प्रधानमन्त्री केपी शर्मा ओलीले दलीय आग्रहले लोकतान्त्रिक प्रणाली र प्रक्रियामा अवरोध सिर्जना हुन नहुने बताएका छन् । ७०औँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘लोकतन्त्र इतिहासप्रति गर्व गर्ने, वर्तमानमा उत्तरदायी हुने र भविष्यप्रति जिम्मेवार हुने सभ्य प्रणाली हो ।
देशलाई बदल्ने अठोटसाथ अघि बढ्दैगर्दा केही नकारात्मक प्रवृत्तिको अवरोध पनि सहनु परेको छ । तर, दलीय आग्रहले लोकतन्त्रिक प्रणाली र प्रक्रियामा अवरोध सिर्जना हुनु हुँदैन ।’
ओलीले मुलुकको आर्थिक विकासमा पनि बाधा उत्पन्न भएको आफ्नो वक्तव्यमा उल्लेख गरेका छन्। ‘समाजमा एउटा प्रवृत्तिगत चारित्रिक सहउत्पादन भइरहेको देखिन्छ,’ उनले भने,’विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्ताहरूलाई निरुत्साहित पार्ने, विकास प्रयासहरमा व्यवधान गर्ने । यस्ता प्रयासहरुलाई हामीले कामद्वारा नै पराजित गरिरहेका छौं।’
