Naya Media
आइतवार, असार १४, २०८३
| | June 27, 2026
आइतवार, असार १४, २०८३

अनलाइनबाट तामाकोसीको सेयर आवेदन भर्न पाइने

User Photo सोमवार, साउन १४, २०७५

विदेशमा बस्ने दोलखावासी नेपाली नागरिकले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा अनलाइनबाट सेयर आवेदन भर्न पाउने भएका छन् । बिक्री प्रबन्धक नागरिक लगानी कोष र सहायक प्रबन्धक सनराइज क्यापिटल तथा माथिल्लो तामाकोसी आयोजनाको वेबसाइटमार्फत सेयर आवेदन फाराम डाउनलोड गरी भर्न सक्ने व्यवस्था मिलाइने आयोजनाले जनाएको छ ।

विदेशमा रहेका दोलखालीले अनलाइन फाराम भरी पठाउने र परिवारका सदस्यले सो फाराम संकलन केन्द्रमा बुझाई रकम जम्मा गरेपछि लगानी सुनिश्चित हुनेछ । बिक्री प्रबन्धक कम्पनीले सेयर निष्कासन सुरु हुनुअगावै फाराम वेबसाइडमा राख्ने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए ।

वैदेशिक रोजगारीमा रहेकाको पनि बैंक खाता नभएमा परिवारको सदस्यकै खातामार्फत सेयर आवेदन दिन पाउनेछन् । काठमाडौंमा बसोबास गर्नेले सोही ठाउँबाटै र जिल्लाका नागरिकले स्थानीय तहबाटै सेयर आवेदन भर्न पाउने व्यवस्था मिलाइने भएको छ ।

दोलखाका जनप्रतिनिधि, राजनीतिक दल, नेपाल विद्युत् प्राधिकरण, धितोपत्र बोर्ड, लगानी कोष र माथिल्लो तामाकोसी आयोजनाका पदाधिकारीबीच भएको छलफलपछि त्यस्तो निर्णय भएको हो । छलफलमा काठमाडांै, भक्तपुर र ललितपुरमा बस्दै आएका दोलखावासीलाई निश्चित अवधिभित्र उपत्यकाकै निश्चित बैंकबाट सेयर आवेदन संकलन गर्न नेपाल धितोपत्र बोर्ड सहमत भएको छ । यो सहमतिअनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने ठूलो संख्याका दोलखाली नागरिक सेयर आवेदनका लागि दोलखा धाउनुनपर्ने भएको उनले बताए ।

बर्बायाम, सडकको दुरावस्थाका कारण काठमाडौंदेखि दोलखासम्मको सडक यात्रा कष्टकर हुनेलगायतका कारण उपत्यकामा बस्ने दोलखावासीको सेयर आवेदन उपत्यकाबाटै संकलन गर्ने सहमति भएको हो । जिल्लामा रहेका दोलखावासीको हकमा भने विभिन्न २१ स्थानबाट सेयर संकलन गरिने भएको छ । माथिल्लो तामकोसी आयोजनाका प्रमुख विज्ञानप्रसाद श्रेष्ठले बैंकको शाखा विस्तार भएका स्थानमा सोहीमार्फत २१ वटा वडाबाट सेयर आवेदन संकलन गरिने बताए । उनले बैंकको पहुँच नभएका दुर्गम वडामा घुम्ती संकलन केन्द्रको व्यवस्था गरिने जानकारी दिए ।

दुर्गम र विकट गाउँमा आवेदन सेयर आवेदन संकलन गर्न स्थानीय सरकार र प्रशासनसँग समन्वय गरी स्वयंसेवकहरू परिचालन गरिनेछ । आयोजना प्रमुख श्रेष्ठले जिल्लाका ७४ वटै वडाका नागरिकलाई पायक पर्ने र बहुसंख्यक नागरिकको सेयर सुनिश्चित हुनेगरी संकलन केन्द्र स्थापना गरिने बताए । सेयरका बारेमा जानकारी दिन बिक्री प्रबन्धक, नागरिक लगानी कोष र सहायक प्रबन्धक सनराइज क्यापिटल तथा माथिल्लो तामाकोसी आयोजनाले साउन १६ वाट सेयर प्रशिक्षण तथा सूचनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको छ । माथिल्लो तामाकोसी आयोजनामा सेयर आवेदन दिनका लागि सबै नागरिकको डिम्याट खाता नचाहिने भएको छ ।

आवेदनका लागि डिम्याट खाता अनिवार्य नगरिए पनि सेयर लगानीको तीन वर्षपछि भने सबै सेयर होल्डरको अनिवार्य डिम्याट खाता हुनुपर्ने धितोपत्र बोर्डले सुझाव दिएको छ ।

परिवारको कुनै एक सदस्यको बैंक खाता भए सोही खातामार्फत परिवारका सबै सदस्यले सेयर आवेदन गर्न सक्ने आयोजना प्रमुख श्रेष्ठले बताए । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी आयोजनाको प्रवद्र्धक कम्पनी तामाकोसी हाइड्रोपावरले दोलखावासीका लागि १ अर्ब ५ करोड ९० लाखबराबरको १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्दै छ । सेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट स्वीकृत लिई लगानी कोषलाई बिक्री प्रबन्धक र सनराइज क्यापिटललाई सहायक प्रबन्धक तोकिएको छ ।

दोलखावासीका लागि यही १६ साउनदेखि १४ भदौसम्मका लागि सेयर आवेदन अवधि तोकिएको छ । तर, सो अवधिमा पर्याप्त सेयर आवेदन नपरे धितोपत्र बोर्डको स्वीकृति लिएर केही अवधिका लागि थप गर्न सकिनेछ । माथिल्लो तामाकोसी आयोजनामा सेयर लगानीका लागि दोलखावासीलाई तीन वर्गमा विभाजन गरिएको छ । आयोजना अति प्रभावित लामाबगर र गौरीशंकरलाई ‘क’ वर्ग, प्रसारण लाइन र प्रवेश मार्गले छोएका वडालाई ‘ख’ वर्ग र बाँकीलाई ‘ग’ वर्गमा राखिएको छ । ‘क’ वर्गले अधिकतम ३ सय कित्ता र ‘ग’ वर्गले न्यूनत ३० कित्ता सेयर खरिद गर्न पाउनेछन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.