काठमाडौँ । भारतमा पुर्याएर एक युवतीको बलि दिन लागेको घटनामा युवती र प्रहरीको चलाखीले गम्भीर अपराध टरेको छ ।
बिहीबार महानगरीय प्रहरी परिसर टेकुमा पत्रकार सम्मेलन गर्दै प्रहरीले गम्भीर अपराध हुनबाट जोगिएको बताएको हो ।
बिहारको मन्दिरमा रहेका एक बाबाले एक ६ फिट उचाइकी युवतीलाई बिहारमै बलि दिनका लागि नेपाली व्यक्तिहरुलाई परिचालन गरेको र युवती ल्याउने व्यक्तिहरुलाई मोटो रकम दिने आश्वासन दिई केही रकमसमेत दिइसकेको प्रहरीले बताएको छ ।
बिहीबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न मुख्य योजनाकार दिलिप पोद्दारसहित ७ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको हो ।
प्रहरीले घटनामा संलग्न कावासोती नवलपरासीका २६ वर्षीय कृष्ण तामाङ, सप्तरी राजबिराजका ४० वर्षीय उमेश शाह, दाङ घोराहीका २४ वर्षीय दिलकुमारी बुढामगर, सप्तकोशी ११, सप्तरीका ३५ वर्षीय उमेश माझी, धादिङ झार्लाङका २३ वर्षीय प्रेमा तामाङ र गढी गाउँपालिका सुनसरीका ३७ वर्षीय रञ्जितकुमार चौधरीलाई सार्वजनिक गरेको छ ।
युवतीलाई मोडलिङ गर्नका लागि छानिएको र नेपाल भारत सीमामा डकुमेन्ट्रीको छायांकन गर्ने भन्दै त्यसबापत मोटो रकम दिने प्रलोभन दिइएको पाइएको थियो ।
