Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

साढे दुई अर्ब लागतमा बन्दैछ स्विमिङपुल र हेलिप्याड सहितकाे मन्त्री निवास

User Photo बिहिबार, साउन २, २०७६
काठमाण्डाै ।

सरकारले मन्त्रीहरूका लागि जिम, स्विमिङपुलदेखि हेलिप्याडसम्म भएको सुविधासम्पन्न आवास बनाउँदै छ । संसद् भवन निर्माणका लागि छुट्याइएको ललितपुर महानगरपालिकाको भैँसेपाटीस्थित सैंबु आवास क्षेत्रमा साढे दुई अर्ब लागतमा ९६ रोपनी १० आना जग्गामा ३३ भवन बनाउन लागेको हो । यही आवास क्षेत्रभित्र राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखको पनि निवास रहनेछ । दुई वर्षभित्र निर्माण सक्ने तयारी छ ।

गत १७ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री, राष्ट्रिय सभाका अध्यक्षसहित मन्त्रीहरूका लागि आवास निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सहरी विकास तथा भवन विभागले मन्त्रीका लागि २४, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र उपसभामुखका लागि एक–एक भवन निर्माण गर्न लागेको छ । त्यस्तै, आवास क्षेत्रमा हेलिप्याड, हेल्थ क्लब, ग्रोसरी, कम्युनिटी हल, व्यवस्थापन कार्यालय, स्विमिङपुल र पार्किङ पनि हुनेछ ।

प्रत्येक भवन साढे दुई तलाका हुनेछन् । प्रत्येक निवासमा प्रवेशका लागि दुई प्रवेशद्वार बन्नेछन् । एउटा सार्वजनिक र अर्को निजी प्रयोजनका लागि प्रयोगमा आउने सहरी विकास तथा भवन विभागका विशेष भवन निर्माण संयोजक प्रक्रिर्ण तुलाधरले बताए । भवनहरू नेपाली परम्परागत शैलीमा बनाइनेछ ।

आवासका लागि छुट्याइएको कुल क्षेत्रफलमध्ये करिब १२ रोपनी भवनले मात्रै ओगट्नेछन् । ३८ रोपनी ८ आना ग्रिन एरियाका लागि छुट्याइएको छ । २१ रोपनी जमिन आवासभित्रको आन्तरिक सडकले ओगट्नेछ । ११ रोपनीमा हेल्थ क्लब बन्नेछ । कम्युनिटी हलका लागि सातआना छुट्याइएको छ । व्यवस्थापन कार्यालयका लागि तीनआना छुट्याइएको छ । त्यस्तै, साढे दुई रोपनीमा ग्रोसरी स्टोर बन्नेछ । बाँकी रहेको जग्गामा एक सय सवारीसाधन अटाउने पार्किङ बनाइनेछ ।

जिमहल, स्विमिङपुल र हेलिप्याडको सुविधा

आवासभित्र स्विमिङपुलदेखि हेलिप्याडसम्म निर्माण गरिनेछ । एउटा हेल्थ क्लब, कम्युनिटी हल, व्यवस्थापन कार्यालय, ग्रोसरी स्टोर, हेलिप्याड र स्विमिङपुल बनाइनेछ । आवास क्षेत्रभित्र तीन तहको सुरक्षा व्यवस्था हुनेछ । सुरक्षाका लागि थप तीन भवन बनाइनेछ ।

आवास दुई चरणमा निर्माण गरिनेछ । पहिलो चरणमा २७ वटा भवन, कम्पाउन्ड, सडक, ढल र भौतिक पूर्वाधार निर्माण गरिने तुलाधरले बताए । त्यस्तै, दोस्रो चरणमा हरियाली, सुरक्षा, कम्युनिटी हल, हेल्थ क्लब र स्विमिङपुल बनाइने उनले बताए । आवास क्षेत्रभित्रै कम्युनिटी हल, व्यवस्थापन कार्यालय, किराना पसल, पार्किङ, हेल्थ क्लब, हेलिप्याड र स्विमिङपुल सुविधा पनि हुनेछन ।

पुल्चोकमा विदेशी पाहुनाका लागि अतिथिगृह

सैंबुमा नयाँ आवास बनेर मन्त्रीहरूलाई सारेपछि हालको पुल्चोकस्थित मन्त्री आवास क्षेत्रमा उच्च तहका विदेशी प्रतिनिधिका लागि अतिथिगृह बनाइनेछ । अहिलेको संरचनालाई भत्काएर १० वटा सुविधासम्पन्न भवन बनाउने योजना विभागको छ । पुल्चोकमा हाल १९ मन्त्रीका निवास छन् ।

मन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र उपसभामुखको आवास निर्माणका लागि चालू आर्थिक वर्षभित्रै टेन्डर प्रक्रिया सक्ने हाम्रो तयारी छ । यसै वर्ष टेन्डर सकेर आगामी दुई वर्षभित्र आवास तयार गर्ने योजना छ । हालको आवास जीर्ण भएकाले नयाँ बनाउन लागिएको सहरी विकास मोहम्मद इस्तियाक राईले बताए ।

गत मंसिरमै मन्त्रिपरिषद् बैठकले मन्त्री आवास निर्माण गर्ने निर्णय गरेको हो । त्यही निर्णयअनुसार विभागले प्रक्रिया अगाडि बढाएको हो । अहिलेको मन्त्री आवासको अवस्था निकै जीर्ण छ । सबै मन्त्रीका लागि भवन अपूर्ण पनि छन् । त्यसैले नयाँ आवास बनाउने निर्णय भएको हो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.