Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 24, 2026
शनिबार, बैशाख १२, २०८३

हिरासतमा नाबालकको मृत्यु काण्डः मृतक भारतीय देखाउन जनप्रतिनिधिकाे मुचुल्का

जनप्रतिनिधी र स्थानियलाइ प्रहरीले नै झुक्यायाे, आसपासका बासिन्दाकाे पनि मुचुल्कामा हस्ताक्षर

User Photo आइतवार, बैशाख ८, २०७६

गैरकानुनी हिरासतमा नाबालकको मृत्यु भएको घटना तोडमोड गर्न प्रहरीले जनप्रतिनिधिलाई समेत प्रयोग गरेको खुलेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडको थुनुवा कोठामा १ वैशाखको राति ज्यान गुमाएका मेचीनगर–६ का १५ वर्षीय किरण कार्कीडोली दर्जी भारतीय भएको पुष्टि गर्न प्रहरीले राति नै जनप्रतिनिधिलाई मुचुल्कामा सही गराएको थियो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुवास खड्काले राति २:३० बजे बोलाएर झुटो विवरण भएको मुचुल्कामा सही गर्न लगाएको जनप्रतिनिधिहरूले बताएका छन् । बिर्तामोड नगरपालिका–५ का वडाध्यक्ष राजेन्द्र लिङ्देन, सोही वडाका वडा सदस्य लक्ष्मी बास्कोटा र अर्जुनधारा नगरपालिका–१० का वडाध्यक्ष बलदेव गोम्देनले मुचुल्कामा हस्ताक्षर गरेका छन् । प्रहरी कार्यालय आसपासका बासिन्दालाई पनि त्यो मुचुल्कामा हस्ताक्षर गराइएको छ ।

‘राति अढाई बजे गाडी लिन आयो र प्रहरी टोलीले हामीलाई इलाका प्रहरी कार्यालय लगेर सहीछाप गर्न लगायो,’ मुचुल्कामा हस्ताक्षर गरेका वडा सदस्य बास्कोटाले भने, ‘मृतक भारतीय नागरिक भएको र १९ वर्षको भन्दै प्रहरीले हामीलाई झुक्याएछ ।’

किरणले आत्महत्या गरेको दाबी प्रहरीले गरिरहेको छ भने आफन्तले यातनाबाट उनको मृत्यु भएको बताएको छ । सहीछाप गर्न जाने जनप्रतिनिधिहरूलाई हिरासतभित्र रहेका अन्य थुनुवाले आफूहरू निदाइसकेपछि घटना भएकाले केही थाहा नभएको बताएका थिए । प्रहरीले मृतकको उमेर पनि लुकाउने प्रयास गरेको छ । ‘भारतको पानीट्यांकी बस्ने १९ वर्षीय किरण दर्जी’ लेखिएको मुचुल्कामा जनप्रतिनिधिलाई सही गर्न लगाइसकेपछि प्रहरीले सञ्चारकर्मीलाई किरण भारतीय नागरिक भएको झुटो विवरण दिन थालेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले मृतक भारतीय नागरिक भएको नयाँ पत्रिकालाई बताएका थिए ।

समाचार नलेख्न डिएसपीको दबाब

गैरकानुनी हिरासतमा नाबालकको मृत्युबारे नयाँ पत्रिका दैनिकले निरन्तर समाचार प्रकाशन गरेपछि बिर्तामोडका डिएसपी सुवास खड्काले फलोअप नगर्न दबाब दिएका छन् । ‘हामीसँग किन यसरी रिसाउनुभएको ?’ नयाँ पत्रिकासँग उनले टेलिफोनमा भने, ‘यसरी नरिसाइदिनुस् न । समाचार त्यसरी किन लेखिदिनुभएको ? किन खनिनुभएको हामीमाथि ?’ तर, जनप्रतिनिधिलाई राति नै ल्याएर मुचुल्कामा सहीछाप गर्न लगाउनुको कारण सोध्दा डिएसपी खड्काले जवाफ दिन सकेनन् ।

अनुकूल हुने छानविन समिति

बालकलाई हिरासतमा राख्ने डिएसपी खड्काले नै आफूखुसी छानबिन समिति बनाएका छन् । उनले समितिको संयोजकमा आफू मातहतका इन्स्पेक्टर श्रीप्रसाद राई तथा सइ डिल्लीकुमार खरेल र असइ भीमबहादुर श्रेष्ठलाई सदस्य राखेका छन् । ‘समितिले मलाई नै प्रतिवेदन बुझाउँछ,’ डिएसपी खड्काले भने । तर, इलाका प्रहरी कार्यालय बिर्तामोडमा समिति बनेको बारे आफूलाई जानकारी नभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले बताए । जिल्ला प्रहरी कार्यालयले छुट्टै छानबिन समिति बनाइसकेको छ ।

घटना रहस्यमय : मानवअधिकारकर्मी

झापाका मानवअधिकारवादीले नाबालक दर्जीको मृत्यु प्रकरणको विषयमा प्रहरीले अघि सारेका तथ्य पत्याउन योग्य नभएको ठहर गरेका छन् । प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले घटनालाई गुपचुप गराइनु, प्रमाणहरू नष्ट गर्ने प्रयास हुनु, हिरासतमा झुण्डिएको भनिएका दर्जीको शव परिवार र आफन्तलाई समेत सुइँको नदिइ रातको तीन बजे पोस्टमार्टम गर्न भन्दै मेची अञ्चल अस्पताल पुर्‍याइनु र प्रहरीले बिहान ११ बजे मात्रै मृतकका बाबुलाई छोराले आत्महत्या गरेको खबर दिएर अस्पताल लगी शव बुझ्न लगाइनुले घटना रहस्यमय भएको उनीहरूको ठहर छ ।

डिएसपी खड्कालाई निलम्बन गर्न माग

घटना सार्वजनिक भएपछि झापाका दलित अधिकारकर्मीहरूले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरे । एक अपरिचित व्यक्तिले भिडियो खिचेको भेटिएपछि पत्रकार सम्मेलन केहीबेर स्थगित नै भयो । दलित अधिकारकर्मीहरूले ती व्यक्तिको मोबाइल खोसेर राखिदिए । अधिकारकर्मीले भिडियो खिच्न घुमुवा प्रहरी पठाएको आरोप लगाएका छन् । यस विषयमा आफूलाई केही थाहा नभएको डिएसपी खड्काले बताए । मानवअधिकारकर्मी र दलित अधिकारकर्मीहरूले डिएसपी खड्कालाई तत्काल निलम्बन गरी अधिकारकर्मीसहितको उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गरेका छन् ।

यस्तो थियो घटना

मोबाइल र पैसा चोरेको भन्दै बिर्तामोडका केही स्थानीयले २९ चैतको साँझ ६ बजे किरणलाई प्रहरीको जिम्मा लगाएका थिए । इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुवास खड्काले अदालतबाट म्यादै नलिई उनलाई तीन दिनसम्म हिरासतमा राखे । १ वैशाख राति उनको मृत्यु भयो । डिएसपी खड्काले परिवारलाई जानकारी नदिई बिहान ३ बजे नै शव पोस्टमार्टमका लागि अस्पताल पठाएका थिए । किरण पक्राउ परेको जानकारी प्रहरीले उनको परिवारलाई समेत दिएको थिएन । घटनाको भोलिपल्ट २ वैशाखको बिहान ११ बजे मात्र प्रहरी किरणका बुबा रमेश कार्कीडोली दर्जीलाई खोज्दै मेचीनगर–६ स्थित निवासमा पुगेको थियो । प्रहरीले मृतकका बाबुलाई सीधै मेची अञ्चल अस्पताल भद्रपुर लगेर पोस्टमार्टम गरिसकिएको शव जबर्जस्ती जिम्मा लगाएको थियो । नया पत्रिकाबाट

 


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.