लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले आफूविरुद्ध कपोलकल्पित तथा तथ्यहीन आरोपसहित समाचार प्रकाशित भएको भन्दै कडा आपत्ति जनाएका छन्।
‘स्कुप खबर’ नामक अनलाइनमा प्रकाशित ‘आईजीपीविरुद्ध निरन्तर प्रहार, कतै खगेन्द्र सुनार परिचालित त छैनन् ?’ शीर्षकको समाचारप्रति ध्यानाकर्षण जनाउँदै डीआईजी खत्रीले उक्त समाचारमा आफ्नो नाम जोडेर लगाइएका आरोपहरू पूर्णतः भ्रामक, मनगढन्ते र आधारहीन भएको स्पष्ट पारेका छन्।
प्रेस विज्ञप्तिमार्फत खत्रीले आफूले लामो समयदेखि प्रहरी संगठनमा व्यावसायिक इमानदारी, निष्ठा, अनुशासन र जिम्मेवारीपूर्वक काम गर्दै आएको बताएका छन्। संगठनको हित र आफ्नो जिम्मेवारीप्रति आफू सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले आफ्नो निष्कलंक छवि र व्यावसायिक निष्ठामाथि प्रश्न उठाउने उद्देश्यले कपोलकल्पित सामग्री सार्वजनिक गरिएकोप्रति दुःख व्यक्त गरेका छन्।
‘आफ्नो पेशागत जीवन पारदर्शी छ, संगठनप्रतिको समर्पण र निष्ठामा कुनै प्रश्न उठ्ने अवस्था छैन,’ खत्रीले विज्ञप्तिमा उल्लेख गरेका छन्।
उनले समाचारमा उल्लेख गरिएका विषयवस्तुमा कुनै सत्यता नरहेको भन्दै आम पाठक तथा सरोकारवालालाई तथ्य पुष्टि नगरी भ्रामक सामग्रीको विश्वासमा नपर्न आग्रह गरेका छन्।
साथै, आफ्नो व्यक्तिगत तथा व्यावसायिक प्रतिष्ठामा आँच पुर्याउने गरी प्रकाशित सामग्रीविरुद्ध कानुनी उपचारको बाटो अवलम्बन गर्ने चेतावनीसमेत खत्रीले दिएका छन्।
जिम्मेवार प्रहरी अधिकारीको छवि बनाएका खत्रीले आफूविरुद्ध फैलाइएको भ्रमको प्रतिवाद गर्दै तथ्य र प्रमाणका आधारमा विषय स्पष्ट पार्ने बताएका छन्।

