ओखलढुंगामा पछिल्लो समय आत्महत्या गर्नेको संख्यामा उल्लेख्य रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो ६ वर्षको अवधिमा १ सय २९ जनाले आत्महत्या गरेका छन् । तीमध्ये सबैभन्दा बढि एकसय जनाले झुण्डिएर आत्महत्या गरेको तथ्यांकले देखाएको छ ।
आत्महत्या गर्नेमा १२ देखि ३० बर्ष उमेर समुहका रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरिक्षक अनन्तराम शर्माले बताए । आर्थिक बर्ष २०७०/७१ मा आत्महत्या गर्नेहरुमा झुण्डिएर २० जना, हामफालेर १ जना र बिष सेवन गरेर ७ जनाले आत्महत्या गरेका छन् । त्यस्तै आर्थिक बर्ष ०७१/७२ मा ९ जना झुण्डिएर र ५ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् ।
त्यस्तै २०७२/७३ मा २० जनाले झुण्डिएर, ६ जनाले बिष पिएर र १ जनाले अज्ञात ढंगले आत्महत्या गरेको तथ्यांकमा उल्लेख छ । त्यस्तै २०७३/७४ मा २१ जनाले झुण्डिएर, ९ जनाले विष सेवन गरेर र १ जनाले हामफाली आत्माहत्या गरेको तथ्यांक पाइएको छ । त्यस्तै आर्थीक बर्ष २०७४/७५ मा ३३ जनाले झुण्डिएर, ८ जनाले विष सेवन गरेर आत्माहत्या गरेको पाईएको छ । त्यस्तै यस आर्थीक वर्षको दुई महिनाको अवधिमा ६ जनाले झुन्डिएर आत्महत्या गरेको तथ्यांकले देखाएको छ । आत्माहत्या गर्नेमध्ये तुलनात्मक रुपमा महिलाको संख्या बढिरहेको छ ।
किन गर्छन आत्माहत्या ?
समाजशास्त्री दिपेश घिमिरेका अनुसार आत्महत्याका घटना बढ्नुमा सामाजिक एकीकरणको भूमिका महत्वपूर्ण हुने गर्दछ । ‘आत्महत्या मनोवैज्ञानिक हर्मोनले नभई, सामाजिक प्रभावका कारण हुने गर्दछ । कुनै पनि व्यक्तिको परिवारसँगको सम्बन्ध र समुदायको वातावरणले प्रभाव पार्ने हुन्छ’ उनको प्रष्टोक्ति थियो ।
आत्महत्या विशेषगरी गाउँमा भन्दा सहरी क्षेत्रमा बढी मात्रामा हुने गरेको उनको बुझाई छ । ‘सहरमा गाउँमाभन्दा परिवारिक बन्धन कम हुन्छ, यसले आत्महत्या बढाउछ ’ घिमिरेले भने । विशेषत परिवार बीचको बन्धनमा एकता नहुँदा आत्महत्या बढ्ने गरेको समाजशास्त्री घिमिरेको भनाई छ ।
बढ्दो आत्महत्यालाई कसरी रोक्ने ?
आत्महत्यालाई रोक्न सामाजिक रुपमा ऐक्यबद्धता बढाउन जरुरत रहेको घिमिरेको दाबी छ । उनको भनाईमा यसलाई शिक्षाका माध्यमबाट कम गर्न सकिन्छ । बेला–बेलामा समुदायमा रहेका स्वास्थ्य चौकीहरुले पनि मानसिक स्वास्थ्यसम्बन्धी परामर्श दिन जरुरी रहेको उनले बताए ।
आत्महत्या गर्ने व्यक्तिले पहिलेनै केही लक्षणहरु देखाउने गरेको उनको भनाई छ । घिमिरे भन्छन् ‘आत्महत्या गर्ने व्यक्तिले विस्तारै परिवारसँगको घुलमिल कम गर्ने गर्छन् ।’ यस्तो अवस्थामा उनीहरुसँग घुलमिल भै बिशेष ख्याल गर्नुपर्ने उनको बुझाई छ ।
