आइतवार साँझ आएको हावाहुरीले नेपालको पूर्वी तराईका दुई जिल्लामा धनजनको ठूलो क्षति भयो। सोमवार बिहान बारामा कम्तीमा २९ जनाको र पर्सामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ। क्षतिको थप विवरण आउन बाँकी नै छ।
गृहमन्त्रालयको आपत्कालीन कार्य सञ्चालक केन्द्रका अनुसार छ सयभन्दा बढी व्यक्तिहरू घाइते भएका छन्। मृतकको सङ्ख्या बढ्ने सक्ने बताइएको छ।
साँझ साढे सात बजेदेखि सुरु भएको हावाहुरी झन्डै आधा घण्टासम्म चलेको थियो।
हावाहुरीले माटोबाट बनेका कच्ची घरहरूमा क्षति पुर्याएको थियो। बिजुली र टेलिफोनका पोलहरू लडेर, टिनका छाना उडाएर र पर्खाल लडेर समेत मानिसहरू हताहत भएको बताइएको छ।
शक्तिशाली हावाहुरीले धेरै ठाउँमा यात्रुवाहक सवारीसाधनहरूलाई पल्टाइदिएको थियो।
के हावाहुरीको पूर्वानुमान गरिएको थिएन?
मौसमविद्हरू चैतदेखि जेठसम्मको समय नेपालमा प्रिमन्सुन गतिविधि हुने बताउँछन्।
त्यसैले अपराह्नपछि जुनसुकै बेला हावाहुरी आउने सम्भावना हुन्छ।
आइतवार बिहान मौसम पूर्वानुमान महाशाखाले नेपालका मध्य तथा पूर्वी क्षेत्रका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा गराउने बादल विकसित भएको र त्यो पूर्वतिर सरिरहेको जनाएको थियो।
तर यति ठूलो क्षति पुर्याउन सक्नेगरी हावाहुरी आउने अनुमान आफूहरूले नगरेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्याल बताउँछन्।
कसरी आयो हावाहुरी?
अर्यालका अनुसार स्थानीय वायुको प्रभाव र भारतको मध्यप्रदेशमा निम्न चापीय क्षेत्र विकसित हुँदा हावाहुरीले शक्तिशाली स्वरूप लिएको देखिन्छ।
उनी भन्छन्, “स्थानीय वायुकै प्रभावले बादल धेरै बनेर एकैचोटि तल खनिँदा हावाहुरी सिर्जना भयो।”
तर जल तथा मौसम विभागका मौसमविद्का अनुसार स्थानीय वायुको प्रभाव उच्च भएकाले पूर्वानुमान संयन्त्रमा सचेत गराउनेगरी कुनै सङ्केत देखिको थिएन।
अर्याल भन्छन्, “स्थानीय वायुको प्रभाव तल्लो भेगमा आकलन गर्न हाम्रो प्रणालीले सकेन।”
भारतको मौसम पूर्वानुमान निकायले चाहिँ नेपाली सीमा जोडिएका बिहार तथा पश्चिम बङ्गाल राज्यमा प्रतिघण्टा ४० देखि ५० किलोमिटरको गतिमा हावा चल्न सक्ने बताएको थियो।
के छ पूर्वानुमान?
नेपालको मौसम पूर्वानुमान महाशाखाले सोमवार दिउँसो नेपालका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ।
उसका अनुसार पहाडी भेगको केही स्थानमा र पूर्वी तराई भेगका एकदुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना देखिन्छ।
सोमवार राति भने पूर्वी नेपालमा आंशिकदेखि सामान्य बदली रहने, पश्चिम र मध्यनेपालका पहाडी भूभागमा आंशिक बदली हुने र अन्य भूभागहरुको मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ।
तर पूर्वी नेपालका केही मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना भने उसले जनाएको छ।
भारतको राष्ट्रिय मौसम पूर्वानुमान केन्द्रले सोमवार पनि बिहारमा मेघगर्जन हुने र ३० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्न सक्ने जनाएको छ। विविसी
