Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

विद्युतिय तारलाई भूमिगत बनाउने काम सुरु, प्रधानमन्त्री ओली द्वारा शुभारम्भ

पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तरगतका तार भुमिगत गरिने

User Photo सोमवार, फाल्गुन ५, २०७६
काठमाण्डाै ।

काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत बनाउने काम सुरु भएको छ । पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान महाराजगञ्ज क्षेत्रबाट विद्युतीय तारलाई भूमिगत बनाउने कामको शुभारम्भ गरेका छन् ।

महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोंगबु, समाखुशी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका स्थानहरुमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिने छ । २५० किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने छ ।

त्यस्तै रत्नपार्क, बागबजार, पुतलीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टे, त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, एयरपोर्ट, बानेश्वर, चाबहिल, बौद्ध, जोरपाटीलगायतका स्थानहरुमा पनि तार भूमिगत गरिने । ती क्षेत्रमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजका क्रमशः करिब २ सय र ४ सय किलोमिटर तार भूमिगत गरिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । साथै त्यहाँ करिब २ सय किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने छ ।

शहरको सौन्दर्यता बढ्ने विश्वास

दुई क्षेत्रको काम गर्नका लागि भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेडसँग सन् २०१९को मार्चमा ठेक्का सम्झौता भएको थियो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा सुरु गरिएको आयोजनाको काम सन् २०२१ को अक्टोबरभित्रमा सक्ने लक्ष्य राखिएको छ ।

हाल भइरहेको जमिनमाथिको (ओभरहेड) वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरुप बनाइरहेको तारको जालो हटी सौन्दर्यता कायम राख्न सहयोग पुग्ने प्राधिकरणको विश्वास छ ।

‘हावाहुरी, पानी, चट्याङ आदिको कारणले विद्युत् प्रणालीमा अवरोध नहुने हुँदा भूमिगत वितरण प्रणालीबाट प्रदान गरिने विद्युत् भरपर्दो, गुणस्तरीय र सुरक्षित हुँदा विद्युतीय दुर्घटनाबाट हुनसक्ने जनधनको क्षति न्यून हुनेछ,’ घिसिङले भने, ‘आगामी वर्षमा बढ्ने मागलाईसमेत दृष्टिगत गरी डिजाइन गरिएकाले वितरण प्रणालीको क्षमता अभिवृद्धि भई काठमाडौं उपत्यकाको विद्युत्को बढ्दो मागलाई व्यवस्थापन गर्न सहज हुनेछ ।’

क्षति भएको सडक १० दिनभित्र मर्मत

भूमिगत कार्य गर्दा सडकमा न्यूनतम क्षति हुने गरी ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधि प्रयोग गरिने छ । सडकमा सवारीसाधनको अवागमन र पैदलयात्रीलाई असर नपर्ने गरी राति काम गर्ने व्यवस्था गरिएको छ । सडक खन्दा निक्लिएको धुलोबाट आम नागरिकलाई असर पर्न नदिन न्यूनीकरणका उचित व्यवस्था गरिएको छ । तार भूमिगत गर्दा क्षति पुगेको सडकको मर्मत १० भित्र गरिसकिने छ ।

विद्युत्को तारसँगै अप्टिकल फाइबर पनि बिछ्याइने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरुले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् । यसबाट डिजिटल नेपालको अवधारणालाई सारकार पार्न मद्दत पुग्ने प्राधिकरणको भनाइ छ ।

दोस्रो चरणमा काठमाडौं जिल्लाको बाँकी स्थानहरुको वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित गर्न बोलपत्र आह्वान भइ मूल्यांकनको काम भइरहेको घिसिङले जानकारी दिए । यसबाट ११ हजार भोल्टेजको करिब २५० किलोमिटर र ४ सय भोल्टेजको करिब २४० किलोमिटर लाइनलाई भूमिगत गरिने छ । त्यहाँ करिब ४ सय किलोमिटर अप्टिकल फाइबर बिछ्याइने छ ।

ललितपुर र भक्तपुरमा पनि तारलाई भूमिगत गर्न खरिद प्रक्रिया अगािड बढाइएको छ । वितरण प्रणाली आधुनिकरण र सुदृढीकरणका यी आयोजनामा एडीबीले सहुलितपूर्ण ऋण उपलब्ध गराउने प्रतिबद्धता जनएको छ ।

काठमाडौं उपत्यका बाहिर कास्कीको पोखरा र चितवनको भरतपुर महानगपालिको मुख्य सडकहरुमा वितरण प्रणालीलाई भूमिगत गर्न अध्ययन अगाडि बढाइएको छ ।

चितवनको माडीमा बिजुली लैजान राष्ट्रिय निकुञ्ज क्षेत्रमा पनि बिजुलीको तार भूमिगत गरिएको छ । तर, यसमा बेला-बेला समस्या आउने गरेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.