काठमाडौँ । बिहीबार कास्की घर भएका एलेन गुरुङको परिवार त्रिभुवन विमानस्थलबाट अपहरणमा परे । भद्रपुरबाट काठमाडौँ आएका एलेनको ८ महिनाको छोरा र श्रीमतीलाई ४ जनाको समूहले अपहरण गरेका हुन् ।
सिन्धुपाल्चोकका दिनेश लामा, चन्द्रागिरी नगरपालिका सतुङ्गलका सुशील उप्रेती, नुवाकोटका मिलन राई र नागार्जुन नगरपालिका सितापाइलाका बिनेश पहरीले एलेनको परिवारलाई अपहरण गरेका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार एलेनको परिवारलाई उनीहरुले एयरपोर्टबाट बाहिर निस्कँदै गर्दा उनीहरुलाई ढुकेर बसेको समूहले अपहरण गरेको थियो ।
उनीहरुको परिवार सिक्किमबाट भद्रपुर हुँदै काठमाडौँ फर्किँदै थिए । उनीहरु बुद्ध एयरको जहाजबाट काठमाडौँ आएका थिए । एलेनको परिवार एयरपोर्टमा उत्रिने बित्तिकै अपहरणकारीले एउटा ट्याक्सी र एउटा प्राइभेट कारमा हालेर सिधै सोल्टीमोड पुर्याएका थिए ।
