Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

कम्पनी रजिस्ट्रारको कार्यालय बिचौलियाको घेराबन्दीमा, कार्यालय व्यवस्थापन पनि उस्तै

वेशद्वारमै बिचौलियाको तानातानले सेवाग्राहीलाई अन्योल

User Photo शुक्रबार, पुस १८, २०७६
काठमाण्डाै ।

कम्पनी रजिस्ट्रारको कार्यालय बिचौलियाको घेराबन्दीमा देखिएको छ । नयाँ कम्पनी दर्ता तथा अद्यावधिक गर्ने एक मात्र निकाय हाे राजधानी त्रिपुरेश्वरको कम्पनी रजिस्ट्रारको कार्यालय।

सेवाग्राहीले सहज सेवा लिनसक्ने वातावरण नै नभएको सेवाग्राही बताउँछन् । वकिल अथवा बिचौलियाहरूको साथ नलिए काम हुनसक्ने अवस्था छैन । प्रवेशद्वारमै बिचौलियाको तानातानले सेवाग्राहीलाई अन्योल बनाएको छ । याे समाचार आजकाे गाेरखापत्रमा प्रकाशित छ ।

बिहीबार गोरखापत्रको स्थलगत अनुगमन टोली कार्यालयमा पुग्दा १० बजे नै सेवाग्राहीको चाप थियो तर बिचौलियाहरू भने ९ बजे नै कार्यालय अगाडि पुगिसकेका थिए । क्रमैैसँग कम्पनी दर्ताको काम हुने भए पनि त्यो व्यवस्थित थिएन । हरेक कोठामा सेवाग्राही कोचाकोच देखिए तर भीड व्यवस्थापनको कुनै गुञ्जायस देखिएन । कार्यालय अव्यवस्थित, पुराना फाइल छरपस्ट र फाइल खोजेको समयमा नभेटिने अवस्था उत्तिकै छ । कार्यालयको सरसफाइमा खासै चासो लिइएको छैन ।

अनलाइनबाट फाराम भर्ने व्यवस्था गरिए पनि प्रिन्ट कागजात अनिवार्य गरिएकाले सेवाग्राही कार्यालय आउनैपर्ने बाध्यता छ । कार्यालयले ढिलासुस्तीमा न्यूनीकरण गर्न सकेको छैन ।

कार्यालयका अनुसार हरेक १० वटा कम्पनीमध्ये सातवटा कम्पनी कुनै न कुनै जरिवानामा परेकै हुन्छन् । अधिकांशले जरिवाना तोकिएको समयभन्दा ढिला आएको र कागजात नमिलेको वा नयाँ व्यवस्थाअनुसार परिमार्जन गरेका छैनन् तर सेवाग्राही भने आफूहरूलाई थाहै नभएको बताउँदै जरिवाना तिर्न बाध्य हुन्छन् ।

कम्पनी दर्ताका लागि अनलाइनबाट फाराम भर्ने व्यवस्था गरिएको छ तर अनलाइनबाट फाराम दर्ता भए पनि आवश्यक कागजात लिएर कार्यालय आउनुपर्छ । कार्यालय आएर अनलाइन फाराम हेर्न खोज्दा इन्टरनेट डाउन भएर सेवाग्राही समस्यामा पर्ने गरेका छन् । बेलाबेलाको विद्युत् कटौती हुने समस्याले पनि हैरानी पारेको छ ।

कार्यालयका रजिस्ट्रार भुवनहरि अर्यालले कम्पनीको सेयरधनी दफा १० को ४ मा अधिकारनामा दिएर अन्य व्यक्तिलाई पठाउने व्यवस्था भएकाले कम्पनीका बारेमा जानकारी नभएका व्यक्तिहरू आउँदा बढी अलमल हुने गरेको बताउछन। आफूहरूको सेवा पूर्णरूपमा अनलाइनमा गइनसकेको उहाँको भनाइ छ । २०७० सालदेखिको मात्र अनलाइन गरिएको छ ।

रजिस्ट्रार अर्याल भन्नुहुन्छ, “कानुन आएको कुरा थाहा पाइन भनेर त भएन, मानिसहरूमा बेवास्ता बढी नै छ, गरौँला नि त भन्ने प्रचलनले जरिवानामा पार्छ, हामी पूर्णरूपमा अनलाइनमा गएपछि सहज हुनेछ । सेवाग्राहीको सहजताका लागि अङ्ग्रेजी ‘अल्फाबेटिक’ रूपमा हामीले स्थानहरू तोकेका छौँ, जहाँसम्म बिचौलियाको कुरा छ, उहाँहरू वकिलको कार्यालयबाटै फाइल लिएर आउनुहुन्छ, यहाँ आएको बेला अरूसँग पनि काम गर्न खोजेको होला तर हाम्रो सम्बन्ध हुदैन ।”

सीमित कर्मचारी भए पनि सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर आफूहरूले काम गरेको रजिस्ट्रार अर्यालको दाबी छ । कम्पनी शुल्कबापतको १० लाख रुपियाँसम्म उपत्यका बाहिरबाटै भुक्तानी गर्न सकिने व्यवस्था छ । प्रदेश १ को इटहरी र प्रदेश ५ को बुटवलमा कम्पनी रजिस्ट्रार कार्यालयको शाखा खोलिएको छ । जुन कार्यालयहरूबाट कम्पनी दर्ताका काम मात्रै सुरु भएको छ । सातै प्रदेशमा शाखा कार्यालय खोल्न लागिएको अर्यालले जानकारी लिनुभयो ।

कार्यालयले चालू आर्थिक वर्षको पुस १५ गतेसम्म ४० करोड १६ लाख रुपियाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले दैनिक एक सयको हाराहारीमा नयाँ कम्पनी दर्ता गर्दै आएको छ । आर्थिक वर्ष २०७५÷७६ मा २८ हजार नयाँ कम्पनी दर्ता भएका थिए । हालसम्म दुई लाख २८ हजार कम्पनी दर्ता भएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.