Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

लिपि नखः ११३९ : रञ्जना लिपि प्रदर्शनी सम्पन्न, नयाँ साझा बसमा रञ्जना लिपि समावेस गरिने

५० भन्दा बढी कलाकारहरुको सहभागिता

User Photo बुधबार, असार १८, २०७६
काठमाण्डाै ।

काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले वसन्तपुरमा लिपि नखः नामक नेपालको मौलिक लिपि सम्बन्धी बृहत् प्रदर्शनी उद्घाटन गरेका छन् । नेपाल लिपि गुथिले प्रदेश नं ३ का सांसद् राजेश शाक्यको सांसद् कोषको आर्थिक सहयोगमा उक्त प्रदर्शनी गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मेयर शाक्यले नेपालको पहिचानको रुपमा रहेको रञ्जना लिपि, नेपालको संस्कृति तथा धरोहरलाई संरक्षण र सम्बद्र्धन गर्ने काममा महानगरपालिका सहकार्य गर्ने काममा सधैं तत्पर रहेको कुरा उल्लेख गर्दै अब आउने नयाँ साझा बसमा रञ्जना लिपि पनि समावेस गर्ने खुलासा गरे ।

विशिष्ट अतिथिको रुपमा बोल्नु हँदै प्रदेश नं ३ का सांसद राजेश शाक्यले संयुक्त राष्ट संघमा नेपालको मौलिक लिपि रञ्जना लिपिका कारण सार्वभौमिक मुलुकका रुपमा चिनिएको तथ्य घाम जस्तै छर्लंग छ, सोहि लिपिलाई नयाँ पिढिलाई चिरपरिचित गराउने उद्देश्यले आफ्नो सांसद कोषले यसप्रकारको कार्यक्रमको आयोजना गर्न सहयोग गरेको बताए ।

नेपाल लिपि गुथिका संरक्षक जनकवि दुर्गालाल श्रेष्ठले उक्त लिपि नखः प्रदर्शनीमा स्वयम् आफ्नो पहिचान नै प्रदर्शित भएको बताए ।
गुथिका उपाध्यक्ष अनिल स्थापितले स्वागत मन्तव्य दिने क्रममा यस प्रकारको नौलो कार्यक्रमले रञ्जना लिपिको उत्थान गर्ने काममा टेवा पुग्ने बताए ।

कार्यक्रमका सभापति तथा गुथिका अध्यक्ष निरञ्जन ताम्राकारले यस प्रकारको कार्यक्रमको आयोजनाले लुकेर रहेका युवा प्रतिभाको प्रस्फुटन गर्ने बताउँदै लिपि नखःमा पचास भन्दा बढी युवा कलाकारहरुको नौला सिर्जनाहरु एकै साथ प्रदर्शन गर्न पाएकोमा खुसी व्यक्त गरे ।

वसन्तपुरमा विहान ११ बजे देखि बेलुकी ६ बजेसम्म रञ्जना लिपि, नेपाल लिपि र भुजिंम्वल लिपिमा आधारित दर्जनौं सृजनात्मक कलाकृतिको प्रदर्शनीलाई १० हजार भन्दा बढी दर्शकले अवलोकन गरे । शतप्रतिशत युवा पुस्ताले सिर्जना गरेका ५० भन्दा बढी कलाकृति मध्ये केहि कलाकृतिको विक्री स्टलको पनि व्यवस्था गरिएको थियो ।

प्रदर्शनीमा रञ्जना लिपि, नेपाल लिपि र भुजिंम्वल लिपि प्रयोग गरेर सिर्जना गरेका डिजिटल डिजाईन, डूडल, काष्ठकला, मण्डला आर्ट, छ्वालि आर्ट, मेटल तथा माटो कला, ब्रासलेट, एअररिंग, मैन कला, बुकमार्क, कालभैरवको डिजिटल आर्ट प्रस्तु गरेका थिए । सिर्जनाको सिलसिलामा भर्खर एसइइ सकेका अंशु श्रेष्ठले नेवाः म्हसिका अक्षर भित्र १ हजार २० वटा नेवार थरलाई रञ्जना लिपिमा अत्यन्त आकर्षक तरिकाले पेश गरेका थिए, सबैभन्दा कान्छो सहभागीले रञ्जना लिपि ट्युटोरियल भिडियो मार्फत सिकेका थिए । त्यसैगरि ६५ बर्षका वरिष्ठ कलाकार आशाकाजी थकुले ८ फिट लामो र ३ फिट चौडा रञ्जना लिपिको कुताक्षर कला प्रस्तुत गरे । उक्त कुताक्षरमा क देखि ज्ञ सम्मको ३६ वटा अक्षरलाई पहिलो चोटी एकै ठाँउमा गाँसेर प्रस्तुत गरे ।

सुप्रिम डेकोर प्रालिले व्यावसायिक रुपमै रञ्जना लिपिको अंक काठमा कुँडेर आकर्षक भित्ते घडी बिक्रीमा राखेको थियो भने काठमै रञ्जना लिपिले लिपि नखः लेखेर कीरिंग निकालेको थियो । क्यालिजात्रा टिमका आनन्द महर्जनले डिजिटल प्रविधि प्रयोग गरेर निकालेको बाय्ज, स्टीकर, कप, ब्याग, टिसर्ट र पोष्टर किन्नेहरुको घुइँचो पनि देखियो । क्यालिजात्रा टिमका अर्का सदस्य मिस नेवाः सुनिता डंगोलले आफ्ना दिवंगत पिताको फोटोलाई रञ्जना लिपिले लेखिन् । आफ्ना पिताका दिव्य वचनलाई स्केचको लाईन बनाएर आफ्नो संवेदनशीलतालाई रञ्जना लिपि मार्फत व्यक्त गरिन् । साथै उनले एभेन्जर्स, क्याप्टेन अमेरिका सुपरहिरोज सिरिज रञ्जनामा कलात्मक तरीकाले उतारे ।

लिपि नखः दिपेश सिग्देलले गुथि विधेयक विरुद्ध मण्डलामा उर्लेको जनसागरमा रञ्जना लिपिले शक्तिशाली जनता लेखेर डिजिटाईज गरेर प्रस्तुत गरे भने मधेशका रतन कर्णले क्यालिजात्रामा रञ्जना लाइभ क्यालिग्राफी गरेर सबैको ध्यान आकर्षित गरे । अचम्मको कुरा कर्णले ट्युटोरियल र साथीहरुबाट लिपि सिकेका रहेछन् ।

लिपि नखःमा भाग लिनकालागि काठमाडौँ उपत्यका बाहिर पोखराबाट रजनी र विकास क्यालिजात्रामा सघाउन आएका रहेछन् ।
पछि बुझ्दै जाँदा युकेबाट संयुक्त श्रेष्ठ (पासा पुचः) र श्रमदिप पुर्काेटीले ब्राजिल र कोलम्बियामा गरिएको रञ्जना वाल आर्टको डिजिटल प्रिन्ट पठाएर लिपि नखःमा सहभागिता जनाएका थिए ।

यसको साथै दर्शक स्वय्मले नेपालको मौलिक लिपि लेखन कलाको अभ्यास कार्यमा संलग्न भै लिपि पर्वको मज्जा लिएका थिए । यसका अतिरिक्त गुथिका सदस्यहरुले दर्शकहरुको नाम रञ्जना लिपिबाट लेखाउन पाउँदा अत्यन्त हर्षित भएका थिए । कार्यक्रमको संचालन गुथिका अर्का उपाध्यक्ष महेशमान डंगोलले गरेका थिए ।

   


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.