सीमा सुरक्षाको जिम्मेवारी समेत पाएको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बलका प्रमुखबीचको औपचारिक छलफल हुने भएको छ ।
अगष्ट महिनामै भारतको नयाँ दिल्लीमा सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र भारतको सशस्त्र सीमा बलका प्रमुख रजनीकान्त मिश्राबीच भेटवार्ता हुनेभएको हो । दुबै देशका अधिकारीहरुबीच हुने वार्तामा सीमा सुरक्षा, सीमापार अपराध, आतंकबाद, मानव ओसारपसार लगायतका एजेण्डा छलफलको विषय हुने भएको छ ।
प्रत्येक वर्ष दुबै अर्धसैनिक बलका उच्च अधिकारीहरुबीच बैठक गर्ने निर्णय भएपनि ४ वर्षपछि मात्र यो छलफल हुन लागेको हो । पहिलो बैठक भारतमा नै भएको थियो । अर्ध सैनिक बल प्रमुख समन्वय बैठक नाम दिइएको यो बैठकमा यसपटक नेपालले लिपुलेक लगायतका सीमा क्षेत्रका विषयमा समेत कुरा उठाउने तयारी गरेको छ ।
गृहमन्त्रालयका अनुसार नेपाल–भारत–चीनबीचको विवादमा रहेको लिपुलेकमा सशस्त्र प्रहरीले बोर्डर आउट पोस्ट विओपी राख्ने विषयमा समेत चासो दिएको छ । हाल सशस्त्र प्रहरी बलले ८७ स्थानमा बोर्डर आउट पोस्ट राखेको छ । सीमा क्षेत्रमा बोर्डर आउट पोस्ट अझ बढाउने सरकारको तयारी रहेको छ ।
