जनसेवामा नभई शासकलाई रिझाउन चाकडी र चाप्लुसीलाई उच्च क्षमता सम्झने अभ्यासले घरजम गर्यो । सम्पूर्ण राज्य-संयन्त्रमा भोगविलासलाई आफ्‌नो कर्म सम्झने संस्कारजन्य मान्यता विकास भयो । त्यसैमा दासतुल्य नोकरशाहीले आफ्‌नो फाइदा देख्यो । प्रशासनतन्त्र शासकहरूभन्दा भ्रष्ट हुँदै गयो । अनुत्तरदायी र पाखण्डी चरित्र प्रशासनतन्त्रको आभूषण बन्यो । हिजोको अन्यायी, विभेदकारी र भ्रष्ट संरचनालाई राजनीतिक दलका नेता- कार्यकर्ताले हाँकसहित चुनौती दिन सकेनन् । उल्टै हिजोकै शासकीय संस्कारलाई आन्तरिक रुपमा मलजल गरे । आस्थावान कार्यकर्ताहरू कि निराश भए कि त किनारीकृत । त्यसैले दलहरू सही अर्थमा परिवर्तनकारी शक्ति हुन सकेनन् । अहिले पनि छैनन् ।

“राजनीतिक दलले आफ्नो शक्ति ठम्याउन नसकेकाले रुपान्तरणकारी भुमिकामा नेता-कार्यकर्ता देखिएनन् ।बरु सार्थक रुपान्तरणका नारा बोकिरहेका अन्य मोर्चासंग जोडिन सफल भए । नेता- कार्यकर्ताले आफुलाई कुनै विचारधाराको दासरुपी साङ्ग्लोलाई भत्काउनुपर्छ ।”

राजनीतिक दलले आफ्‌नो शक्ति ठम्याउन नसकेकाले रूपान्तरणकारी भूमिकामा नेता-कार्यकर्ता देखिएनन् । सार्थक रूपान्तरणका अन्य मोर्चासँग जोडिन पनि सकेनन् । यस्तो अवस्थामा परिवर्तन ल्याउन सर्वप्रथम नेता-कार्यकर्ताले आफूलाई कुनै विचारधाराको दासरूपी साङ्लोलाई भत्काउनुपर्छ । अनि मात्र नेपाली समाजमा विद्यमान अन्तरसम्बन्धलाई गम्भीर रूपमा लिन सकिन्छ । जस्तै दलका नेता-कार्यकर्ताले सार्थक रूपान्तरण चाहेका छन् कि छैनन् ? आफूले चाहेको सार्थक रूपान्तरण कस्तो हो ? त्यस्तो रूपान्तरणमा दलको स्थान कस्तो हुन सक्छ ? दलीय भूमिका कुन हदसम्म निर्णायक हुन सक्छ ? त्यस्तो भूमिकाले कस्तो वैचारिक हस्तक्षेपको माग गर्छ ? त्यस्तो प्रक्रियाका लागि आवश्यक पर्ने ज्ञान-उत्पादन गर्न राजनीतिक दलले राज्यलाई के-कस्तो कार्यमा उत्तरदायी बनाउनुपर्छ ? राज्यका क्रियाकलापलाई संस्थागत गर्न अन्य क्षेत्रसँग के-कस्तो सामूहिक सहकार्य गर्नुपर्छ ? नेपालमा भित्रिने वैदेशिक सहायताले परिवर्तनका प्रयासलाई के-कसरी प्रभावित गरिरहेका छन् ? विश्व परिवेशमा भइरहेको आर्थिक रूपान्तरण, ज्ञान-विज्ञानको परिवर्तन र मानवीय संसर्गले सामाजिक परिवर्तनलाई कसरी प्रभावित गरिरहेको छ ? प्रश्नको सिलसिला लामो छ । तर यस्ता प्रश्नमाथि दलीय संरचनामा बहस गर्न सर्वप्रथम कार्यकर्ताहरूले आफूलाई दास वा दलालको रूपमा हेर्ने साङ्लोलाई तोडी नितान्त समाज परिवर्तनका लागि होमिन जरुरी छ ।

नेपालका सबै आन्दोलनले देखाएका छन्, समाजमा रचनात्मक कार्य गर्ने क्षमता दलका नेता-कार्यकर्तासँग छैन । राजनीतिक सत्ता परिवर्तनपछिको अवस्था प्रायः रचनात्मक खडेरीको समयबोधजस्तो देखिएको छ । एक वा अर्को किसिमको नवीनताको खोजमा लाग्न फेरि पनि वैचारिक दासत्वबाट निस्कने कार्य आधारभूत सर्त हो । त्यसले कार्यकर्तालाई आफू कुनै अमूक नेताको दास नभएको आत्मबल दिन्छ । त्यसपछि मात्र पहिला दलभित्र र संस्थागत रूपमा अन्य क्षेत्र र समूहसँग सहकार्य गर्ने सम्भावनाको ढोका खुल्छ । त्यस्तो सहकार्यले मात्र लोकतान्त्रिक अभ्यासमा सामूहिक विश्वासलाई बलियो बनाउन सक्छ । फराकिलो दृष्टिकोणलाई ठाउँ दिन्छ । बिस्तारै सामूहिक स्वामित्वलाई संस्थागत गर्न सघाउँछ । सम्भवतः दलभित्र र सामाजिक तहमा समेत सांस्कृतिक विविधता तथा स्थानीय समुदायको कार्यमा सामर्थ्य देख्छ । विचारप्रतिको यस्तो खुल्लापनले कार्यकर्ताको रूपान्तरणकारी भूमिकालाई थप सशक्त बनाउँछ । यस्ता कार्यले जीवनमा नयाँ सम्भावनाको खोज गर्न थप आधार दिन्छ ।
के नेता-कार्यकर्ताहरू विचारको पुरानो साङ्लो भत्काउँदै वर्तमानमा विद्यमान अन्तरद्वन्द्व पहिल्याउन वास्तवमा तयार होलान् त ?

# राजनिति # विचार # हेमन्त बहादुर शाह

हेमन्त बहादुर शाह

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading