कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा आज राहत शिक्षक समितिको नयाँ कार्यसमिति गठन गरिएको छ । बर्दगोरिया गाउँपालिकाका राहत शिक्षकहरुको आज वसन्त मुरारी मावि बौनियामा भएको भेलाले इन्द्रराज खतिवडाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो । समितिको उपाध्यक्षमा बिनु चौधरी, सचिवमा महेश डगौरा, कोषाध्यक्षमा लब्ली रावल र सहसचिवमा नेत्रराज जोशी रहेका छन । त्यसैगरी समितिको सदस्यमा श्रीराम थारु, देवबहादुर मल्ल राजेश कठरिया र बिरबहादुर चौधरी रहेका छन ।
नेपाल राहत शिक्षक समिति कैलालीका प्रतिनिधि नरबहादुर देउवाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल राहत शिक्षक समितिका केन्द्रिय सदस्य रंगप्रसाद तिमिल्सैना रहनु भएको थियो । कार्यक्रममा मन्तव्य राख्नुहुदै प्रमुख अतिथि तिमिल्सैनाले राहत शिक्षकको समस्या समाधानका लागि राज्य संबेदनसिल हुनुपर्ने बताउदै राहत शिक्षक संग भएका सम्झौता तत्काल कार्यन्वयन गरी बिगतमा शिक्षकहरुको पेसागत स्थायित्व गर्दा अपनाईएका नजिरहरुलाई आधार मानेर राहत शिक्षकको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल राहत शिक्षक समिति लम्कीचुहाका पुर्व अध्यक्ष सज्जन ढकाल, उपाध्यक्ष राकेश हमाल, प्रभुनाथ रिमाल लगायतकाको उपस्थिति रहेको थियो । भेलाले आगामी पौष ५ गते केन्द्रिय समितिको सर्कुलर अनुसार कैलाली जिल्लाको धनगढीमा हुन गइरहेको अन्तर्कृया तथा जिल्ला अधिवेशनलाई भब्यताका साथ सफल पार्ने समेत निर्णय गरेको नवनिर्वाचित अध्यक्ष इन्द्रराज खतिवडाले जानकारी दिनुभएको छ ।
