रुकुम घटना- जातीयकरणले थप समस्या ल्याउँछ

सूचना र सञ्चारको क्षेत्रमा आएको बदलावसँगै विश्वले काँचुली फेरेको छ । दिनदिनै नयाँ प्रविधिको विकास भइरहेको छ, जसले सूचना प्रवाहलाई निकै सहज र छिटो बनाइदिएको छ । नेपालमा पनि पछिल्लो समय दूरसञ्चार र इन्टरनेट सेवाको ब्यापक विस्तार र प्रयोग भइरहेको छ । हातहातमा मोबाइल पुगेको छ । फेसबुक, युट्युब जस्ता सामाजिक सञ्जालहरुमा मानिसहरु घण्टौं समय बिताइरहेका छन् । कुनै घटना हुन पाएको छैन फेसबुक, युट्युबले भाइरल बनाइ हाल्छ । पछिल्ला केही दिनहरुमा मिडियामा सर्वत्र छाएको विषय हो, जाजरकोट रुकुम घटना ।

पीडितले न्याय पाउनुपर्छ, यसमा दुईमत नै छैन । तर दलित भन्दै स्वयम् हामीले हामीलाई नै किन हेपिरहेका छौं ? माथिल्लो जात कहाँबाट आउँछ, तल्लो जात कहाँबाट आउँछ ? आफैंले म दलित हुँ भन्ने सोच जबसम्म त्याग्न सकिँदैन, तबसम्म परिवर्तन सम्भव छैन ।

सिर्जना बस्नेत

सुन्दा पनि आङ सिरिङ्ग हुन्छ । जाजरकोटका २० वर्षीय नवराज विकसँगै अन्य पाँच जनाको विभत्स हत्या गरी भेरी नदीमा फालिएको घटना मानवता विरुद्धकै गम्भीर अपराध हो । परिवारमा बुढेसकालको सहारा बन्ने आश सिसा टुक्रेझैं छिनभरमै टुट्यो । पीडितले न्याय र पीडकले सजाय स्वतन्त्र छानबिनबाट पाउनैपर्छ । यस्ता जघन्य अपराध गर्ने जोसुकै कानूनभन्दा अघि हुन सक्दैनन् ।

तर यो घटनालाई लिएर अन्तरजातीय द्धन्द्ध निम्त्याउने खेल बढिरहेको छ । दलित र गैरदलितको लडाई गराउने दुस्प्रयास भइरहेको छ । घटनाको स्वतन्त्र छानबिनमा सघाउनुको सट्टा नानाथरी कुरा उचालेर साम्प्रदायिक द्धन्द बढाउने कार्य तत्काल रोक्न जरुरी छ । विशेषगरी युट्युबलाई आधारित बनाएर सञ्चालित मिडियामा एकतर्फी र उत्तेजनात्मक कुरा आइरहेका छन् । अहिले यो घटनाको छानबिन भइरहेको छ, तर यी मिडियाहरु आफैं यो दोषी हो, त्यो दोषी हो भन्दै निक्र्यौलमा पुगिरहेका छन् ।

पीडितले न्याय पाउनुपर्छ, यसमा दुईमत नै छैन । तर दलित भन्दै स्वयम् हामीले हामीलाई नै किन हेपिरहेका छौं ? माथिल्लो जात कहाँबाट आउँछ, तल्लो जात कहाँबाट आउँछ ? आफैंले म दलित हुँ भन्ने सोच जबसम्म त्याग्न सकिँदैन, तबसम्म परिवर्तन सम्भव छैन । दलितको नाममा जबसम्म कोटा र आरक्षणको व्यवस्था हुन्छ, त्यतिन्जेल दलित प्रथा कायम नै रहन्छ । सयौं वर्षदेखि विभिन्न शिल्पमा पोख्त मानिसहरुलाई दलितको पगरी दिँदा समस्याको हल गर्नुको साटो जातीय कुसंस्कारलाई थप मलजल गरेको र अछूतको कलंक रहिरहन भूमिका खेलेको हो कि ?

रुकुम घटनाको चर्चा मिडिया, सडकहुँदै संसदसम्म पुगेको छ । कोही घटनालाई राजनीतिकरण गर्दै दलितको मुद्धा तेस्र्याउने दाउमा छन् । यो घटनामा जाजरकोटका नवराज मात्रै होइन साथीलाई साथ दिन गएका अरु पाँच जनाको पनि हत्या भएको छ । के अरु सबै दलित थिएनन् ? किन तिनीहरुको बारेमा चर्चा हुँदैन ? किन तिनीहरुको परिवारको पीडा अगाडि आउँदैन ? के तिनीहरुको परिवारले आफ्ना सन्तान गुमाएका छैनन् ? कि उपल्लो जातका थिए ? १५–२० जनाको हुल भएर कसैको छोरी चेली भएर जाँदा आमा बुवा, समाज बोल्न नहुने ?

यदि केटाकेटी मनखुसी भाग्नु थियो भने केटाले हुल बाँधेर अर्काको गाउँ जानु हुँदैनथ्यो । केटी आफै घर छोडेर जान सक्थिन् । बुवाआमाले पनि आफ्नो उमेर नपुगेकी छोरी इच्छाविपरित काम गर्दा आवेशमा आउनु स्वभावै हो । तर गाउँले नै मिलेर यो निर्मम नरसंहारलाई साथ दिनु खेदजनक छ । यो घटनाले कतै हामीमा मानवता त हराउन थालेको त होइन भनेर समिक्षा गर्ने बेला आएको छ ।

आमनागरिक यो घटनालाई जातीयकरण नगरियोस् भन्ने चाहिरहेका छन् । जातको कुरा गरेरं सदन र सडकमा घोक्रो फुलाउनुभन्दा घटनाको छानबिनमा सघाउन सके पीडितलाई वास्तविक सामाजिक न्याय मिल्थ्यो कि ? अहिले कथित दलितप्रथाभित्रै छुवाछुत ब्याप्त छ । हामी पछि परेको जातका कारण होइन, कुसोच र कुसंस्कारले हो भन्ने कुुरा हेक्का राख्नुपर्ने बेला आएको छ । हरेक जाती र सम्प्रदायभित्र धनी र गरिबको खाडल ठूलो बन्दै गएको छ । यसर्थ वर्गको आधारमा अवसरहरु वितरण गर्न सके पछाडि परेका नागरिकहरुले न्याय पाउने थिए ।

हामी मात्रै दुई जात पुरुष र महिला हुन् भनी समाज परिवर्तन गर्न सक्छौं । किन दलित जस्तो आफैंमा हेपाहा, अपमानित र अछूत शब्द प्रयोग गर्ने ? पुरातन सोचको पर्खाललाई भत्काइ २१औं शताब्दीको आवश्कताअनुसार समृद्ध, समावेशी र समन्यायीक नेपाल निर्माणमा जुट्न हरेक नेपाली जुट्नुपर्ने बेला आएको छ । यसतर्फ सबैको ध्यान पुगोस् ।

  • सिर्जना बस्नेत

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिर्जना बस्नेत

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
बिहि, जेष्ठ २२, २०७७ (June 4, 2020, 5:49 pm) मा द्वारा विचार/दृष्टिकोण अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया